मार्फा—जोमसोम सडकमा ठेकेदारको चरम ढिलासुस्ती (दैनिक जरिवाना ३ लाख)



जोमसोम—उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम) ७४ किमी सडक अन्तर्गत चौथो खण्डको मुस्ताङको घरपझोङ—२ मार्फादेखि घरपझोङ—४ जोमसोम अस्पतालसम्मको करिव साँढे ४ किमी सडक कालोपत्रे नहुँदा सवारी साधन ,पर्यटक तथा स्थानीय नागरिकले सास्ती व्यवहोर्न बाध्य परेका छन् । सडक निर्माणकार्यको ८५ प्रतिशत भौतिक प्रगती हुँदै गर्दा सडक निर्माणको बाँकी काम ठप्प भएकाले मार्फा—जोमसोम सडकमा हावाहुरी र सवारीसाधनको आउजाउले सडक धुलाम्मे भएको हो ।

 कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले (बेनी—जोमसोम) ७४ किमी चौथो खण्ड कोवाङ—जोमसोम १७ किमी अस्फाल्ड कालोपत्रे सडकको २०७३÷०७४ सालमा निर्माण कम्पनी पप्पु—गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कन्ट्रक्सनसंग ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।तर, ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताका कारण (कोवाङ—जोमसोम) १७ किमी अस्फाल्ट कालोपत्रे सडक स्तरोन्नति सम्पन्न हुन नसकेको हो । गौरवको आयोजनामा परेको( कोवाङ—जोमसोम) १७ किमी सडक मध्ये १२ किमी सडकमा कालोपत्रे तथा आरसीसी सडक भएको छ ।

तर, निर्माण कम्पनीले (मार्फा—जोमसोम सडक स्तरोन्नतिसंगै कालोपत्रे सडकको काम नगर्दा म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनको चापले गर्दा सडक पुरै धुलाम्मे अवस्था सृजना भएको हो । मुस्ताङमा सडक निर्माणका लागि हिउँदयाम बाहेक अन्य समयमा सडक स्तरोन्नतिमा कुनै समस्या छैन । तर, निर्माण कम्पनीले मौसम अनुकुल भएको अवस्थामा समेत मार्फा—जोमसाम सडक स्तरोन्नतिलाई तीब्रता दिन नसक्दा जोमसोम सदरमुकामसंगै  जोमसोम—मार्फासम्मको दुरीमा पैदलयात्रा गर्ने,मोटरसाईकलमा यात्रा गर्ने र सडकमार्गमा घर भएका स्थानीय नागरिकहरुलाई धुलाम्मे सडकले निकै सास्ती तुल्याएको छ ।

  कोवाङ—जोमसोम १७ किमी सडक अन्तर्गत जोमसोमको मुस्ताङ अस्पतालदेखि नेपाली आर्मीको ब्यारेक अगाडीको सडकमा सडक स्तरोन्नति अलपत्र हुँदा झनै समस्या निम्त्याएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।‘घाँसादेखि मार्फासम्म कालोपत्रे भएको छ, जोमसोमको पक्की पुलदेखि मुक्तिनाथसम्मै सडक कालोपत्रे भईसक्यो ,अध्यक्ष लालचनले भने,‘ मार्फा—जोमसोम सडकमा कालोपत्रे र स्टक्चर निर्माणका काम पुरै ठप्पै छ, यहाँ पनि कालोपत्रे भईदिएको भए निकै राम्रो हुने थियो ।’ अध्यक्ष लालचनले मार्फा—जोमसोम सडक कालोपत्रको काम रोकिएर सडक धुलाम्मे हुँदा पर्यटक तथा स्थानीय नागरिकको जनगुनासो खेप्नु परेको बताए ।

विकास निर्माणको काममा कसैले पनि अन्योलमा राख्न नहुने बताए । मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा स्थानीय नागरिकले जोमसोम मार्फा कटेपछि नाकमुख थुनेर यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

