कोरलानाकामा बिटिएस संञ्चार उपकरण जडानपछि २४ सै घण्टा नेटवर्क

यहाँको नेपाल—चीन उत्तरी कोरलानाको दशगजा क्षेत्रमा माईक्रो वेव बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ ।

नेपाल—चीन उत्तरी कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले संञ्चारको पहुँच स्थावित गर्न माईक्रो वेव रेडियो लिंकको बिटिएस टावर जडान गरेको थियो । कोरलानाकामा त्रिपाल टाँगेर ब्यापार गरी बस्ने व्यवसायी र कोरलानाका अवलोकनका लागि जाने पर्यटकहरुको सहजताका लागि कोरलानाकामा सञ्चारको पहुँच स्थापित गरिएको थियो ।

कोरलानाकामा संञ्चारको पहुँच स्थापना गरिएको भएपनि माईक्रो वेव रेडियो लिंकका लागि उपकरण क्षमता कम हुँदा सञ्चारको सुविधा भरपर्दो बन्न सकेको थिएन । कोरलानाकामा नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरिसकेको भएपनि प्रशारण लाईन सञ्चालनमा आएको छैन । नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य उर्जाको सहायताबाट माईक्रो वेप बिटिएस टावर चलाईएको थियो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र टेलिकम जोमसोम कार्यालयको टोलीले उपकरण जडानकार्य सम्पन्न गरेको टेलिकम जोमसोम कार्यालयका प्रमुख हुमबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र ईन्टरनेट समस्यालाई समाधान गर्न सौर्य उर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न बेट्री र सोलार प्यानलको क्षमता दोब्बर बढीले बढाईएको छ ।

कोरलानाकामा खटिएका प्राविधिकसहितको टोलीले त्यहाँ रहेको माईक्रो वेव रेडियो लिंकको बिटिएस टावरलाई सहज रुपमा सञ्चालन गर्न तथा  टुजी र फोरजी बिटिएस टावरको बेट्री ब्याकअफ र सोलार प्यानलको संख्या बढाईएको प्रमुख भुजेलको भनाई छ । उहाँका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको ३ वटा बेट्री ब्याकअफ थप गरिएको हो ।

यसअघि कोरलानाकामा जडान गरिएको माईक्रो वेवको टावरको ब्याकअफ क्षमता कम हुँदा संञ्चारको सुविधा सहज बनेको थियो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार बिटिएस टावरको क्षमता बढाईपछि २४ सै घण्टा मोवाईल नेटवर्क र ईन्टरनेटको सुविधा राम्रो भएको बताउँनुभयो । 

कोरलानाका टुजी र फोरजीसहितको मोवाईल नेटवर्कमा सुधार गरिएसंगै कोरलानाकाका ब्यापारी तथा पर्यटकहरुलाई निकै ठुलो राहत पुगेको छ ।


प्रतिक्रिया