खिङ्गा यार्तुङ हाईअल्टिच्युड सेभेन ए साईडको च्याम्पियन बन्यो

जोमसोम ।

यहाँको मुक्तिनाथ पुराङ रानीपौवा खेल मैदानमा आयोजित यार्तुङ हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गाले जितेको छ । शुक्रबार (आज) सम्पन्न फाईनल प्रतिस्पर्धामा थोरङ्पास युथक्लव खिङ्गाले अमित बिल्डर्स टिमलाई टाईब्रेकरमा (२—१) गोल अन्तरले पराजित गर्दै यार्तुङ हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को च्याम्पियन बनेको हो ।

यसअघि यार्तुङ सेभेन ए साईड फुटबल प्रिितयोगिता पहिलो र दोस्रो हाफ गरी निर्धारित ४० मिनेटको समय तालिका राखेर संञ्चालन गरिएको थियो । प्रतियोगिताको फाईनलमा निकै आक्रामक रुपमा खेल प्रर्दशन गरेको अमित बिल्डर्सले निर्धारित समयमा गोल गर्नमा चुक्यो । यसैगरी खिङ्गाको तर्फबाट गोल गर्ने प्रयास गरेपनि निर्धारित समयभित्र गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।


 टाईबे्रकमा अमित बिल्डर्सका तीन खेलाडी मध्ये दुई जना खेलाडी गर्नबाट चुके । खिङ्गाबाट पनि तीन जना खेलाडी मध्ये एक जना खेलाडी गोल गर्नबाट चुके ।

यार्तुङ पर्वका अवसरमा आयोजित यार्तुङ महोत्सव अन्तर्गतको यार्तुङ हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगितामा छिमेकी जिल्ला मनाङ र डोल्पासहित १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा अमित बिल्डर्स ,छुसाङ, खिङ्गा र मनाङ सेमी फाईनलमा पुगेका थिए ।

योसंगै यार्तुङ हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन थोरङ्पास युथ क्लव खिङ्गाले नगद ७० हजारसहित सिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेको छ । यसैगरी उपविजेतामै चित्त बुझाएको अमित बिल्डर्स टिमले नगद ४० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

यार्तुङ पर्वको अवसरमा आयोजित महोत्सवमा हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगितासंगै, आर्चरी ,लामो दुरीको घोडा र कदम घोडा दौड प्रतियोगिता हुनेछ । महोत्सव आईतबारसम्म सञ्चालन हुने क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो ।


प्रतिक्रिया