मुस्ताङका घुम्ती स्कुलहरुको स्थानीय जनप्रतिनिधिहरुले गरे अनुगमन


पोखरा— उपल्लो मुस्ताङबाट चिसो छल्न बेसी झरेका सामुदायिक विद्यालयहरुको स्थानीय तहका जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् । बिहिबार लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले अनुगमन गरे । उनीहरुले विद्यार्थीको सिकाई उपलब्धी र व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

यसैगरी शुक्रबार लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र उपाध्यक्ष छिमी बिष्टले बेसी झरेका घुम्ती विद्यालयहरुको अनुगमन गरेका छन् । जनप्रतिनिधिहरुले घुम्ती कक्षाको व्यवस्थापनमा कुनै कमी हुन नहुने र शैक्षिक तथा अतिरिक्त कियाकलापमा जोड दिनु पर्ने सुझाएका थिए ।


समून्द्री सतहको ४ हजार मिटर अग्लो उचाईमा स्थानमा अवस्थित हिमाली जिल्ला मुस्ताङका डेढ दर्जन सामुदायिक,संस्थागत र गुम्बा विद्यालयहरु यतिखेर बेसींको घुम्ती कक्षा संञ्चालनमा व्यस्त छन् ।  चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको लोमान्थाङ  र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालयहरु  हिउँदयामको संम्भावित हिमपात र जाडो छल्न गण्डकी प्रदेशको राजधानी पोखरा लगायतका स्थानमा झरेका हुन् ।

मुस्ताङका ५ स्थानीय तहका कुल ३४ सामुदायिक विद्यालयहरु मध्ये उपल्लो मुस्ताङको लोमान्थाङ  र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका सामुदायिक,संस्थागत र गुम्बा विद्यालयहरु चालु शैक्षिक सत्रको मंसिर अगावै जाडो छल्न पारिलो स्थानमा स्थान्तरण गरिएको हो । यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल प्रस्तावित मावि, मुक्तिनमूना र लुप्रा आधारभुत विद्यालय पनि जाडो छल्न पोखरा झरेको बताईएको छ ।तर, लोघेकर दामोदरकुण्ड —२ घमीको घमी आधारभुत र वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको जनशान्ति माविले विद्यालर्थीहरुलाई पुस र माघ गरी  दुई महिना हिउँदे बिदा दिएको छ । तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका पुरै विद्यालयहरुलाई स्थानीय तहको निर्णय अनुसार हिउँदे बिदा दिएर विद्यालयको शैक्षिक पठन—पाठन बन्द गरिएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट दिव्यदीप मावि छोसेर, छोन्हुप जिन्जु आधारभुत र राष्ट्रिय आधारभुत विद्यालय लोमान्थाङ मंसिंर अगावै घुम्ती कक्षाका लागि पोखरा झारिएको हो । उनीहरुलाई हिमाली छात्रावास सुविधा प्राप्त नगर्ने विद्यार्थीहरुलाई प्रति विद्यार्थी दैनिक १२० रुपैया गाउँपालिकाले दिने गरी घुम्ती कक्षा व्यवस्थापन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम बर्खायाममा साविक र हिउँदयाममा बेसीमा राखेर पठन÷पाठन संञ्चालन गरिएको विद्यालय प्रधानाध्यापक वाङ्दी गुरुङले जानकारी दिए ।

हिउँदयाममा मौसम प्रतिकुलताका कारण यथास्थानमा राखेर विद्यार्थीलाई पढाउन नसकिने र साविकको स्थानमा पढाई संञ्चालन गर्दा विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या हुने भएकाले बेसीमा घुम्ती कक्षा संञ्चालन गर्नु परेको प्रअ गुरुङको भनाई छ ।


पोखरा महानगर पालिका—२५ हेमजा सुईखेतमा सो विद्यालयको आफ्नै निजी जग्गामा दुई तले पक्की भवन छ । हिउँदे कक्षा संञ्चालन गर्न स्थानीय शिक्षाप्रेमीहरुको आर्थिक सहयोगमा ३ रोपनी जग्गा खरिद गरेको विद्यालयले एक विदेशी संस्थाको सहयोगमा भवन समेत बनाएको विद्यालयका प्रअ वाङ्दी गुरुङले उल्लेख गरे । बेसीमा विद्यालयको भवन भएकाले घुम्ती कक्षा संञ्चालन गर्न सहज भएको उनको भनाई छ । सो विद्यालयमा अहिले २३ जना विद्यार्थी र ६ जना शिक्षक ÷कर्मचारी कार्यरत छन् ।

यसैगरी लोमान्थाङ गाउँपालिकामा अवस्थित मञ्जुश्री गुम्बा विद्यालय,निफुक नाम्डोक गुम्बा विद्यालय, पाल नाम्ग्याल गुम्बा विद्यालय र महाकरुणा शाक्यापा गुम्बा विद्यालयले विगत वर्षझै यसवर्षपनि घुम्ती कक्षा संञ्चालन गर्न मंसिरको पहिलो सातामा बेसी झरेको हो । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको ८ सामुदायिक विद्यालय मध्ये ७ वटा विद्यालयले यसवर्ष घुम्ती कक्षाका लागि बेसीमा शैक्षिक पठन÷पाठन संञ्चालन गरिरहेका छन् ।

