छानविन टोली मुस्ताङमा, विद्युतीय सवारीको अनुगमन ,भोली कोरला जाँदै

भन्सार कर छली तथा अन्य विविध आशंकाको घेरामा परेको बीवाईडीको कम्पनीको चाईनिज बिद्युतीय सवारी अनुमगनका लागि एक छानविन टोली शुक्रबार दिउँसो मुस्ताङ आईपुगेको छ । छानविन टोलीको संयोजक रहेका भन्सार विभागका निर्देशक एवं उपसचिव भुपाल शाक्यसहितको टोली शुक्रबार बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आईपुगेको हो ।

 कोरलानाकाबाट पैठारी गरिएका चिनियाँ बिद्युतीय सवारीको अनुसन्धानका लागि तीन सदस्यीय छानविन टोली मुस्ताङ आएका हुन् । टोलीसंगै थप दुई जना सुरक्षाकर्मी गरी पाँच जनाको टोली मुस्ताङ आईपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो । छानविन टोली मुस्ताङ आउनु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका बिद्युतीय सवारी साधनको अनुमगन तथा अनुसन्धान गरेको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । चीनबाट पैठारी गरी नेपाल भित्रिएका बिद्युतीय सवारी साधन आयातमा कैफियत रहेनरहेको भन्ने बिषयमा छानविन टोलीले अनुसन्धान सुरु गरेको भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो ।

 भन्सार विभागका निर्देशक एवं छानविन समितिका संयोजक उपसचिव शाक्य लगायतको टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा बिद्युतीय सवारीको अनुगमन गरेको छ ।   कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा बिद्युतीय सवारी साधनको समेत आजै  टोलीले स्थलगत अनुगमन गरेका भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको छानविन टोलीले अनुसन्धान गरेको भन्सार प्रमुख चुडालले बताउँनुभयो ।

 बिद्युतीय सवारी साधनको स्थलगत छानविन तथा अनुसन्धानका लागि आएको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर यहाँको वस्तुस्थितीको बारेमा जानकारी लिएको छ ।

 कोरलानाकाबाट भन्सार छलीका आशंका गरी नेपाल भित्र्याईएको आशंकामा सरकारले छानविन समिति गठन गरेको थियो । सोही टोलीले कास्की,पर्वत र मुस्ताङको जोमसोममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बिद्युतीय सवारी साधनहरुको अनुगमन गरेको हो ।  छानविन टोली कोरलानाकामा राखिएका ३९४ वटा बिद्युतीय सवारीको अनुगमनका लागि भोली शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख चुडालले उल्लेख गर्नुभयो । लामो यात्रा र पर्वतीय उच्च उचाईको क्षेत्रमा हाईअल्टिच्युडको जोखिम हुने भएकाले छानविन टोली जोमसोममा रोकिएको प्रमुख चुडालले जानकारी दिनुभयो । छानविन टोलीले भन्सार प्रज्ञापन पत्र र नियन्त्रणमा लिएका बिद्युतीय सवारी साधनहरुको विवरण संकलन सुरु गरेको हो ।

 गत ३१ भदौ देखि पूर्ण रुपमा संञ्चालनमा आएको नेपाल—चीन उत्तरी कोरलानाकाबाट पछिल्लो समय गत जेठको दोस्रो साता बीवाईडी कम्पनीका ८२५ वटा बिद्युतीय सवारी साधन नेपाल भित्रिएको थियो । यहाँ स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका अनुसार नेपाल भित्रिएका ७७५ वटा बिद्युतीय सवारी मध्ये ३९४ वटा कोरलानाकामा र  २६६ वटा  बिद्युती सवारी जोमसोममा नियन्त्रणमा लिएको हो । कोरलानाकाबाट भित्रिएका बिद्युतीय सवारी साधन मध्ये ६४९ वटाको भन्सार जाँचपास भईसकेको छ । 


प्रतिक्रिया