मुस्ताङको लोघेकरमा घरको रंग सेतो र कालो अनिवार्य

  1. जोमसोम—

पछिल्लो समय हिमाली जिल्ला मुस्ताङको संस्कृति लोपोन्मुख अवस्थामा छ । बढ्दो आधुनिकता र सडक सहजताका कारण यहाँमा पुरानो परम्परागत मौलिक संस्कृति हराउँदै जान थालेको छ ।

हिमाली जिल्ला मुस्ताङको सास्कृतिक पहिचान भनेकै यहाँका ढुंगा र माटोले निर्मित परम्परागत घरको मौलिक संस्कृति मुख्य मानिन्छ । गुजमुच्च एक आपासमा जोडिएका पुराना मौलिक परम्परागत घरहरुले यहाँको मौलिक परम्परा र संस्कृतिलाई जिवन्त तुल्याउने गर्छ । यहाँका यसप्रकारका पुराना परम्परागत घरहरुले यहाँका मौलिकता र संस्कृति झल्काउने मात्रै होईन यहाँको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने गरेको विद्यमान छ ।

तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँ वस्तीहरुमा प्रत्येक घरहरुको भौतिक संरचना ढुंगा र माटोले निर्मित छन् । गुजमुच्च वस्तीको परम्परागत घरहरुको छत माथि लस्करै दाउँरा पाँजेर राख्ने यहाँको सदिंयौदेखिको सास्कृतिक प्रचलन पनि हो । घरका छतमाथि दाउँरा पाँजेर राख्दा बर्खायाममा पानी चुहिने समस्यालाई मुक्त गर्ने र यसरी दाउँरा पाँजेर राख्दा छत माथि सुकाईने बिसुनलाई हावाहुरी पु¥याउने असरबाट जोगाउँने गर्छ । यहाँका मौलिक सांस्कृतिक घरहरुमा जसले धेर्र दाउँरा पाँजेर राख्छ त्यही घर सम्पन्नशाली हुने यहाँका पुरानो मान्यता पनि रहिआएको छ ।

 पछिल्लो समय प्राविधिको विकास,बढ्दो आधुनिकता र सडक यातायात सहजताका कारण यहाँको सदिंयौ वर्षदेखिको यहाँको मौलिक संस्कृति बिथोलिन थालेको छ । यहाँ पुराना मौलिक परम्परागत घरहरु मासेर नयाँ आधुनिक कंक्रिट घरहरु निर्माण हुने होडबाजीनै चलेको छ । मुस्ताङको कोरला मुख्य राजमार्ग सडक लगायत यहाँका ग्रामिण वस्तीहरुमा आधुनिकताको नाममा धमाधम कक्रिट घरहरु निर्माण भईरहेको छ । यहाँको मार्फा,जोमसोम,कागबेनी, मुक्तिनाथ,लेते र लोमान्थाङ लगायतका क्षेत्रहरुमा धमाधम आधुनिक बंगला रुपी घरहरु निर्माण भईरहेको छ । योसंगै यहाँका पुराना मौलिक परम्परागत घरहरु धमाधम मासिन थालेका छन् ।

 यसैबिचमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले संस्कृति बचाउ अभियानमा जुटेको छ । गाउँपालिकाले यहाँका सदियौं वर्ष पुराना घरका मौलिक संस्कृति र परम्परालाई बिथोलिन नदिन स्थानीय नागरिकसंग अनुरोध समेत गरेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समेटेर गाउँपालिका भित्रका मौलिक ढुंगा र माटोले बनेका परम्परागत घरहरुको मौलिक संस्कृति जोगाउन अभियाननै संञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । पछिल्लो समय अन्धाधुन्द तवरबाट घरहरु निर्माण गर्ने क्रम बढेकाले संस्कृति जोगाउँन गाउँपालिकाले नीति तथा कार्यक्रममा घर निर्माणमा निश्चित मापदण्ड ताकिएको अध्यक्ष बिष्टको भनाई छ ।

 यहाँ गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घरहरु निर्माण गर्दा त्यस्ता घरहरुको सेतो र घरको छत (बोर्डर)को रंग अनिवार्य कालो हुनुपर्ने नियम बनाएको छ । यहाँ घरहरु निर्माण गर्दा घरको रंग सेतो र छतको बोर्डर कालो रंगको नभएमा त्यस्ता घरहरुलाई गाउँपालिका कारवाही प्रक्रिया अघि बढाउँने जनाईएको छ । यसरी पुरानो संस्कृतिको जर्गेना गर्न घरको छत माथिको बोर्डर कालो रंग हुनुपर्ने अथवा त्यसो नभएमा घरको छत माथि दाउरा पाँजेर राख्नु पर्ने नियम तोकिएको अध्यक्ष बिष्टले स्पष्ट पार्नुभयो ।

 गाउँपालिका भित्र आर्थिक अवस्था कमजोर भएका गरिव तथा विपन्नले घरहरु निर्माण गर्दा आर्थिक समस्या परेमा घरमा सेतो रंग र छत माथिको बार्डर, झ्याल÷ ढोका कालो रंगले पोत्न आर्थिक अनुदान सहयोग गरिने अध्यक्ष बिष्टले बताउँनुभयो । पछिल्लो समय यहाँको मौलिक संस्कृति हराउँदै जाने जोखिम बढेकाले यस्तो निर्णय गर्नुपरेको अध्यक्ष बिष्टको भनाई छ ।

‘यहाँ हामी कहाँ गुम्बाको रंग रातो र पहेलो हुन्छ, व्यक्ति र समुदायको घरहरु सेतो र कालो हुन्छ,’अध्यक्ष बिष्टले थप्नुभयो,‘ हामी यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भन्नेमा छौं, यसले पनि गाउँपालिकाले यसखाले निर्णय गरेको हो ।’’



प्रतिक्रिया