मुक्तिनाथ विकास समितिको कोषमा बर्सेनि वृद्धि,खर्च शून्य, कोषमा ९ करोड ११ लाख



जोमसोम—बर्सेनि ५ लाख बढी भक्तजनले दर्शन गर्ने मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथको कोषमा ९ करोड ११ लाख मौज्याद रहेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको सर्वदलिय तथा सर्वपक्षिय छलफलमा मुक्तिनाथ विकास समितिका सदस्य समेत रहेका मुस्ताङका प्रजिअ बिष्णुप्रसाद भुसालले यस्तो जानकारी दिएका हुन् ।

 पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा समितिको ५ वटा चन्दा बाकस राखिएको छ । मुक्तिनाथको दर्शन गर्न जाने भक्तजनले रु. सय भन्दा कम चन्दा दिने चाहे चन्दा बाकसमा खसाल्छन् । रु. सय भन्दा बढी चन्दा दान दिनेको समितिले खटाएको कर्मचारीले  रसिद काटेर चन्दा भेटी संकलन गर्छन । यसैगरी मुक्तिनाथमा मुक्तिनाथ विकास समितिलाई डिजिटर भुक्तानी गरी चन्दा दिन चाहेमा प्रभु बैंकको क्यूआर कार्डको समेत व्यवस्था गरिएको छ । यी तिनै वटै माध्यमबाट संकलन भएको चन्दा रकम मुक्तिनाथ विकास समितिको खातामा जम्मा हुन्छ ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित बैठकमा समितिका अध्यक्ष एवं प्रजिअ भुसालले गत आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्ममा मुक्तिनाथ विकास समितिको खातामा उक्त रकम मौज्याद रहेको बताए । उनका अनुसार समितिले नेपाल बैंक,कृषि विकास बैंक,माछापुच्छ«े बैंक,साग्रिला बैंक र प्रभु बैंक गरी ५ वटा वित्तिय संस्थाहरुमा मुक्तिनाथको आम्दानी मौज्याद रहेको छ ।

 मुक्तिनाथ विकास समितको नाममा रहेको भेटी बाकस बर्सेनि २ पटक गणना गर्ने गरिएको छ । जसअनुसार बर्सेनि जेठ महिना र मंसिर महिनाका मुक्तिनाथ विकास समिति,सुरक्षा निकाय,पुजारी,आनी झुमा ,वडा जनप्रतिनिधि, सुरक्षा निकाय लगायतको रोहबरमा भक्तजनले बाकसमा खसालिएको चन्दा भेटी गणना गर्ने गरिएको छ ।

 सोही प्रावधान अनुसार मंगलबार मुक्तिनाथको चन्दा बाकसमा रहेको भेटी रकम गणना गरिएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । सदस्य सचिव अर्यालका अनुसार जेठदेखि मंसिरसम्म ६ महिनाको अवधिमा ५ वटा चन्दा भेटी बाकस गणना गर्दा  २२ लाख ४२ हजार ८२२ रुपैया संकलन भएको  हो ।

जसमध्ये नेपाली भेटी चन्दा रकम ९ लाख २१ हजार ८३० र भारतीय रुपैया ८ लाख २५ हजार ६२० संकलन भएको हो । भारतीय रुपैया सटही गर्दा नेपाली रुपैया १३ लाख २० हजार ९९२ हुन्छ । यस्तै, नेपाली र भारतीय रुपैया बाहेक अमेरिक ५७४,मेलेसियन ५५, क्योनेडियन २० र ईङल्याण्ड रुपैया ३० जम्मा भएको सदस्य सचिव अर्यालले जनाए । 

मुक्तिनाथ विकास समितिले मन्दिर व्यवस्थापन तथा सरसफाईका लागि ५ जना कर्मचारीलाई जिम्मा दिएको छ । समितिले एक जना पुजारी र एक जना रसिद काटेर चन्दा संकलन गर्ने कर्मचारीसहित ३ जना सरसफाईकर्मी खटाएको छ । खटाइएका कर्मचारीलाई तलब भत्ता स्वरुप समितिले करिव बार्षिक ७० लाख बढी रुपैया खर्च गर्छ । मुक्तिनाथ विकास समिति निस्क्रिय रहँदा भक्तजनले दान गरेको समितिको खातामा रहेको रकम  मुक्तिनाथ मन्दिरको बृहत्तर विकासमा खर्च हुन सकेको छैन ।

मुक्तिनाथमा रसिद,क्युआरकोर्ड र चन्दा बाँकसमा उठेको रकम बार्षिक कति संकलन हुन्छ भन्ने तथ्यांक निकाल्न समेत प्राविधिक समस्या देखिएको छ । स्थानीय स्तरमा मुक्तिनाथ विकास समिति निस्क्रिय रहेको र मुक्तिनाथको विकास समितिले मुक्तिनाथको विकासमा कुनै योगदान दिन नसकेको भन्दै समितिको चर्को आलोचना समेत हुन गरेको छ ।



प्रतिक्रिया