आयोजना अन्तर्गत( कोवाङ—जोमसोम)सडकको निर्माण कम्पनीले बिभिन्न बहानामा हालसम्म ६ पटकसम्म म्याद थप गरिसकेको छ । पछिल्लो पटक थप भएको म्याद पनि असोज २२ गते सकिएको छ । सुरुवाती जोईनको कोशी एण्ड न्यौपानेले सडक निर्माणको जिम्मा लिएको भएपनि सडक निर्माणको काममा निकै बिलम्व भएपछि जोईनको अर्को पार्टनर जोईनको मुख्य कम्पनी गौरी पार्वतीलाई आयोजनाले काममा फर्काएको थियो । गौरी पार्वतीले सडक निर्माणमा केही काम अघि बढाएको भएपनि खासै कामले गति लिन नसकेको हो । आयोजना प्रमुख धुव्र झाले (कोवाङ—जोमसोम) सडक निर्माण कम्पनीलाई असोज २२ गतेदेखि कुल ठेक्का सम्झौताको (०.०५) प्रतिशत दैनिक जरिवाना हर्जाना तोकिएको जानकारी दिए । उनका अनुसार जरिवाना ताकिएको मितिले २ सय दिन अर्थात ६ महिनासम्म काम सम्पन्न नगरेमा ठेक्का सम्झौता तोड्ने र कालोसुचिमा राख्ने प्रक्रिया अघि बढाईने बताए । उनले (कोवाङ—जोमसोम)सडक निर्माण कम्पनीलाई दैनिक ३ लाख ११ हजार जरिवाना भईरहेको र बैशाखा १० गतेसम्म सम्पन्न नभएमा ठेक्का सम्झौता रद्द गर्ने गरी चेतावनी दिईएको जनाए ।

‘हामीले पटक÷पटक फोन मार्फत काममा फर्किन भनिरहेका छौं, उपकरण र जनशक्ति पनि कार्यस्थलमै छन्, आयोजना प्रमुख झाले भने,‘ आउँछु आउछु भनेर भनिरहेको छ , तर ,हाम्रो ताकेतालाई निर्माण कम्पनीले पुरै वेवास्ता गरिरहेको छ ।’ आयोजनाले जरिवाना रकम तोकेको ५ साता बितिसक्दा समेत निर्माण कम्पनीले आएर काम नगरेको आयोजना प्रमुख झाको भनाई छ । ‘बैशाख १० गतेसम्म पर्ख र हेरको अवस्थामा रहने त्यसपछि आवश्यक कारवाहीका लागि एक्सनमा जान्छौं ,’ आयोजना प्रमुख झाले भने ।’

 कोवाङ—जोमसोम १७ किमी सडक मध्ये बाँकी रहेको साँढे ४ किमी दुरीमा कालोपत्रेका लागि बेस र सवबेशको काम सुरु नगर्दा कालोपत्रेको काम अन्योल बनेको हो ।

 राष्ट्रिय गौरवको उत्तरी कोरलानाका जोड्ने २०२ किमी सडकमा कुल ३७ वटा योजना परेका छन् । जसमध्ये पुलपुलेसातर्फ २१ वटा, कालोपत्रे सडक ८ वटा, ग्रोभल सडक ७ वटा र १ वटा कन्ट्रक्सन एट फनिसिङ अफ मार्फा लगायतका योजना कार्यान्वयनमा छन् । जसमध्ये कतिपय योजनाहरु आयोजनालाई हस्तान्तरण भईसकेको छ । हालसम्म ३७ योजनाका लागि १० अर्ब रकम विनियोजन भएकोमा ७ अर्ब बजेट खर्च भईसकेको आयोजनाले बताएको छ । जोमसोम—कोरला ११० किमी ग्राभेल सडक मध्ये उपल्लो मुस्ताङको चराङ—छोसेर २५ किमी सडक अन्तिम चरणमा रहँदा अलपत्र बनेको छ ।

 



प्रतिक्रिया