 लोघेकर दामोदरकुण्ड—३ घिलिङको जनज्योति आधारभुत विद्यालयले तनहुको ढोरफेंदीमा कक्षा संञ्चालन गरेको छ । गतवर्ष घुम्तीमा नझरेको सो विद्यालयले यसवर्ष मंसिर ६ गतेदेखि ७२ जना विद्यार्थीलाई जाडो छल्दै शैक्षिक पठन÷पाठन संञ्चालन गर्दै गरेको विद्यालयका प्रअ निमा ठिले गुरुङले जानकारी दिए । बेसीमा झरेर पढाई संञ्चालन गर्दा विद्यार्थीको सिकाई उपलब्धी प्रभावकारी भएको र यसमा विद्यार्थी र शिक्षक सन्तुष्ट रहेको प्रअ गुरुङको भनाई छ ।


मुस्ताङको जनज्योति आवि लिलिङले पहिलो पटक घुम्ती कक्षाका अलावा विद्यार्थीको शैक्षिक,मानसिक र शारिरीक वृद्धि विकासका लागि दैनिक योगाभ्यास कक्षा समेत संञ्चालन गर्ने व्यवस्था समेत गरेको छ । विद्यालयले त्यहाँको एक तिब्बतीय स्कुललाई मासिक १ लाख बढी दिने गरी ३ महिनाका लागि भवन भाडामा लिएको हो । विद्यालयको घुम्ती कक्षा संञ्चालनका लागि सबै खर्च पालिकाले व्यवहोर्ने गरी विद्यार्थीलाई घमिलो स्थानमा पठन÷पाठन गराईएको हो ।

यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई पोखरा हेमजाको एक स्कुल भवन भाडामा लिएर घुम्ती कक्षा संञ्चालन गरिएको छ । लोघेकरको चराङ आवि,मराङ आवि,ढाक्मर आवि,शालिग्राम आवि, यारा आवि र घमी आवि गरी ६ वटा विद्यालयलाई अस्थायी मर्ज गरी पोखरामा घुम्ती कक्षा संञ्चालन गरिएको चराङ आविका शिक्षक  कमलकान्त न्यौपानेले जानकारी दिए । सो पालिकाको ६ वटा विद्यालयमा कक्षा १—३ पढ्ने जम्मा २३ जना विद्यार्थी छन् । वालविकाससहित कक्षा १—३ मा करिव ५ देखि ७ वर्ष उमेर समुहका बालवालिका छन् । हिउँदयाममा बेसीमा राखेर कक्षा संञ्चालन गर्दा अभिभावक,शिक्षक र कार्यालय सहयोगी सबैलाई सहज भएको उनले बताए । विद्यार्थी संख्या ज्यादै रहेको लोघेकरको ६ वटा सरकारी विद्यायलमा एक शिक्षक र एक कास मात्र कार्यरत छन् ।

घुम्ती कक्षामा सबै विद्यालयका शिक्षकहरुले प्रतिनिधित्व गर्दै शैक्षिक पठन÷पाठन संञ्चालन गर्ने गरेको शिक्षक न्यौपानेले उल्लेख गरे । उनले न्यून विद्यार्थी रहेको ६ वटा स्कुलाई एक ठाउँमा स्थायी मर्ज गरी आवासिय सुविधासहितको विद्यालय संञ्चालन गर्न पालिकालाई अनुरोध गरे ।


उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा विद्यालयहरु बर्सेनि यार्तुङ,तिजी पर्व सकिएर जाडो सुरु हुन थालेपछि बेसी झर्ने परम्परा छ । विगतमा वार्षिक शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रको पठन÷पाठन गर्ने घुम्ती विद्यालयले यसपटक भने चालु शैक्षिककै पठन÷पाठन गरेका छन् । उपल्लो मुस्ताङमा अहिले माईनस २० डिग्री तापक्रम रहँदा अत्यधिक चिसो छ । घुम्ती कक्षाका लागि बेसीको पारिलो स्थानमा पढ्न पाउँदा त्यहाँ विद्यार्थी समेत निकै खुसी छन् । जाडो छल्न झरेका घुम्ती विद्यालय बेसीमा ३ देखि ५ महिना सम्म रहन्छन् । त्यसपछि बैशाखमा साविककै स्थानमा शैक्षिक पठन÷पाठन संञ्चालन गर्ने गरिन्छ ।


 सरकारले देशभर शैक्षिक सत्र एकरुपता ल्याउन परिपत्र गरेसगै घुम्ती विद्यालयले त्यसलाई निरन्तरता दिएका हुन् । शैक्षिक सत्रले घुम्ती विद्यालयलाई असर नपर्ने भएपनि हिउँदे बिदा दिएका तल्लो मुस्ताङका विद्यालयलाई भने यसले शैक्षिक पठन÷पाठन र नतिजामा नकारात्मक प्रभाव पार्ने देखिएको छ ।



प्रतिक्रिया