मुस्ताङबाट ३५ करोड बढीको भेडाच्यांग्रा निकासी

जोमसोम ।

यसवर्ष हिमाली जिल्ला मुस्ताङबाट अनुमानित ३५ करोड बढीको दसै लक्षित भेडाच्यांग्रा निकासी भएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पशु निरोगिता जाँच तथ्यांक अनुसार मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्यांग्रा निकासी भएको हो ।

केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्यांग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा ३५ करोड बढीको च्यांग्रा निकासी भएको हो । यसवर्ष मुस्ताङबाट निकासी भएका भेडाच्यांग्रा मध्ये ७ हजार ६६८ वटा स्थानीय र ६ हजार ८६८ वटा भेडाच्यांग्रा डोल्पा,मुगु र जुम्लाको रहेको पशु चिकित्सक डा. अर्यालको भनाई छ ।

मुस्ताङबाट यसवर्ष अनुमानित २० करोड बढी मुल्यको भेडाच्यांग्रा जिल्ला बाहिर निकासी भएको छ भने, १५ करोड बढी मुल्यको भेडाच्यांग्रा डोल्पा,मुगु र जुम्लाको भेडाच्यांग्रा  निकासी भएको पशु चिकित्सक डा. अर्यालले उल्लेख गर्नुभयो ।

मुस्ताङबाट निकासी भएका भेडाच्यांग्रा जिल्ला बाहिरका ब्यापारीहरुले कृषकको खोरमै रोज्गा च्यांग्राको ३५ हजार, भेडाको २८ हजार र रमा(च्लालु) च्यांग्राको १२ हजार मुल्यमा खरिद गरेको पाईएको छ । यहाँबाट निकासी भएका भेडाच्यांग्राको  चालिस हजार बढी मुल्यमा बिक्री भईरहेको स्थानीय ब्यापारीहरु बताउँछन् ।

तर, विज्ञ केन्द्रको तथ्यांक भन्दा बढी मात्रामा भेडाच्यांग्रा जिल्ला बाहिर निकासी भएको स्थानीय जानकारहरु बताउँछन् । यहाँ विज्ञ केन्द्रले पशु निरोगिताको भेटेनरी परीक्षण गर्दा च्यांग्रा धनीले एकिन संख्या नबताउँने भएकाले पनि यहाँबाट केन्द्रको तथ्यांक भन्दा बढी भेडाच्यांग्रा निकासी भएको स्थानीय जानकारहरुको भनाई छ ।


प्रतिक्रिया