मुस्ताङमा भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५० प्रतिशतले वृद्धि

जोमसोम—  हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अकल्पनीय रुपमा वृद्धि भएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । विसं २०८० को तुलनामा विसं २०८१ मा (४९.७६) प्रतिशतले विदेशी पर्यटकको सख्या मुस्ताङमा वृद्धि भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।

विसं २०८१ सालको बाह्र महिनामा एक लाख ४४ हजार ७४५ जना विदेशी पर्यटक मुस्ताङमा भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिनुभयो । योसख्या विसं २०८० सालको तुलनामा ४८ हजार एकसयले बढी भएको कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो । उहाँका अनुसार विस २०८० सालको बाह्र महिनामा ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

एक्यापको  पर्यटकीय तथ्यांक अनुसार विसं २०८० को तुलनामा विसं २०८१ सालमा सार्क राष्ट्रतर्फ (५३.७१) प्रतिशत र अन्य विदेशी पर्यटकतर्फ (३४.७८) प्रतिशतले वृद्धि भएको हो । कार्यालय प्रमुख गुप्तका अनुसार वृद्धि प्रतिशतका आधारमा विसं २०८० को भन्दा २०८१ मा सार्क राष्ट्रतर्फ ४१ हजार ९८ जना र अन्य विदेशी पर्यटकतर्फ ७ हजार २ जना विदेशी पर्यटक संख्या वृद्धि भएको हो ।

 विसं २०८१ सालमा सार्क राष्ट्रतर्फ १ लाख १७ हजार ६१४ जना र अन्यतर्फ २७ हजार १३१ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।

सार्क तथा अन्य मुलुका विदेशी पर्यटक जोडेर विसं २०८१ को बैशाखमा २० हजार ८०९ जना, जेठमा २८ हजार ८५६ जना,असारमा ८ हजार १८७ जना, साउनमा ३ हजार ५५८ जना,भदौमा ६ हजार ६७९ जना, असोजमा १३ हजार २१६ जना ,कार्तिकमा १४ हजार ५७८ जना, मंसिरमा ७ हजार ५५३ जना ,पुसमा ६ हजार ९७५ जना, माघमा ३ हजार ५१७ जना, फागुनमा ९ हजार ३२६ जना र चैत महिनामा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।

विसं २०८१ सालमा ७२ राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले जनाउँनुभयो । सार्कतर्फ ८० प्रतिशत भारतीय पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको कार्यालय प्रमुख गुप्तको भनाई छ ।

 विसं २०८१ सालमा सबैभन्दा बढी पर्यटक जेठ महिनामा भित्रिएका थिए । जेठ महिनामा सबैभन्दा बढी २८ हजार ८५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यस्तै, सबैभन्दा कम  माघ महिनामा जम्मा ३ हजार ५१७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्यांकमा उल्लेख छ ।

एक्याप जोमसोमका अनुसार विसं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि आन्तरिक पर्यटकको साथसाथै विदेशी पर्यटकको संख्यामा समेत अकल्पनीय रुपले वृद्धि भईरहेको एक्यापको भनाई छ । मुस्ताङ भित्रिएका अन्य विदेशी पर्यटकको सख्यामा एक चौथाई राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ भित्रिएको एक्यापले जनाएको छ । लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको सख्यामा समेत वृद्धि भईरहेको छ ।

धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा परिचित मुस्ताङमा अथाह ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका कारण विदेशी पर्यटकको मुस्ताङ आगमन विगतका वर्षहरु भन्दा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक मुस्ताङ आउन लालायित हुने गरेको पाईएको छ । तिब्बती कलासंस्कृतिको जिवन्त ईतिहाँस रहेको हिमाली जिल्ला मुस्ताङ विभिन्न खोजअनुसन्धानका लागि समेत निकैनै प्रसिद्ध छ 

 कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका फरकफरक पृथक भूगोलले यहाँको प्राकृतिक सौन्दर्यता अवलोकन गरेर विदेशी पर्यटक मन्त्रमुग्ध हुने गर्छन । मुस्ताङका सदिंयौ वर्ष पुराना बुद्धिस धार्मिक गुम्बा,माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

 उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहाँसिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा,चिउसी गुफा,लुरी गुम्बा, दामोदरकुण्ड धार्मिक स्थल लगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ ,कागबेनीधाम,ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा,टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तब्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो रहेको हो ।

पछिल्लो समय अन्धाधुन्द शाखा सडक विस्तारले पर्यटकीय पदमार्ग मासिन थालेपछि विदेशी पर्यटकको पदयात्रामा असर पर्न थालेको छ । मुस्ताङमा पदयात्रा गर्न रुचाउने कतिपय पर्यटकहरु अन्धाधुन्द सडक विस्तारका कारण धुवा र धुलोको सास्ती व्यवहोर्दै पदयात्रा गर्न बाध्य छन् । हिमाली जिल्लामा आउने विदेशी पर्यटकका लागि पर्यटकीय पदमार्ग निर्माण तथा भईरहेको जीर्ण पदमार्ग सुधारमा तीनै तहको सरकारले ध्यान दिन आवश्यक रहेको देखिन्छ ।


प्रतिक्रिया