कोरलानाकामा शौचालय निर्माण गर्दै लोमान्थाङ गाउँपालिका

चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उत्तरी कोरलानाकाको दजगजा क्षेत्रमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले अस्थायी शौचालय संरचना निर्माण थालेको छ । चालु अर्थिक वर्षको वार्षीक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले डिप बोरिङ खानेपानीसंगै शौचालय निर्माणकार्य सुरु गरेको हो ।

नेपाल—चीन कोरलानाकाको नेपालतर्फको २४ नं. सीमास्तम्भ नजिकको दशगजा क्षेत्रमा  शौचालय नहुँदा नाकाक्षेत्रमा त्रिपाल टाँगेर ब्यापार गरी बस्ने स्थानीय ब्यापारी ,पर्यटक र कन्टेनर चालकहरुलाई निकै ठुलो समस्या पर्दैआईरहेको छ । कोरलानाकाको खुल्ला सुख्खा पठार क्षेत्रमा जहाँ मनलाग्यो त्यही जथाभावी खुल्ला रुपमा दिशा पिसाब गर्ने परिपाटीले वातावरणीय प्रदुषण बढेको छ ।

कोरलानाकामा बस्ने स्थानीय ब्यापारी तथा पर्यटक लगायतको सहजताका लागि सीमावर्ती गाउँपालिकाले लोमान्थाङले तत्काल देखिएको समस्या समाधान गर्न ६ वटा अस्थायी शौचालय निर्माण गरिरहेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले ब्लग र जस्तापाता प्रयोग गरी शौचालय निर्माण गरेको यसले कोरलाका ब्यापारी तथा पर्यटकहरुलाई निकै ठुलो सहयोग पु¥याउने बताउँनुभयो ।

यसैगरी कोरलानाकाको नेपालतर्फ चिनले दुई वटा प्रिफाईप शौचालय सहयोग गरेको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । लोमान्थाङले निर्माण गर्दै गरेको ६ वटा र चीनले सहयोग गरेको २ वटा गरी ८ वटा शौचालय व्यवस्थापन गरिएपछि नाकामा शौचालय सुविधाबाट बञ्चित हुनु नपर्ने प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिनुभयो ।

कोरलानाकामा हिउँदयाम बाहेक दैनिक २०० भन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । पछिल्लो केहीवर्ष यता संघीय तथा प्रादेशिक  सरकारका उच्चपदस्थ मन्त्रीदेखि सचिव लगायतका व्यक्तिहरु कोरलानाका पुग्ने गरेका छन् । संघीय र प्रादेशिक सरकारको ध्यान नपुगेको कोरलानाका स्थानीय सरकारले त्यहाँको व्यवस्थापनमा अग्रसरता देखाएको पाईएको छ ।

यसैगरी कोरलानाकामा गण्डकी प्रदेश सरकारले नेपाल—चीन कोरलानाका स्थित हार्डबजार  तथा अन्य पूर्वाधार निर्माणका लागि ५० बजेट विनियोजन गरेको भएपनि जग्गाका एकिन हुन नसकेकाले कार्यान्वयनमा आउन नसकेको पूर्वाधार विकास कार्यालयका सवईन्जिनीयर जगदीश जोसीले जानकारी दिनुभयो । कोरलानाकामा करिव हजार रोपनी जग्गा भन्सार कार्यालयका नाममा रहेकाले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन नसकिएको उहाँको भनाई छ ।

 कोरलानाकामा विगत दुईवर्षदेखि सीमावर्ती गाउँपालिका लोमान्थाङ र लोघेकरका स्थानीयका करिव ८० भन्दा बेसीले त्रिपाल टाँगर ब्यापार व्यवसाय चलाएर बसेका छन् ।

प्रतिक्रिया