ई.उत्तमकुमार गुरुङ
जोमसोम देखि माथी, अझ भनौ काग्बेनी देखि माथीका गाउहरुमा एकाद होटेलहरु बाहेक धेरै जस्तो घरहरु माटोकै छत भएका मुन्डा आकारका घरहरु छन । घरको छतको चारै तिर २ देखि ४ फिटसम्म दाउराको पर्खाल राखिएका हुन्छन । पहिले पहिले यी भेगहरुमा धेरै हिउँ पर्ने गर्थ्यो । कम्मरसम्म हिउँ परेको म आफैलाइ याद छ ( करिब २५,३० बर्ष अगाडि) त्यो पनि बर्षको २,३ पटक ।
परापुर्वकालमा त्यसरि हिउँ पर्दा जाडोबाट बच्नलाई, आगो बाल्न, हिउँ नपर्ने सिजनमा यी दाउराहरुको जोहो गरि छतमा यसरी राख्ने गरेको हुनुपर्छ । यसरी छतमा दाउराले घेर्ने कार्यलाइ बर्षैपिच्छे निरन्तरता दिदा पछि कालन्तरमा यहि चिज परम्परा र चलन भएको होला भन्ने मेरो अनुमान छ । घरको सम्पन्नता वरिपरि भएको दाउराबाट पनि अनुमान लगाउथे अरे उहिले उहिले ।
यस्ता परम्परागत घरको पर्खाल दुई थरिका हुन्छन
१. ढुङ्गालाई बिशेष प्रकारको मलिलो टासिने माटोको मसलाले उठाएको पर्खाल
२. खेतको मलिलो माटोलाइ बेस्सरि खादेर उठाएको पर्खाल (यस्मा ढुङ्गा हुदैन)
यी घरहरुको मुख्य विशेषता बाहिरको चिसो भित्र छिर्दैन र भित्रको तातो (दाउराको आगोको तातो) बाहिर जादैन । यस्को छाना पनि माटोकै हुने हुनाले जस्तो जाडोमा पनि घरभित्र न्यानो भैराख्छ । बिज्ञान र शिक्षाको गन्धसम्म नपुगेको त्यो बेला पनि हाम्रा पुर्खाहरुसङ्ग जाडोबाट छल्ने यस्तो प्राविधिक ज्ञान थियो भन्ने कुरा र त्यतिबेलाको सभ्यताको अनुमान लगाउन सकिन्छ ।
सदियौ देखिका हाम्रो परम्परागत मुन्डा आकारका यि घरहरु हामी मुस्ताङ्गी र मुस्ताङको विशेष पहिचान हो । उतिबेला बाहिरी आक्रमणबाट बच्न, कसैको घरमा चोरिचकारी भैहालेमा तत्कालै सबैलाइ थाह होस भन्ने सोचले, एकाअपसमा आफ्नोपन र अपनत्व सदैव कायम राख्नलाइ नै होला प्रत्यक घरहरु गुचुमुच्च र एकापसमा टासिएका हुन्छन । अलग घर बिरलै देख्न पाइन्छ ।
यिनै घरहरुका आकार, सजावट र गाउको बनावट नै हाम्रो पहिचान हो र हाम्रा पुर्खाहरुको सभ्यता ठम्याउने आधार हुन । अहिलेको आधुनिक सभ्यतालाइ अङ्गाल्दै गर्दा हामिले हाम्रा पुर्खाहरुको सभ्यतालाइ हराउन दिनु हुदैन, यसको जगेर्ना गर्नु पर्छ । यसका लागि हाम्रा लो-घेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष आदरणिय दाजु लोप्साङ छोम्पेल बिष्ट ( राजु बिष्ट)को पहलमा, उक्त गाउपालिकामा घर बनाउदा पहिचान जोगिने गरि केही मापदण्डहरुहरु अनिवार्य गरिसक्नु भएको छ जुन एकदमै प्रशम्सनिय छ ।
मुस्ताङ नेपालको मात्र हैन दक्षिण एसियाकै एक प्रख्यात पर्यटकिय गन्तव्य हो जुन हाम्रो लागि गर्वको बिषय हो । अब त बाहय मात्र हैन आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्य भैसक्यो ।
सधै अग्ला अग्ला र कन्क्रीटका घरहरु देखेर दिक्क भएका स्वदेशी, बिदेशी पर्यटकहरु हाम्रा अचम्म लाग्दो भौगोलिक बनावट मात्र हैन, यी अनौठा घरहरु देखेर छक्क पर्छन, अचम्म मान्छन । खासगरी नेपालको हिमाली भेगहरुमा यस्तो आकारको घरहरु देख्न सकिन्छ ।
तर बिगत केही बर्ष देखि मौसम परिवर्तन (ग्लोबल वार्मिङ) को असरले गर्दा औसत भन्दा बढी पानी पर्ने थालेकोले ती माटोको छत भएका घरहरु चुहेर बस्नै नसक्ने हुन थालेको सुन्नमा आएको छ । अझै यसपालिको (२०८२, कार्तिक १२ देखि १५ सम्म) पानीले त कति घरहरु भत्केका पनि छन अरे । यस्तै ताल हो भने अबको केहि बर्षमा यी हाम्रा पहिचान देखाउने, पुर्खाको सभ्यता चिनाउने घरहरु अस्तित्वमा देखिन पनि मुश्किल हुनेछ । त्यहाको बासिन्दाहरु परम्परागत शैलिको घरहरु भत्काएर, नया शैलिको घर बनाउन बाध्य हुनेछन । किनकी यहि प्रविधी र बनावटले अबको मौसम परिवर्तनबाट देखीने असरबाट बच्न सकिँदैन । बेलैमा उचित प्रबिधी सहित हाम्रो पहिचान जोगिने गरि यस्को समाधान खोज्न जरुरी छ ।
हामिले हाम्रो पहिचानको जगेर्ना गर्नै पर्छ, पहिचान जोगाउने भनेर खाली मुखले भनेर, दुई चार दिन परम्परागत पोशाक लगाएर अनि २,४ ओटा चाडबाड मनाएर मात्र हाम्रो पहिचान र संस्कृती जोगिदैन । जति हाम्रो लागि हाम्रा धरोहरहरु, पौराणिक गुम्बाहरु, सस्कृतीहरु, चालचलन, चाडबाड अनि भेशभुषाहरु मह्त्वपुर्ण छन त्यतिकै हाम्रा पुर्खाले छोडेका सभ्यता, शैली र भौतिक सम्रचनाहरु पनि त्यतिकै महत्वपुर्ण छन । त्यसैले हामिले यी सबैको अस्तित्व जोगाउनै पर्छ । नत्र हाम्रो मुस्ताङ, राम्रो मुस्ताङ सधै रहला भन्न सकिन्न ।
अब हालसालकै कुरा गरौ:
मौसम बिभागले ४,५ दिन अगाडिदेखि नै बङ्गालको खाडिबाट आउने मनसुनले नेपालभरी कम्तिमा ३ दिन वर्षा गराउने भएकोले विशेष सावधानि अपनाउन भनिरहेकै थिए तर पनि तत्कालै केही गर्न नसकेकाले कति ठाउमा छत चुहेर जनताले नसोचेको दुख पाए, कति घरहरु भत्किए पनि । यस्तो बेला स्थानिय सरकारले सानो तिनो उपायहरु अपनाएको भए धेरै राहत हुनेथ्यो होला । स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार हो । यस्तै जनताको साना तिना दुखमा साथ दिनलाइ नै स्थानिय सरकारको परिकल्पना गरिएको हो । तर न त स्थानिय सरकारले यस्मा ध्यान दिए न त यस्को लागि विशेष सावधानी अपनाउन जनतालाइ सल्लाह सुझाव नै ।
अझै पनि ढिलो भएको छैन, अब स्थानिय सरकारको पहलमा निम्न कार्यहरु तुरुन्तै गर्नु पर्ने देखिन्छ ।
१) आफ्नो आफ्नो गाउपालिका र वडामा माटोको घरहरुको सुचि तयार पार्ने । त्यसमा पनि अति असुरक्षित घरहरुको पहिचान गर्ने ।
२) हाम्रो गाउतिर घरहरु गुचुमुच्च परेका हुन्छन तर अहिले आएर पानी धेरै पर्दा हिड्ने सागुरो बाटो( दुई घर बिचको बाटो) बाट पानी धेरै बगेमा घरको जगमा असर गरेर घर नै भत्किन सक्छ त्यसरि बग्ने पानीलाइ विशेष व्यवस्था गर्न जरुरी छ ।
३) माटोको छत हुने हुनाले पानी धेरै पर्दा धान्न नसकेर पुरै चुहिन्छ त्यस्को लागि घरलाइ सहि सलामत राखेर के कसरी वाटर प्रुफिङ गर्न सकिन्छ त्यस्को लागि बिशेषज्ञ लगेर अध्ययन गरेर चाडो भन्दा चाडो समस्याको समाधान दिन जरुरी छ ।
४) कति ठाउमा तत्कालको लागि अस्थायी उपायस्वरुप छतको वरिपरि ४,५ फिट पर्खाल उठाएर माथी टिन हालि तत्कालको लागि समाधानको उपाय अपनाउने पनि गरेका रहेछन तर यसले हाम्रो परम्पारिक मुन्डा घरको आकर्षण बिगृने अनि हावा हुरि चल्दा त्यति सुरक्षित नदेखिने भएकोले यो भन्दा अलि बैज्ञानिक उपाय भए जाती हुने थियो ।
५) अब स्थानिय सरकारकै पहलमा घरको बर्गिकरण गर्नै पर्ने देखियो । विशेष होटेलहरु बाहेक बाकी सबै घर परम्परागत शैलिमा बनाउनै पर्ने (लो घेकर दामोदर कुन्डले केहि हदसम्म यस्को शुरुवात गरिसकेका छन ) । यसको लागि बढी बर्षा हुदा पनि वाटर प्रुफिङ (केहि न केही प्रविधी पक्कै पनि होला) प्रविधी प्रयोग गर्न सकिन्छ ।
यसो गर्दा मुस्ताङको घरहरुको एउटा विशेष पहिचान र शैली पछिल्लो पुस्तौ पुस्ता नमुनाको रुपमा रहिरहनेछ ।
अत यो कुरामा मुस्ताङका स्थानिय सरकारहरुको तत्काल ध्यान जान आवश्यक देखिन्छ र उचित उपाय अपनाउन सकेको खन्डमा धेरैले राहत पाउने थियो र हाम्रो पुर्खाको सभ्यता पनि अमर रहने थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता