यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित कालिगण्डकी नदीको तटमा विश्वकै ठुलो आकार शालिग्राम मूूर्ति निर्माण गरिंदैछ । जोमसोम बजार जोड्ने काठेपुलको केही तल अवस्थित विशाल चट्टानमा २२ फिट अग्लो शालिग्राम शिला मूर्ति कोरिन लागिएको हो ।
धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको पहिचान र शालिग्राम शीलाको महत्वको झल्काउन कालिगण्डकी नदी छेउमा अवस्थित विशाल चट्टानलाई भगवान विष्णुको स्वरुप शालिग्राम शीलाको रुपमा परिणत गर्न लागिएको हो । ललित कला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिलेश्वर महतोका अनुसार मुस्ताङको घरपझोङ स्थित जोमसोममा २२ फिट अग्लो विशाल शालिग्रामको मूर्ति कोरिन लागिएको र योनै विश्वको सबैभन्दा ठुलो आकारको शालिग्राम मूर्ति हुने दावी गर्नुभयो । ‘हामीले अहिलेसम्म १४ देखि १६ फिट सम्मका शालिग्राम मूर्ति बनाई सकेका छौं, भारत पनि यति ठुलो आकारको शालिग्रामको मूर्ति बनेको छैन , मूर्तिकला विभाग प्रमुख महतोले भन्नुभयो, यहाँको कालिगण्डकी नदीको छेउमै विशाल कडा चट्टान रहेछ, त्यसलाई हामीले शालिग्राम शीलाको रुपमा परिणत गर्दैछौं ।’
भगवान विष्णुको स्वरुप शालिग्राम कालिगण्डकी नदीमा पत्थरको रुपमा विराजमान भएर बस्ने भएकाले यहा कोरिएको शीलाग्राम मूर्तिकलाले धार्मिक पर्यटकहरुको आस्था र विश्वासलाई अझ बढी उजागर गर्नमा योगदान पु¥याउने विश्वाश गरिएको छ । यसैगरी विश्वकै ठुलो आकारको शालीग्राम शीलाको विपरित भागमा भगवान विष्णु शालीग्राम शीला माथि सुतिरहेको मूर्तिकला प्रस्तुत गरिने योजना रहेको मूर्तिकला विभाग प्रमुख महतोको भनाई छ ।
मुक्तिनाथबाट बग्ने गण्डकी नदी र दामोदरकुण्डबाट बग्ने कालिगण्डकी नदी मिश्रित पवित्र नदी कालिगण्डकीमा अवस्थित प्राकृतिक रुपमा ठिङ्ग उभिएको विशाल चट्टानमा शालिग्रामको मूर्तिकला प्रस्तुत गर्ने गरी मूर्तिकारहरुको सृजनाहरु मुखरित हुने घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गर्नुभयो । जोमसोम बजारको मध्यभागबाट बग्ने पवित्र कालगण्डकी नदीको पत्थरमा कोरिने शालिग्राम शीला मूर्तिलाई यहाँ आउने पर्यटकलाई थप आर्कर्षित तुल्याउन अध्यक्ष लालचनको भनाई छ । जोमसोम बजार रमणीय सुन्दर वातावरणमा धौलागिरि र निलगिरि हिमालको मनमोहक दृष्यहरु नियाल्दै कालिगण्डकी तटको विशाल शालीग्रामको दर्शन गर्न पाईने व्यवस्था गर्न गाउँपालिकाले यसको परिकल्पना गरेको अध्यक्ष लालचनले जनाउँनुभयो ।
भगवान बिष्णु सुतिरहेको विशाल शालीग्राम शीला रहेको स्थानमा आकर्षक पार्क निर्माण गरी पर्यटक स्थलको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
हिन्दु धर्मालम्बीहरुले शालीग्राम शीलालाई भगवान विष्णुको प्रतिकको रुपमा पुजाअर्चना गर्ने गरिन्छ । शालिग्राम शीलाको उद्गम स्थल मुस्ताङको कालिगण्डकी नदी हो । मुस्ताङमा आएका धार्मिक पर्यटकहरुले शालीग्राम शीला किनेर घरमा लगेर पुज्ने प्रचलन छ । नेपालको कालिगण्डकी नदीको तटीय क्षेत्रमा मात्रै पाईने शालीग्राम शीला पाईने गर्छ ।
मुस्ताङको घरपझोङ—४ जोमसोममा गत आईतबारदेखि घरपझोङ मूर्तिकला कार्यशाल चलेको छ । घरपझोङ गाउँपालिका र ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ पन्ध्रदिने मूर्तिकला कार्यशाला आयोजना गरिएको हो ।
मूर्तिकला कार्यशालाका लागि २१ जना मूर्तिकार र एक दर्जन बढी सहयोगी मूर्तिकारहरुले कार्यशालामा सहभागिता जनाएका छन् । मुस्ताङको जोमसोम स्थित कालिगण्डकी नदीबाट निकालिएका ढुंगाहरुमा मूर्तिकारहरुले विभिन्न स्वरुपमा कलाहरु प्रस्तुत गरिरहेको बताईएको छ । कार्यशालामा मूर्तिकारहरुले शालीग्राम शीलासहित,बुद्ध भगवान, भगवान नारायण,गुरु पद्यसम्भव,महादेव ,हिउँ चितुवा,स्याउ, बज्र लगायतका विभिन्न प्रकारका कलाहरु मूर्तिको रुपमा पस्किन लागिएको हो ।
हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक तिर्थस्थलको रुपमा समान पहिचान झल्काउने गरी मूर्तिकारहरुले आफ्ना कला प्रस्तुत गर्न थालेका छन् । समग्र हिमाली जिल्लाको धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक महत्वलाई आत्मसाथ गर्दै यहाँको जैविक विविधता लगायतको उजागर हुने बताईएको छ ।
मुक्तिनाथको दर्शन ,कोरलानाका र उपल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटकहरुको बसाई लम्याउने र पर्यटकहरुलाई यहाँको समग्र विशेषताहरुको मूर्तिकला मार्फत प्रस्फुटन गर्ने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले पहिलो पटक यसप्रकारको कार्यशाला आयोजना गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली