उपल्लो मुस्ताङ जोड्ने कागखोलामा ‘बेलिब्रिज’ राखिने

जोमसोम—

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी— जोमसोम—कोरला’  सडक आयोजनाले मुस्ताङको कागखोलामा अस्थायी ‘बेलिब्रिज’ जडान सुरु गरेको छ । त्यहाँ एक महिना भित्रै बेलिब्रिज जडान सम्पन्न गर्ने गरी काम अघि बढाईएको हो ।

कोरला जोड्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित कागखोलामा वि.स. २०८० साल साउन २८ गतेको कागेखोला बाढीले त्यहाँको पक्की मोटरेबल पुल बगाएर क्षति बनाएको थियो । त्यहाँको खोलामा पुलविहिन हुँदा कोरलानाका र उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बर्खायाममा निकै ठुलो समस्या पर्ने गरेको छ ।

कोरला सडक जोड्ने मुस्ताङको कागखोलामा बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दीको राहुघाट गलेश्वरमा रहेको अस्थायी ‘बेलिब्रिज’ लाई कागेखोलामा स्थान्तरण गरिन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिनुभयो । म्याग्दीको राहुघाट खोलामा पक्की पुल निर्माण भईसकेकाले त्यहाँ राखिएको अस्थायी ‘बेलिब्रिजलाई कागबेनी स्थित कागखोलामा स्थान्तरण गर्ने गरी कोटेशन ठेक्का मार्फत बेलिब्रिज स्थान्तरणको जिम्मा दिईएको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।

 आयोजनाले म्याग्दीको राहुघाट खोलामा अवस्थित बेलिब्रिज निकालेर मुस्ताङको कागबेनीमा झारिएको आयोजनाका सूचना अधिकारी चापागाईले बताउँनुभयो । त्यहाँ साउन महिनाको अन्तिमसम्म बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न गराईने उल्लेख गर्नुभयो ।

मुस्ताङको कागखोलामा तत्कालका लागि पक्की मोटरेबल पुल निर्माण प्रक्रिया निकै ढिलो हुने देखिएकाले राहुघाट खोलाको पुल कागबेनीमा जडान गर्ने तयारी गरिएको हो । ‘बेलिब्रिजका लागि ठेक्का प्रक्रियामा लैजादा लागत र समय पनि धेरै लाग्ने देखियो , यसैले त्यहाँ छिटोछरितो तवरले र लागत पनि कम लाग्ने गरी बेलिब्रिज जडानको प्रक्रिया सुरु गरिएको हो ।,’ उहाँले भन्नुभयो ।

 आयोजनाले कागखोलामा बेलिब्रिज जडानका लागि राहुघाटको बेलिब्रिज ढुवानी र जडान, ग्याविन फाउन्डेसन र ग्याविन वाल निर्माण गरी क्याप ढलान गरेर बेलिब्रिज निर्माण गर्ने आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । त्यहाँ करिव ३५ लाख लागतमै बेलिब्रिज निर्माण गर्ने योजना सुरु भएको बताउँनुभयो ।

मुस्ताङको कागबेनीमा बाढीले पक्की पुल क्षति भएपछि आयोजनाको समन्वयमा पुलचोक क्याम्पसका ईन्जिनीयर तथा विज्ञ टोलीले त्यसक्षेत्रको स्थलगत अध्ययन गरेका थिए । त्यहाँको भौगर्भिक अवस्थाको अध्धयन गरेर नयाँ पुल निर्माण गर्न नयाँ डीपीआर सर्वे गरिएको थियो । बाढीले पुल क्षति बनाएको दुई वर्षपछि त्यहाँ अस्थायी बेलिब्रिज जडान गर्न लागिएको हो ।

 राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक अन्तर्गत मुस्ताङको लोघेकर दमोदरकुण्ड—२ घमीमा कोरला जोड्ने पक्की पुल निर्माणधिन अवस्थामा छ । त्यसबाहेक बेनी—जोमसोम—कोरला सडकखण्डको अधिकाँश स्थानमा पक्की मोटरेबल पुल निर्माण भईसकेका छन् । कागेखोलामा पुल नहुँदा बर्खायाममा उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै समस्या पर्दैआईरहेको छ । त्यहाँ बेलिब्रिज निर्माण भएमा उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई सहज हुने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया