जोमसोम—हिउँदको चिसो याममा समेत मुस्ताङ प्रहरीको कार्यसम्पादन तथा सक्रियता थप वृद्धि भईरहेको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतका १९ वटा प्रहरी ईकाईहरुमा नागरिक तथा पर्यटक लक्षित विभिन्न कार्यक्रमलाई थप तीब्रता दिईएको हो ।
मुस्ताङमा बर्खायाममा मौसम अनुकुल हुने भएकाले प्रहरीले सञ्चालन गर्ने कुनै पनि कार्यक्रम तथा गतिविधी अघि बढाउन कुनै समस्या छैन । तर, हिउँदयामको मौसममा भने अत्यधिक चिसो हुने र हिमपातको जोखिम कायम रहने भएकाले प्रहरी कार्यसम्पादन निकै असहज र चुनौतीपूर्ण हुन्छ ।तर, यसका बाबजुद मुस्ताङ प्रहरीले माईनस डिग्री तापक्रमलाई छिचोल्दै नागरिक तथा पर्यटकमैत्री गतिविधीलाई नियाल्दा विगतका वर्षहरुको भन्दा थप सक्रियता बढाईरहेको देखिन्छ ।
उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माईनस २० डिग्रीमा झर्छ । तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीपखको तापक्रम माईनस १० डिग्री क्रस हुन्छ । हिउँदको दिउँसोपख घाम लाग्दा केही तातो महशुस हुने गरेपनि उत्तरी हावाहुरी चल्दा भने धेरैनै समस्या निम्त्याउने गरेको छ । चिसोका कारण पानीको स्रोतहरु बरफ बनेर जम्ने गर्दा नागरिकको दैनिक जिवन प्रभावित बन्ने गर्छ । तल्लो मुस्ताङका नागरिकलाई पनि उही खालको समस्या पर्ने गरेको छ ।
हिमाली कठिन भूगोलमा कार्यरत मुस्ताङ प्रहरीले सबै प्रहरी ईकाईहरुलाई आ—आफ्नो स्थानमा निकै सक्रिय पारेको छ । हिमालपारीको धार्मिक तथा पर्यटकीय जिल्लामा खासै विपदजन्य तथा अपराधिक गतिविधीका घटनाहरु हुदैनन् । यस्ता प्रकृतिका घटना कम हुने भएकाले पनि मुस्ताङका प्रहरी ईकाई अन्य स्थानको भन्दा केही फुर्सदिला हुन्छन् । प्रहरी कार्यालय र मातहतका ईकाईमा प्रहरीको व्यवस्ता कम हुने भएकै कारण मुस्ताङ प्रहरीलाई सामाजिनिक रुपान्तरण तथा सचेतनामूलक कार्यक्रममा केन्द्रित गरिएको हो । यसैका कारण पनि हिमालपारी मुस्ताङमा प्रहरीको कार्यक्षेत्रमा पर्ने अपराधजन्य घटनालाई प्रश्रय नदिन प्रहरी सचेत र जिम्मेवार रुपमा प्रस्तुत भईरहेको पाईएको हो ।
विगतका वर्षहरुमा जिल्ला प्रहरीको औसत तथ्यांक हेर्ने हो भने ५ सयदेखि ६ वटा कार्यक्रम संञ्चालन गरेको थियो । चालु वर्षको साउनदेखि मंसिर मसान्तसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुले ६ सय ८५ वटा कार्यक्रम सम्पन्न गरेको छ । पुस महिनामा पनि मुस्ताङ प्रहरीले नगारिक तथा पर्यटक लक्षित आफ्ना कार्यक्रमलाई थप बढावा दिईरहेको छ । जिल्ला प्रहरी कार्यालय तथा मुस्ताङका ५ वटै स्थानीय तहमा रहेका प्रहरी ईकाईहरुले सम्वन्धित स्थानमा पुगेर लागु औषध दुव्र्यसनी नियन्त्रण ,वन्यजन्तुको अवैंध ओसार अनुगमन÷पोसार,चोरी शिकारी,साईबर अपराध सुरक्षा,लैङ्कि हिंसा, महिला हिंसा,दाईजो प्रथा उन्मूलन, जातीय छुवाछुत, सामाजिक विभेद,सरसफाई,मानव बेचबिखन,जबरजस्तीकरणी बन तथा बन डढेलो आगलागी, वन्यजन्तु चोरी निकासी तथा तस्करी,सडक सुरक्षा र अवैंध गाँजाको बोट फडानी लगायतका नागरिक सचेतनामूलक कार्यक्रमहरु निरन्तर सञ्चालन भईरहेका छन् ।
मुस्ताङ प्रहरीले चालुवर्षको साउनदेखि यता अवैंध गाँजाको बोट फडानी कार्यक्रम ५५,लागु औषध सचेतना ६३,सरसफाई कार्यक्रम १५,आत्महत्या न्यूनिकरण सचेतना २७,प्रहरी नागरिक सुनुवाई ३,ट्राफिक सचेतनामूलक सडक सुरक्षा कार्यक्रम ७३,घरेलु मदिरा नियन्त्रण तथा जुवातास १६,घरेलु हिंसा १०२, मानव बेचबिखन ५, जातीय छुवाछुत ११,चोरी तथा डकैती ३९, साईबर अपराध रोकथाम २९ बालबिवाह ३२,लैङिक हिंसा २९ जबरजस्ती करणी घटना न्यूनिकरण ३१ । अन्य प्रहरी कार्यक्रम ८७ लगायत करिव ७ सय हाराहारीमा प्रहरी सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले मुस्ताङका ५ वटै स्थानीयमा समुदाय प्रहरी अवधारण अन्तर्गत नागरिक लक्षित प्रहरी कार्यक्रमहरु निरन्तर भईरहेको जानकारी दिए । प्रहरीको जिम्मेवारी भनेकै नागरिकको शान्ति सुरक्षामा केन्द्रित हुने भएकाले सामाजिक विकृति विस्गती र अपराधजन्य घटनाहरुको न्यूनिकरणका लागि प्रहरी बाह्रै महिना नियमित कार्यसम्पादनमा खटिने गरेको डिएसपी बोगटीको भनाई छ । उनले प्रहरीको सेवा भनेको नागरिकप्रति जनउत्तरदायि रहने भएकाले मौसम प्रतिकुलता विभिन्न अवरोधलाई पन्छाएर अघि बढ्नुपर्ने बताए ।
पछिल्लो समय पर्यटक तथा सवारी साधन लक्षित कार्यक्रमलाई मुख्य रुपमा अघि बढाईरहेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीेको संयुक्त आयोजनामा मुस्ताङ भित्रिने सवारी साधनका चालकसँग १ मिनेट र यात्रुसँग २ मिनेट कार्यक्रम सञ्चालन भईरहेको डिएसपी बोगटीले बताए । सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनिकरणका लागि चालकसँगको १ मिनेट कार्यक्रममा चालकलाई सडकमै रोकेर सचेतनामूलक प्रशिक्षण दिने गरिएको छ । यस्तै, मुस्ताङको उच्चस्थान तथा चिसो याममा मुस्ताङ भित्रिने पर्यटकलाई लेंक लाग्ने जोखिम हुने भएकाले त्यसको लागि आवश्यक सावधानी अपनाउन प्रहरी तथा ट्राफिक प्रहरीले पर्चा पम्प्लेट वितरण तथा सचेतना दिने गरिएको छ ।
मुस्ताङ प्रहरी तथा मातहतका ईकाईमा खटिने प्रहरी ईकाईका सुरक्षाकर्र्मीले उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका गाउँगाउँमा पुगेर गाउँमै बसेका नागरिकहरुले प्रहरी सचेतनामूलक जागरण कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । उपल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले चिसो याममा समेत प्रहरीले नागरिक लक्षित कार्यक्रम गरेकोमा गर्व गरे । प्रहरी र नागरिक नङ र मासुको जस्तै सम्वन्ध स्थापित गर्दै समाजमा हुने संम्भावित घटना न्यूनिकरण गर्न प्रहरीको कार्यसम्पादन महत्वपूर्ण हुने दाबी गरे ।
हिउँदयामको मौसम सुरु भईसक्दा समेत उपल्लो क्षेत्रका प्रहरी ईकाई यथास्थानमा रहेर डिउँटी निभाएका छन् । सीमित स्रोतसाधनका बाबजुद उपल्लो क्षेत्रका प्रहरी ईकाईले चिसो थेग्दै प्रहरीको नियमित गतिविधी सञ्चालन गरिरहेको छ । विगतका वर्षहरुमा हिउँदयामको महिना चिसोका कारण जिल्ला प्रहरी कार्यालयमा अस्थायी मर्ज गरिन्थ्यो थियो । कतिपय प्रहरी ईकाईलाई ईलाका प्रहरी कार्यालय छुसाङमा मर्ज गरिन्थ्यो । यसरी मर्ज गरिएका प्रहरी गर्र्मी लागेपछि यथास्थानमा पठाईन्थ्यो ।
यसपटक भने जिल्ला प्रहरी कार्यालय मुस्ताङले अत्यधिक चिसो बढेपनि मातहतका प्रहरी ईकाईलाई यथास्थानमै राखेको छ । यथास्थानमा रहेका प्रहरीले उत्तरी सीमानाका क्षेत्रमा नेपाली सेना,सशस्त्र प्रहरी र एक्यापसँग मिलेर संयुक्त सुरक्षा गस्ती गर्ने काम समेत गरिरहेको छ ।