लोमान्थाङमा सुरुभयो यार्तुङ पर्व

उपल्लो मुस्ताङको ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व सोमबारदेखि लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप लोमान्थाङको सहआयोजनामा लोमान्थाङमा ऐतिहाँसिक यार्तुङ पर्व शुभारम्भ भएको हो ।

यार्तुङ पर्व बर्खायामको फुर्सदिलो समयमा मनाईने एक प्रकारको धार्मिक तथा सांस्कृतिक पर्व हो । यारको अर्थ बर्खा र तुङको अर्थ मनाउने भन्ने अर्थ हुन्छ । बर्खायामको खेतीपातीको कामकाज सकेर उपल्लो मुस्ताङका स्थानीय नागरिक फुर्सदिला हुने भएको आसपसमा पर्व स्वरुपमा सदिैयौवर्षदेखि यार्तुङ पर्व मनाउने प्रचलन रहेको हो । मुस्ताङको वारागुङ गाउँपालिकादेखि उपल्लो मुस्ताङमा बसोबास गर्ने स्थानीय नागरिकहरुले यार्तुङ पर्वलाई विशेष पर्वको ग्रहण गर्दै हर्षउल्लाशमय वातावरणमा मनाउने गर्छन ।


 लोमान्थाङमा आयोजित यार्तुङ पर्वको पहिलोदिन मुस्ताङी २६ औं सांस्कृतिक राजा जिग्मे पलवर बिष्टको समुउपस्थितीमा यार्तुङ पर्व सुरु गरिएको छ । तीन दिनसम्म चल्ने लोमान्थाङ यार्तुङ पर्वको दोस्रोदिन मंगलबार मुस्ताङी सांस्कृतिक राजा रानीको समुउपस्थितीमा यार्तुङ पर्व मनाईने छ । यसैगरी यार्तुङ पर्वको तेस्रो तथा अन्तिमदिन लोमान्थाङका विभिन्न गुम्बाका लामाहरुको उपस्थितीमा यार्तुङ पर्व मनाईने  जनाईएको छ ।

लोमान्थाङ यार्तुङ पर्वको पहिलोदिन लोमान्थाङ गाउँका चार समान (सिजु)हरुका पुरुष र महिलाहरुले मौलिक भेषभूषामा सजिएर मुस्ताङी राजाको निवासमा पुगेर खाँदा र छ्याङ रक्सी चढाएर सम्मान  गरेका छन् । लोमान्थाङका चार वटा समाजका सिजुहरुले अलग अलग गएर मुस्ताङी राजालाई खाँदा चढाएर सम्मान अर्पण गरेका हुन् ।


 यार्तुङ पर्वको पहिलोदिनको दोस्रो चरणमा मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर बिष्ट ऐतिहाँसिक लोमान्थाङ दरबारमा उपस्थित हुनुभयो ।  मौलिक स्थानीय भेषभूषाको पहिरनमा दरबारको माथिल्लो तलामा बस्नु भएका राजालाई यार्तुङ पर्वमा सहभागी गराउन लोमान्थाङका चार समाज (सिजु) प्रतिनिधिहरु ऐतिहाँसिक मुस्ताङी राजाको दरबार पुगेका थिए । दरबार लिन गएका लोमान्थाङबासीले त्यहाँ पनि राजालाई खाँदा र छ्याङ रक्सी चढाएर सम्मान व्यक्त गरे ।

 मौलिक भेषभूषामा सजिएका मुस्ताङी राजालाई स्थानीय भाषाको सांस्कृतिक गीत गाउँदै दरबार परिसरमा ल्याईयो । यार्तुङ पर्वको पहिलोदिन पुरुषहरुको मात्रै यार्तुङ हुने भएकाले राजालाई मात्रै सहभागी गराईएको थियो । दरबारबाट निस्किएका मुस्ताङी राजालाई स्थानीयले घोडामा चढाएर स्थानीय बाजागाजा र गीत गाउँदै लोमान्थाङ गाउँ परिक्रमा गराईएको थियो । सयौं घोडाका लावालस्करसहित सार्वजनिक रुपमा पर्वमा देखिनु भएका मुस्ताङी सांस्कृतिक राजाको सम्मानमा फेरी लोमान्थाङबासी महिलाहरुले स्थानीय भाषामा स्वागत गीत गाउँदै राजा र घोडामा सवार सहभागी चारै समाजका (सिजु)हरुलाई सम्मानसहित शुभकामना दिईएको थियो ।


 यार्तुङ पर्वको पहिलोदिन मुस्ताङी राजाको भूमिका महत्वपूर्ण रहेको लोमान्थाङ—५ का वडाध्यक्ष लाक्पावाङ्दी गुरुङले उल्लेख गर्नुभयो । उहाँका अनुसार मुस्ताङी राजा जिग्मे सिङ्गे पलवर बिष्टलाई घोडामा चढाएर सयौं घोडाहरुको लावालस्करसहित लोमान्थाङ नजिकै रहेको क्यारा क्षेत्रतर्फ प्रस्थान गरेको थियो । त्यहाँ मुस्ताङ राजासहित लोमान्थाङका विभिन्न सिजुहरुको छुट्टा छुट्दै पालमा मिठा मिठा खानेकुरा खाने र यार्तुङ पर्वको रमाईलो गरिएको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

 घोडाको लावालस्करसहित क्याराक्षेत्रमा पुगेका लोमान्थाङका स्थानीय सिजुहरुले मुस्ताङ राजाको सम्मानमा स्थानीय स्याब्रो नाच देखाएका थिए । यार्तुङको पहिलोदिनमा हुने क्यारा क्षेत्रको कार्यक्रम समापन भएपछि पून मुस्ताङी राजालाई घोडामा चढाएर सयौं घोडाका लावालस्कर लोमान्थाङमा गाउँमा फर्किएको थियो ।

प्रतिक्रिया