मुस्ताङ,१३,असार ।
मुस्ताङमा अन्तरक्लव स्तरीय प्रथम झारकोट ब्रदर्श हुट आर्चरी प्रतियोगिता २०८३ सुरु भएको छ । वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोटमा शनिबारदेखि आर्चरी प्रतियोगिता सुरु भएको हो ।
आर्चरी खेलको प्रवद्र्धन तथा विकास एवं मुस्ताङमा रहेका युवाहरुबीच खेलका माध्यमबाट आपसी भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय टसी गुरुङको पहलमा झारकोट ब्रदर्श हुट आर्चरी प्रतियोगिता आयोजना गरिएको हो ।
मुस्ताङ जिल्ला अन्तर्गत वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकाका कुल ८ टोलीको सहभागी रहने आर्चरी प्रगियोगिताको झारकोटका गाउँ मुखिया कर्म गुरुङले दीपप्रज्वलन गरी समुद्घाटन गर्नुभयो । प्रतियोगिता सफलताको कामना गर्दै वडाध्यक्ष प्रमेश गुरुङले हिमाली क्षेत्रको मौलिक संस्कृतिसंग जोडिएको तारा खेल र आर्चरी खेल लोप हुन नदिन स्थानीय युवाहरुको अग्रसता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगिता आयोजक टसी गुरुङले आर्चरी प्रतियोगिता मार्फत खेलकुद क्षेत्रको विकास र प्रवद्र्धन गर्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रतियोगिता आयोजना गरिएको बताउँनुभयो । यसप्रकारका मौलिक तथा सास्कृतिक खेलहरुको संरक्षण तथा प्रवद्र्धन गर्न सरोकारवाला निकायले पहलकदमी लिनुपर्ने गुरुङको भनाई छ ।
परम्परागत सांस्कृतिक खेलको रुपमा खेलिने विकशित आधुनिक खेलको रुपमा आर्चरी प्रतियोगितालाई लिने गरिएको छ । अन्तराष्ट्रिय रुपमा आयोजना हुने यसप्रकारको आर्चरी प्रतियोगितामा दक्ष खेलाडीहरु उत्पादन गर्न स्थानीय स्तरको मोफसलका प्रतियोगिताहरु निकै सार्थक हुने प्रतियोगिता आयोजक टसी गुरुङको भनाई छ ।
आईतबारसम्म हुने आर्चरी प्रतियोगिता १९ डोरमा आधारित रहेर १९० पूर्णाङकमा खेलाईने जनाईएको छ । प्रतियोगिताको च्याम्पियनले नगद ६० हजार पुरस्कारसहित शील्ड,मेडल र प्रमाणपत्र पाउँने छ । यसैगरी दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद ४० हजार र २० हजार पुरस्कारसहित शील्ड,मेडल र प्रमाणपत्र पाउँने छन् ।
प्रतियोगिताको सर्वोउत्कष्ट खेलाडी र सर्वाधिक अंक ल्याउने खेलाडीलाई जनही पाँच हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता