जोमसोम—मुस्ताङका किसान यतिखेर स्याउ बगैचा व्यवस्थापनकार्यमा व्यस्त छन् ।स्याउको उचित स्याहार संम्भार पुगेमात्रै स्याउ गुणस्तर तथा उत्पादन वृद्धि हुने भएकाले मुस्ताङका किसानले बर्सेनि हिउँदयाममा स्याउ बगैचा व्यवस्थापनकार्यमा जुट्ने गर्छन ।
मुस्ताङमा असोज र कार्तिक महिनामा स्याउको पोष्ट हार्भेस्ट गरेपछि बिक्रीका लागि बजारिकण गरिन्छ ।त्यसपछि राताम्मे स्याउ बगैचा फल टिपेपछि रित्तो हुन्छन् । स्याउ बगैचामा पोस्ट हार्भेस्ट गरेपछि स्याउ बगैचा क्रमशः उजाड र नांगो देखिन्छन् । स्याउ बगैचामा बोटको पात झरेर नांगो भएपछि स्याउ बगैचाको उचित व्यवस्थापनकार्य सुरु गर्ने गरिन्छ ।
स्याउको बगैचा व्यवस्थापनको उचित समय पुस र माघ महिना हो । चिसो याममा पात झरेर उजाड बनेका स्याउ बगैचाहरुको समुचित व्यवस्थापन गरेमात्रै गुणस्तरीय स्याउ उत्पादन हुन्छ ।यसैका खातिर मुस्ताङमा स्याउ बगैचाको व्यवस्थापन चिसो महिना पुस र माघमा गर्ने प्रचलन छ । चिसो याममा स्याउ बगैचा व्यवस्थापन नगरी ढिला गरेमा तापक्रम वृद्धि हुने र यसले स्याउको फूल र फल लाग्ने लाग्ने पालुवामा असर पुग्ने भएकाले गर्मीयाम सुरु हुनु अगावै स्याउको समुचित व्यवस्थापन सक्नुपर्ने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । निमित्त कार्यालय प्रमुख आत्रेयका अनुसार मुस्ताङका किसान हिउँदयाममा जाडो छल्न बेंसी झर्ने हतारोले गर्दा मंसिरको अन्तिम सातादेखि स्याउ बगैचा व्यवस्थापन सुरु गरिसकेको बताए । ‘ मुस्ताङका कृषि लक्षित कार्यालयहरुबाट पनि स्याउ बगैचाको तालिम तथा फिल्ड अभ्यास हुने गरेको छ,’निमित्त प्रमुख आत्रेयले भने,‘ हामीले पनि टेलिफोनबाट,फिल्डमै पुगेर र सामाजिक सञ्चाजलको माध्यमबाट स्याउ बगैचा व्यवस्थापन गर्ने विधि र प्रक्रियाहरु सिकाउने गरेका छौं ।’
मुस्ताङको आर्थिक समृद्धिको मुख्य आधार भनेकै यहाँका स्याउ खेती हो । स्याउ खेतीका माध्यमबाट मुस्ताङका किसानले बर्सेनि मनग्ये आम्दानी लिने गरेका छन् । स्याउबाट राम्रो आम्दानी प्राप्त गर्ने सकिने भएकाले मुस्ताङमा स्याउ खेतीतर्फको आकषर्ण बढ्दो छ । स्याउ बगैचा व्यवस्थापनकार्य अन्तर्गत स्याउको उचित स्याहार सुसार महत्वपूर्ण हुन्छ । स्याउ बगैचा व्यवस्थापनका लागि यतिखेर मुस्ताङका किसानले स्याउ बगैचामा बोटको अनाधिकृत हाँगाबिगाको काँटछाँट गर्ने,सिंचाईको पहुँच पु¥याउने, स्याउ बगैचा गोडमेल गर्ने, स्याउ बगैचामा पशुचौपायाहरुको मलको मात्र मिलाउने र स्याउमा लाग्ने विभिन्न प्रकोप नियन्त्रणका लागि बिषादीहरु छर्किने लगायतका कार्य हुन्छन् । स्याउ बगैचा भित्र अन्तरबाली स्वरुप उवा,आलु र फापर छरेर दोहोर आम्दानी गर्न समेत किसाले स्याउ बगैचालाई उचित व्यवस्थापन गर्नमा ध्यान दिने गरेको केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाई छ ।
स्याउ बगैचाभित्रको बोटमा अनाधिकृत हाँगाबिगाहरु यथास्थितीमा रहँदा सूर्यको प्रकाश स्याउ बोटको सबै हाँगाहरुमा सर्कुलर नहुने र यसले स्याउ बोटलाई प्राप्त हुने तत्व कमी हुँदा स्याउ धेरै फलेपनि गुणस्तरीय स्याउ उत्पादन नहुने केन्द्रका निमित्त प्रमुख आत्रेयले जनाए । स्याउ बोटको काँटछाँट गर्दा प्राविधिकको सल्लाह सुझावले लिएर गर्नुपर्ने हुन्छ । हुबहु स्याउको हाँगा काँटछाँट गर्दा स्याउ उत्पादनमा ह्रास आउने र बजारको माग अनुसार स्याउको फल समेत राम्रो नहुने निमित्त प्रमुख आत्रेयको भनाई छ ।
मुस्ताङका किसानले हिउँदयाममा अनुकुल समय मिलाएर स्याउ बगैचाको व्यवस्थापन गर्ने गर्छन । मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ बगैचा व्यवस्थापन गर्नेकार्य धमाधम चलिरहेको केन्द्रका निमित्त कार्यालय प्रमुख आत्रेयले बताए । हिउँदयामको चिसो मौसममा स्याउको काँटछाँट र बगैचा व्यवस्थापन हुने र यो समयमा हिउँ परेमा किसानका लागि थप फाईदा पुग्ने जोमसोमका स्याउ किसान अजित थकालीले जानकारी दिए । हिउँदयामको हिउँ किसानका लागि बरदान सावित हुने र यसले कृषकले उत्पादन गर्ने स्याउ लगायतका अन्नबालीलाई ठुलो फाईदा पुग्ने थकालीको भनाई छ । हिउँदयामको हिउँले सिंचाई र स्याउमा लाग्ने प्रकोप नियन्त्रणमा अर्गानिक विषादीको काम गर्ने उनले स्पष्ट पारे ।
किसानका लागि बरदान सावित हुने हिउँ अनुकुल समय हुँदा समेत हिउँ नपरेको किसान थकालीको भनाई छ । ‘कुनै वर्ष कार्तिकमै हिउँ पथ्र्यो, योवर्ष पुस लाग्दा समेत हिउँ परेको छैन,’ किसान थकालीले भने,‘ हिउँ परेन भने त यहाँको स्याउबालीलाई ठुलो नोक्सान पु¥याउँछ, यसैले पनि हामी जतिसक्दो छिटो हिउँ परोस भन्ने कामना गरिरहेका छौं ।’
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली जिल्लाहरुमा असमान प्रकारको हिमपात हुने गरेको छ । अघिल्लो वर्ष अनुकुल समयमा हिमपात नभएको र स्याउको परागसेचन (पोलिनेसन) हुने समयमा वर्षा हुँदा स्याउ उत्पादनमा ठुलो ह्रास आएको थियो । हिउँदको अनुकुल समयमा परेको हिउँले खेतीयाग्य जमिनको भित्री तहसम्म रिचार्ज गर्ने भएकाले खासै सिंचाईको आवश्यक पर्दैन । मुस्ताङमा जलवायु संकटका कारण अनकुल समयमा हिउँ नपर्ने,आशिंक हिमपात हुने र कुनै वर्ष भारी हिमपात हुने जस्ता प्राकृतिक घटनाहरु विद्यमान रहेको जोमसोमका किसान भुपिन शेरचनले जानकारी दिए । मुस्ताङमा चिसो अत्यधिक मात्रामा वृद्धि भईरहेको भएपनि अनुकुल समयमा हिउँ नपर्दा किसानहरु चिन्तित देखिएको कृषक शेरचनको भनाई छ ।
पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी—जोमसाम—कोरला) सडक सहज हुँदै जान थालेपछि मुस्ताङको स्याउले समुचित बजार व्यवस्थापनमा टेवा पुगेको छ । स्थानीय किसानले उत्पादन गरेको स्याउ स्थानीय र जिल्ला बाहिरका ब्यापारीले ठेक्कामा लिएर बिक्रीका लागि बजार पु¥याउने गर्छन । किसानको स्याउ बगैचाबाटै सहजै बिक्री हुने भएकाले स्याउ खेतीमा कृषकहरुध्यान बढ्न थालेको हो । मुस्ताङमा एउँटै किसान घरधुरीले वार्षिक ५ लाखदेखि करोडसम्मको स्याउ बिक्री गर्छन । स्याउ खे्तीतर्फ राम्रो आम्दानी भएकै कारण पछिल्लो समय मुस्ताङमा छिटो छरितो रुपमा उत्पादन दिने उच्चघनत्व प्रविधिको (हाईब्रिट) जातको स्याउ खेती विस्तार भईरहेको छ । लगाएको दोस्रो वर्षमै फल दिने भएकाले ईटालीबाट आयात गरिएको हाईब्रिट जातको स्याउ खेतीलाई यहाँका किसानले पछ्याउन थालेका हुन् ।
मुस्ताङमा स्थानीय जातका परम्परागत उन्नत जातको रेड डेलिसियस, रोयल डेलिसियस,गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ खेती गर्ने गरिएको छ । यस्तै स्याउ खेतीबाट छिटो छरितो आर्थिक लाभ लिन उद्देश्यले स्थानीय किसानले उच्चघनत्व प्रविधिमा आधारित गाला,फुजी,गोल्डेन, किङरोट ,रेड डेलिसियस र जोनाप्रिन्स जातका स्याउ खेती गरेको पाईएको छ ।
मुस्ताङको मुख्य आम्दानीको स्रोत स्याउ खेती भएकाले अहिलेसम्म १ हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाईएको छ । जसमध्ये ५ सय ८५ हेक्टर क्षेत्रफलमा लगाएको स्याउले उत्पादन दिने गरेको छ । मुस्ताङमा यसवर्ष ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये ६ हजार ८० मेट्रिक टन स्थानीय जातका र २ सय ५० मेट्रिक टन स्याउ उच्चघनत्वको स्याउ उत्पादन भएको थियो । मुस्ताङमा यसवर्ष ८३ करोडको स्याउ निकासी भएको थियो । ।
अघिल्लो आर्थिक वर्ष प्रतिकुल मौसमका कारण स्याउको फूल फूल्ने समय अर्थात पोलिनेशन हुने समयमा वर्षा हुँदा स्याउ उत्पादन कम भएको थियो । अघिल्लो वर्ष ४ हजार ९८५ मेट्रिक टन मात्रै स्याउ फलेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली