हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथमा भगवान विष्णुको विशाल मूर्ति राखिने परियोजना अघि बढेको छ ।यसअघि सोही स्थानमा पर्यटन व्यवसायी सोनाम घलेले स्थापना गरेको ३५ फिट अग्लो बुद्धको मूर्ति नजिकै रहेको स्थानमा भगवान विष्णुको ३५ फिट अग्लो मूर्ति स्थापना गर्ने तयारी गरिएको हो ।
यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कार्तिक १८ गते मुक्तिनाथमा पुगेर त्यहाँ स्थापना गरिएको बुद्धको मूर्ति अनावरणका साथै विष्णु भगवानको मूर्ति स्थापनाका लागि शिलन्यास गर्नुभएको थियो । त्यसबेला शेष घले र सोनाम लामाले मुक्तिनाथमा विष्णुको विशाल मूर्ति राख्ने घोषणा गरेका थिए । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तिर्थस्थल मुक्तिनाथको धार्मिक तथा सांस्कृतिक महत्व अभिवृद्धि गर्न र त्यसक्षेत्रको पर्यटकीय महत्व बढाउने उद्देश्यले बुद्धको मूर्ति स्थापनासंगै विष्णुको विशाल मूर्ति राख्ने प्रतिवद्धता गरिएको थियो ।
मुक्तिनाथ गुरुयोजना अन्तर्गत शेष घले र सोनाम लामाले यो परियोजना अघि बढाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष एवं मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो । यहाँको मुक्तिनाथ क्षेत्रको धार्मिक पर्यटनको महत्व झल्काउन र हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको सहअस्तित्व निर्माण गर्न बुद्धको मूर्ति भएको स्थान नजिकै अर्को ३५ फिट अग्लो विशाल विष्णुको मूर्ति राख्ने समितिलाई जानकारी प्राप्त भएको समितिका उपाध्यक्ष गुरुङले बताउँनुभयो ।‘
वि.स. २०७९ सालमा यहाँको मुक्तिनाथमा विष्णुको मूर्ति राख्ने घोषणा गरिएको थियो,‘समिति उपाध्यक्ष गुरुङले भने, अहिले घोषणा गरेको तीन वर्ष पुग्दा मूर्ति निर्माणको आधा काम सकिएको भन्ने जानकारी दिईएको छ , सायद यहाँ अर्को वर्ष विष्णुको मूर्ति राख्ने काम हुनेछ ।’
यसअघि मुक्तिनाथमा सोनाम लामाले आफ्नै लगानीमा ६ करोड बजेट खर्चिएर बुद्धको विशाल मूर्ति स्थापना गर्नुभएको थियो । विष्णु मूर्ति स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माणसहित ९ करोड लागत अनुमान गरिएकोमा शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैया लागत साझेदारी गरेको सोनाम लामाले जानकारी दिनुभयो । मूर्ति निर्माणको काम अरनिको स्टोन कार्भिङ कम्पनीलाई जिम्मा दिईएको लामाले उल्लेख गर्नुभयो ।
यहाँ स्थापना गरिन लागिएको विशाल भगवान विष्णुको मूर्ति सम्भवत नेपालकै ठुलो र अग्लोको मूर्ति हुँने दावी समेत गरिएको छ । मूर्तिनाथमा वर्षेनि लाखौ भक्तजनहरु दर्शन गर्न आउने थलो भएकाले यहाँ स्थापना गरिने मुर्तिले धार्मिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्न योगदान पु¥याउने विश्वाश गरिएको छ ।
समुन्द्री सतहको ३८ मिटरको अग्लो उचाईमा अवस्थित मुक्तिनाथमा आउने धार्मिक तिर्थ यात्रीहरुका लागि धार्मिक तथा पर्यटकीय स्थानको रुपमा समेत स्थापित हुने बताइएको छ । सम्भवत कुुनै प्राविधिक कारणले नरोकिएको वि.स. २०८३ सम्ममा विष्णुको मूर्ति स्थापना गरी अनावरणकार्य गरिने लक्ष्य रहेको पर्यटन व्यवसायी लामाको भनाई छ ।
मुक्तिनाथ मन्दिर र ज्वालामाई रहेको स्थानको बिचमा रहने बुद्ध र विष्णु भगवानको मूर्ति स्थापनाले धार्मिक पर्यटकहरुलाई दर्शन तथा फोटो र भिडियो खिचेर आनन्द लिने सकिने छ । सो स्थानबाट निलगिरी हिमाल र धौलागिरी हिमालसहित रानीपौवा बजार र आसपासका हिमऋखंला निकै मनमोहन देखिन्छ । हाल बुद्ध मूर्ति रहेको स्थानमा पार्क तथा विश्राम स्थल समेत बनिसकेकाले मुक्तिनाथ पुगेका धार्मिक पर्यटकहरुलाई सो क्षेत्रको अवलोकन गर्न निकै सहज भएको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली