मुस्ताङमा च्यांग्रा जोन ः ७८ फर्म सुचिकृत

जोमसोम— च्यांग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्यांग्रा पालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्यांग्रा जोन विकास कार्यान्वयनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले आ.व. २०७८÷०७९ देखि च्यांग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

हिमाली जिल्लाको मुस्ताङमा पुस्तौपुस्तादेखि व्यवसायिक रुपमा यहाँका स्थानीय किसानले च्यांग्रा पालन व्यवसायलाई पेशागत अपनाउँदै आईरहेका छन् । च्यांग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्यांग्रा पालन व्यवसायलाई प्रर्वद्धन गर्ने गरी मासुको आयात प्रतिस्थापन गर्न यसप्रकारको च्यांग्रा जोन विकास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको हो ।

 च्यांग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको चौथो वर्ष हालसम्म मुस्ताङका तीन स्थानीय तहमा च्यांग्रा जोन विकास कार्यक्रममा ७८ वटा कृषि फर्म सुचिकृत भईसकेका छन् । च्यांग्रा जोन विकास कार्यक्रमका लागि सुचिकृृत हुन बर्सेनि कार्यालयले प्रस्ताव आह्वान गर्ने र त्यसपछि प्राथमिकताका आधारमा च्यांग्रा जोन विकास कार्यक्रममा सुचिकृत गर्दे लैजाने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो । मुस्ताङका पाँच स्थानीय तह मध्ये मागका आधारमा तीन स्थानीय तहका किसानलाई च्यांग्रा जोन विकास कार्यक्रममा आवद्धता गरिएको कार्यालय प्रमुख गौतमले बताउँनुभयो ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गरी कुल ७८ वटा फर्म च्यांग्रा जोन विकास कार्यक्रममा सुचिकृत भएका हुन् । जसअन्तर्गत वारागुङ मुक्तिक्षेत्रमा  ५६ फर्म, लोघेकर दामोदरकुण्डमा १६ फर्म र लोमान्थाङ गाउँपालिकामा ९ वटा पशु फर्म च्यांग्रा जोन विकास कार्यक्रममा सुचिकृत भएको कार्यालय प्रमुख गौतमले उल्लेख गर्नुभयो ।

 च्यांग्रा जोन विकास कार्यक्रमको पहिलो आ.व. २०७८÷०७९ मा ८ वटा फर्म, दोश्रो वर्ष आ.व. २०७९÷०८० मा १६ वटा फर्म र तेस्रो आ.व. २०८०÷०८१ मा १७ वटा पशु फर्म सुचिकृत भएका थिए । चालु आ.व.को चौथौ वर्ष २०८१÷०८२ मा ३७ वटा पशु फर्म च्यांग्रा जोन विकास कार्यक्रममा सुचिकृत भएको परियोजना कार्यान्यन ईकाई मुस्ताङले जनाएको छ । च्यांग्रा जोन विकास अन्तर्गत पहिलो वर्ष ७५ लाख ३० हजार, दोश्रो वर्ष ७२ लाख ४० हजार, तेस्रो वर्ष ८० लाख ४७ हजार  र चालु वर्ष  ५९ लाख ११ हजार बजेट विनियोजन भएको थियो । पहिलो वर्षको च्यांग्रा जोन कार्यक्रममा ४९ लाख १० हजार, दोस्रो वर्ष ७२ लाख ९ हजार र तेस्रो आ.व.मा ५७ लाख ९८ हजार बजेट खर्च भएको कार्यान्वयन ईकाईले जनाएको छ ।

 परियोजना कार्यान्यवन ईकाई अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷०८२ मा  च्यांग्राको खोर सुधारतर्फ ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी सुचिकृत १० वटा खोर फर्मलाई ३० लाख बजेट बजेट छुट्याईएको छ । स्थानीय तहसंगको समन्वयमा पशु नश्ल श्रोत केन्द्र स्थापना सुदृढिकरण सुचिकृत एक फर्मलाई ८५ प्रतिशत अनुदानमा ८ लाख ९२ हजार बजेट परेको छ । लक्षित जोनमा पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा १२ लाख ,पशु आहारा व्यवस्थापनमा ३ लाख १८ हजार र जाृन सुधार सहयोग तथा जोन क्षेत्रमा कृषि यान्त्रिकीकरणतर्फ ५ लाख बजेट ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।

यसअघि मुस्ताङमा सञ्चालित च्यांग्रा जोन विकास कार्यक्रम अन्तर्गत पहिलो आ.व.मा सुचिकृत ८ फर्मलाई च्यांग्राको पाठापाठी वितरण, सोलार चार्जर,टर्चलाईट, रेन्नोट र पाल वितरण गरिएको छ ।खोर सुधार ८ फर्म,पशु नश्ल स्रोत केन्द्र स्थापना एक र खसी बोका संकलन केन्द्र स्थापना केन्द्रतर्फ १ वटा फर्मले अनुदान पाएका थिए ।

आव २०७९÷०८०  मा सुचिकृत १३ वटा फर्मले च्यांग्रा पाठापाठी वितरण,सोलार चार्जर, टर्च लाईट र डिजिटर तुराजु पाएका थिए । यस्तै पशु रोग नियन्त्रण गर्न औषधि वितरण २१ फर्म, खोर सुधार १० फर्म र पशु नश्ल स्रोत केन्द्र स्थापना २ वटा सुचिकृत फर्मले च्यांग्रा जोनको अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०८०÷०८१ मा च्यांग्राको पाठापाठी वितरणमा १० फर्म, औषधि वितरण २९ फर्म, च्यांग्रा आहारा ३६ फर्म, खोर सुधार ७ फर्म र पशु नश्ल स्रोत केन्द्र स्थापनातर्फ २ वटा पशु फर्मले जोन विकासको अनुदान हात पारेका थिए ।

 परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख गौतमले पशु वृद्धि गर्न पाठापाठी वितरण, औषधि,पूर्वाधार निर्माणका साथै च्यांग्रा पालनमा आवश्यक उपकरण तथा प्रविधिहरु अनुदानमा उपलब्ध आईरहेको बताउँनुभयो । आगामी वर्षमा पशुको नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादन तथा पश्मिना व्यवसायतर्फ पशु फर्महरुलाई आर्कर्षित गर्दै लैजाने योजना रहेको ईकाई प्रमुख गौतमको भनाई छ । जोन कार्यक्रममा रही अबका वर्षहरुमा पश्मिना उद्योगमा जोड दिने कार्यालयको उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । च्यांग्र जोन कार्यक्रमले स्थानीय पशुपालकको व्यवसायको संरक्षण, व्यवसायिककरणका साथै सबै सुचिकृत पशु फर्महरुमा कम्तिमा ३÷४ जना व्यक्तिले रोजगारी प्राप्त गरेको ईकाई प्रमुख गौतमले खुलाउँनुभयो । मुस्ताङमा च्यांग्रा जोन विकास कार्यक्रमले सम्वन्धित पशु फार्महरुले सरकारबाट प्राप्त सुविधा लिएर च्यांग्राको उत्पादन तथा बिक्री वितरणका साथै पश्मिना निकालेर दोहोरो आम्दानी लिनसक्ने वातावरण सृजना भएको कार्यालय प्रमुख गौतमको भनाई छ ।

 च्यांग्रा जोन विकासमा अघिल्लो दुई आर्थिक वर्षको तथ्यांकमा करिव २० हजार ३१ वटा च्यांग्रा रहेको छ । जोन कार्यान्वयनको पछिल्लो दुई आ.व.मा च्यांग्राको उत्पादन सख्याको गणना तथा अभिलेख संकलन नभएकाले पछिल्लो कुल तथ्यांक प्राप्त हुन नसकेको कार्यालयको भनाई छ ।


प्रतिक्रिया