मार्फामा मनाईयो अन्तराष्ट्रिय आरोग्य दिवस

मुस्ताङ,०२, बैशाख ।

यहाँको घरपझोङ गाउँपालिका—२  मार्फा स्थित सामुदायिक भवनमा बुधबार अन्तराष्ट्रिय आरोग्य दिवस मनाईएको छ । एकिकृत सेवा कार्यालय मुस्ताङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा दिवस मनाईएको हो ।

‘स्वस्थ मन स्वस्थ समाजको’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै एकिकृत सेवा कार्यालय मुस्ताङले आरोग्य दिवसको आयोजना गरेको हो । मार्फा स्थित स्थानीय नागरिकहरुको सहभागितामा तीन वटा सेसनमा दिवसको आयोजना गरिएको एकिकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । आरोग्य दिवसको अवसरमा आयोजित कार्यक्रममा समाजमा मानसिक स्वास्थ्यको महत्व र यसबारेमा स्थानीय नागरिकहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको प्रमुख दर्जीले बताउँनुभयो ।

आरोग्य दिवसको अवसरमा आयोजित कार्यक्रममा मनोपरामर्श दाता डा. सुर्य राजवंशीले मानसिक रोगहरुको पहिचान,उपचार र रोकथाम लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले मानसिक स्वास्थ्य प्रतिकूल हुने अवस्था र असर,उजुरी,उपाय र उपचार लगायतका बारेमा सहजीकरण गरेको थियो ।

 यसैगरी योग ध्यान र स्वस्थ जिवनशैली मार्फत मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लगायतका बारेमा प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङका प्रमुख दिनेश प्रसाद आचार्यले योगभ्यास गराउनु भएको थियो ।

आरोग्य दिवसको आयोजनाले सस्तो,सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्वन गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीले जीवन रक्षा,स्वास्थ्य खर्च न्यूनिकरण तथा रोगथामयोग्य रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने कार्यक्रममा बताईएको थियो ।


प्रतिक्रिया