चार योजना उद्घाटन

मुस्ताङ, ३० ,असोज 

यहाँको घरपझोङ गाउँपालिकाले एकैसाथ चार वटा पूर्वाधार योजना सम्पन्न गरी उद्घाटन गरेको छ । ती सम्पन्न योजनाहरु बुधबार र बिहिबार गरी दुई दिन लगाएर उद्घाटन गरिएको हो ।

कालिगण्डकी नदीमा पुल नहुँदा सडक यातायात सञ्जालबाट बञ्चित छैरो चिमाङ गाउँका स्थानीय नागरिकहरुको सहजताका लागि र जोमसोम ठिनी हुँदै मार्फा जोड्ने रिङरोड सडकको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको मार्फा—छैरो पुलको गाउँपालिकाका जनप्रनिधि,कर्मचारी र स्थानीयबासीको उपस्थितीमा सो पालिकाका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गर्नुभयो ।

संघीय सरकार र गाउँपालिकाको साझेदारीमा २ करोड ९३ लाख लागतमा मार्फा—छैरो जोड्ने ४२ मिटरको बेलिब्रिज निर्माण गरिएको हो । सदरमुकाम जोमसोम र बेनी—जोमसोम सडक नजिकै भएर पनि पुल नहुँदा ओझेलमा परेको छैरो—चिमाङ गाउँका स्थानीय पुल बनेपछि खुसी भएका छन् । गाउसम्म पुग्ने कच्चि सडक विस्तार भएको भएपनि पुल नहुँदा सवारी साधन तथा ढुवानीका साधन लैजान नसक्ने अवस्था रहेकोमा पुल बनिसकेकाले गाउँ सम्म सवारी साधन मिल्ने सुविधा मिलेको चिमाङका स्थानीय सुकबहादुर बिकले बताउँनुभयो । पुल बनेकाले कृषि,पर्यटन र स्वास्थ्य लगायतका सेवा लिन सजिलो भएको उहाँको भनाई छ ।

यसैगरी गाउँपालिकाले भौगोलिक रुपले निकै विकट स्थानमा रहेको चिमाङ गाउँमा स्वास्थ्य सेवालाई भरपर्दो र प्रभावकारी बनाउँन आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । कुल ४४ लाख लागतमा निर्माण गरिएको चार कोठे आधारभूत स्वास्थ्य केन्द्र भवनको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गर्नुभयो । जनताको आधारभूत आवश्यकता मध्ये एक महत्वपूर्ण सेवा स्वास्थ्य भएकाले स्वास्थ्य क्षेत्रको सुधार र स्तरवृद्धिले मात्रै जनताका आकांक्षा पुरा गर्न सकिने अध्यक्ष लालचनले बताउँनुभयो । उहाँले वडा स्तरीय योजना व्यक्तिगत हित भन्दा जनमुखी र सबैको भलो हुने योजना छनौट हुने सकेमात्रै कार्यान्वयन प्रक्रियामा लैजान सजिलो हुने अध्यक्ष लालचनले जनाउँनुभयो । स्वास्थ्य केन्द्र भवनबाट चिमाङका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ ।


यसैगरी यहाँको घरपझोङ गाउँपालिका बेनी—जोमसोम सडक स्थित स्याङ खोलामा ३५ लाख लागतमा प्राकृतिक उपचारका लागि सावना स्टीम बाथ  र शौचालय निर्माण गरेको छ । यहाँका ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरुका लागि प्राकृतिक उपचार सेवा पु¥याउन सावना र स्टीम बाथ सेवा संञ्चालनमा ल्याईएको हो । गाउँपालिका अध्यक्ष लालचनले बिहिबार उक्त पूर्वाधार समेत उद्घाटन गर्नुभएको हो । उपलब्ध सेवाबाट लक्षित बर्गका अलावा पर्यटकहरुका लागि पनि सशुल्क सेवा उपलब्ध गराउँने गरी गाउँपालिकाले उक्त पूर्वाधार तयार गरेको जनाएको छ ।

यसैगरी यहाँको घरपझोङ—३ पुथाङ एयरपोर्ट बजारमा अत्याधुनिक सार्वजनिक शौचालय पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयका संयुक्त लागत साझेदारीमा व्यस्त बजार पुथाङ एयरपोर्टमा शार्वजनिक शौचालय भवन निर्माण गरिएको हो । भवनको माथिल्लो तलामा आवास कक्ष र भईतलामा अलग अल महिला र पुरुषको सुविधाका लागि शौचालय सेवा उपलब्ध गराईएको हो । उक्त शौचालय भवनको पनि बिहिबार गाउँपालिका अध्यक्ष लालचनले उद्घाटन गर्नुभयो । मुस्ताङ आएका पर्यटकलाई शौचालयको आवश्यकता परेमा सशुल्क प्रयोग गर्न मिल्ने गरी ठेक्का समेत लगाईएको छ ।


प्रतिक्रिया