जोमसोम— हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अकल्पनीय रुपमा वृद्धि भएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । विसं २०८० को तुलनामा विसं २०८१ मा (४९.७६) प्रतिशतले विदेशी पर्यटकको सख्या मुस्ताङमा वृद्धि भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।
विसं २०८१ सालको बाह्र महिनामा एक लाख ४४ हजार ७४५ जना विदेशी पर्यटक मुस्ताङमा भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिनुभयो । योसख्या विसं २०८० सालको तुलनामा ४८ हजार एकसयले बढी भएको कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो । उहाँका अनुसार विस २०८० सालको बाह्र महिनामा ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
एक्यापको पर्यटकीय तथ्यांक अनुसार विसं २०८० को तुलनामा विसं २०८१ सालमा सार्क राष्ट्रतर्फ (५३.७१) प्रतिशत र अन्य विदेशी पर्यटकतर्फ (३४.७८) प्रतिशतले वृद्धि भएको हो । कार्यालय प्रमुख गुप्तका अनुसार वृद्धि प्रतिशतका आधारमा विसं २०८० को भन्दा २०८१ मा सार्क राष्ट्रतर्फ ४१ हजार ९८ जना र अन्य विदेशी पर्यटकतर्फ ७ हजार २ जना विदेशी पर्यटक संख्या वृद्धि भएको हो ।
विसं २०८१ सालमा सार्क राष्ट्रतर्फ १ लाख १७ हजार ६१४ जना र अन्यतर्फ २७ हजार १३१ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।
सार्क तथा अन्य मुलुका विदेशी पर्यटक जोडेर विसं २०८१ को बैशाखमा २० हजार ८०९ जना, जेठमा २८ हजार ८५६ जना,असारमा ८ हजार १८७ जना, साउनमा ३ हजार ५५८ जना,भदौमा ६ हजार ६७९ जना, असोजमा १३ हजार २१६ जना ,कार्तिकमा १४ हजार ५७८ जना, मंसिरमा ७ हजार ५५३ जना ,पुसमा ६ हजार ९७५ जना, माघमा ३ हजार ५१७ जना, फागुनमा ९ हजार ३२६ जना र चैत महिनामा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।
विसं २०८१ सालमा ७२ राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले जनाउँनुभयो । सार्कतर्फ ८० प्रतिशत भारतीय पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको कार्यालय प्रमुख गुप्तको भनाई छ ।
विसं २०८१ सालमा सबैभन्दा बढी पर्यटक जेठ महिनामा भित्रिएका थिए । जेठ महिनामा सबैभन्दा बढी २८ हजार ८५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यस्तै, सबैभन्दा कम माघ महिनामा जम्मा ३ हजार ५१७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्यांकमा उल्लेख छ ।
एक्याप जोमसोमका अनुसार विसं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।
पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि आन्तरिक पर्यटकको साथसाथै विदेशी पर्यटकको संख्यामा समेत अकल्पनीय रुपले वृद्धि भईरहेको एक्यापको भनाई छ । मुस्ताङ भित्रिएका अन्य विदेशी पर्यटकको सख्यामा एक चौथाई राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ भित्रिएको एक्यापले जनाएको छ । लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको सख्यामा समेत वृद्धि भईरहेको छ ।
धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा परिचित मुस्ताङमा अथाह ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका कारण विदेशी पर्यटकको मुस्ताङ आगमन विगतका वर्षहरु भन्दा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक मुस्ताङ आउन लालायित हुने गरेको पाईएको छ । तिब्बती कलासंस्कृतिको जिवन्त ईतिहाँस रहेको हिमाली जिल्ला मुस्ताङ विभिन्न खोजअनुसन्धानका लागि समेत निकैनै प्रसिद्ध छ
कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका फरकफरक पृथक भूगोलले यहाँको प्राकृतिक सौन्दर्यता अवलोकन गरेर विदेशी पर्यटक मन्त्रमुग्ध हुने गर्छन । मुस्ताङका सदिंयौ वर्ष पुराना बुद्धिस धार्मिक गुम्बा,माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।
उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहाँसिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा,चिउसी गुफा,लुरी गुम्बा, दामोदरकुण्ड धार्मिक स्थल लगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ ,कागबेनीधाम,ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा,टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तब्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो रहेको हो ।
पछिल्लो समय अन्धाधुन्द शाखा सडक विस्तारले पर्यटकीय पदमार्ग मासिन थालेपछि विदेशी पर्यटकको पदयात्रामा असर पर्न थालेको छ । मुस्ताङमा पदयात्रा गर्न रुचाउने कतिपय पर्यटकहरु अन्धाधुन्द सडक विस्तारका कारण धुवा र धुलोको सास्ती व्यवहोर्दै पदयात्रा गर्न बाध्य छन् । हिमाली जिल्लामा आउने विदेशी पर्यटकका लागि पर्यटकीय पदमार्ग निर्माण तथा भईरहेको जीर्ण पदमार्ग सुधारमा तीनै तहको सरकारले ध्यान दिन आवश्यक रहेको देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली