जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्क नजिकैको भिरालो पाखोमा निर्माण भएको पर्यटक लक्षित भारतीय धर्मशाला पछिल्लो समय प्रयोगविहिन हुँदा खण्डहर बन्दै गईरहेको छ । भारतीय राजदुतावासले निर्माण गरेको मुक्तिनाथ स्थत भारतीय धर्मशाला सरक्षण तथा व्यवस्थापन कार्यमा सरोकारवाला निकायहरुको ध्यान नपुग्दा विगत ११ वर्षदेखि अलपत्र अवस्थामा परेको हो ।
मुस्ताङको पवित्र धार्मिक स्थलमा उल्लेख्य मात्रामा भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शन गर्न आउने गर्छन् । मुस्ताङ स्थित अन्नपूर्ण सरक्षण क्षेत्र आयोजनाको वार्षिक विदेशी पर्यटकको आगमन तथ्यांक हेर्ने हो भने मुस्ताङ भित्रिएका मध्ये ८० प्रतिशत बढी भारतीय पर्यटकनै हुने गरेको देखिन्छ । भारतका चारधामको दर्शन गरेपनि मुक्तिनाथ मन्दिरको दर्शन नगरेमा धार्मिक मोक्ष प्राप्ति नहुने र दर्शन पनि अपुरो हुने भएकाले भारतीय दर्शनार्थीहरु एक पटक मुक्तिनाथको दर्शन गर्न नआई सुख्खै छैन । यसैका खातिर मुस्ताङमा भारतीय पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटनमा ठुलो योगदान पु¥याएको सर्वविदितै छ ।
छिमेकी मित्र राष्ट्र भारतको पहलमा भारतीय राजदुतावासले मुक्तिनाथ दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई लक्षित गरी सन् २००९ को डिसेम्बर १८ मा मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न आधुनिक धर्मशालाको शिलन्यास गरेको थियो । भारतीय दुतावासले २ करोड ५२ लाख लागतमा झन्डै दुई दर्जन कोठा भएको धर्मशाला ६ महिनामा निर्माण सम्पन्न गरेको थियो । भारतीय दर्शनार्र्थी लक्षित आधुनिक धर्मशालाको तत्कालिन भारतीय राजदुत राकेश सुदले सन् २०१० को जुन २० तारिखमा उद्घाटन गरेका थिए ।
मुक्तिनाथ स्थित रानीपौवा बसपार्क माथि करिव ५० मिटरको दुरीमा निर्माण गरिएको धर्मशालामा रिसेप्सन कोठा १, रिसेप्सन बैठक कक्ष १, एटेजबाथ १० ,नन एटेज ८,किचन कोठा १,डाईनिङ हल १ र सुरक्षागार्ड कोठा १ लगायतका भौतिक सरचना निर्माण गरिएको थियो । रंगिन जस्ताले छाईएको उक्त भारतीय धर्मशालामा सुद्ध शाहाकारी भोजनालय र सुविधा सम्पन्न आवासको डिजाईनमा निर्माण गरिएको थियो ।
सामान्य स्तरको आर्थिक अवस्था न्यून भएका भारतीय दर्शनार्थीलाई लक्षित गरी निर्माण गरिएको भएपनि त्यहाँ सबै खालका जोकोही दर्शनार्थीलाई खान र बस्नको व्यवस्था मिलाईएको थियो । धर्मशालाको चारैतीर दर्शनार्थीहरुको सुरक्षाका लागि कम्पाण्ड घेराबार लगाएको थियो । आरसीसी भवनको डिजाईनमा निर्मित धर्मशालाको सिलिङ प्लाई र माथि जस्ता राखिएको थियो ।
मुक्तिनाथको भारतीय धर्मशाला निर्माण भएपछि मुक्तिनाथ दर्शन गर्न जाने आर्थिक अवस्था कम भएका दर्शनार्थीले निकै सहयोग र राहत पुग्ने अपेक्षा गरिएको थियो । तर, सुरवाती चरणमा ३ वर्ष धर्मशाला सञ्चालनमा रहेपछि सन् २०१३ देखि उक्त धर्मशाला पुरै प्रयोगविहिन अवस्था छ । भारतीय राजदुतावासले तत्कालिन समयमा उक्त धर्मशाला निर्माण सम्पन्न गरी साविक जिल्ला विकास समिति मुस्ताङलाई सरक्षण तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिएको थियो ।
साविक जिल्ला विकास समितिले धर्मशाला लिजमा दिनको लागि सार्वजनिक रुपमै टेन्डर आह्वान गरेको थियो । त्यससमय वारागुङ मुक्तिक्षेत्र—१ का स्थानीय बीरबहादुर गुरुङले धर्मशाला चलाउन लिजमा लिएका थिए । उनले उक्त धर्मशाला ३ वर्ष सञ्चालन गरेर छोडे । भारतले निर्माण गरेको मुक्तिनाथ धर्मशाला सञ्चालनमा स्थानीयको असहयोगका कारण धर्मशााला सञ्चालनमा चुनौती थपिएपछि त्यससमय गुरुङले धर्मशाला चलाउन नसक्ने अवस्था रहेको भन्दै त्यसबाट पन्छिएका थिए ।
साविक जिल्ला विकास समितिको स्वामित्वमा रहेको मुक्तिनाथ भारतीय धर्मशालालाई साविक जिल्ला विकास समितिले २०६९ साल मंसिर २९ गते मुक्तिनाथ विकास समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।
मुक्तिनाथ विकास समितिलाई हस्तान्तरण भएको भारतीय सुविधा सम्पन्न आधुनिक धर्मशालालाई मुक्तिनाथ विकास समितिले पूनः सञ्चालनमा ल्याउन सकेन । मुक्तिनाथ विकास समितिले स्थानीयबासीको असहयोगका कारण मुक्तिनाथको भारतीय धर्मशालालाई सञ्चालन गर्न नसक्ने अवस्था रहेको हो । मुक्तिनाथ विकास समितिका धेरैजसो पदाधिकारी तथा सदस्यहरु छिन्नभिन्न भएको र बैठक बसेर निर्णय लिन नसक्ने अवस्थाले गर्दा धर्मशाला सञ्चालन तथा व्यवस्थापनमा अप्ठ्यारो परेको हो । मुक्तिनाथ विकास समितिले ११ वर्ष बितिसक्दा समेत मुक्तिनाथको भारतीय धर्मशाला सञ्चालनमा ल्याउन नसक्दा धर्मशालामा रहेका अधिकाँश धेरैजसो मुल्यवान सामानहरु हराईसकेको छ । धर्मशाला भवन जीर्ण बनेको छ । भवनभित्र पसेर अवलोकन गर्दा खण्डहरु जस्तै क्षेतविक्षत अवस्थामा सबै सामान छरपष्ट र काम नलाग्ने अवस्थामा देखिन्छ । मुक्तिनाथ धर्मशालाको विजोग अवस्था प्रति सरोकारवाला निकायले हालसम्म पनि कुनै पहल गरेको छैन ।
मुक्तिनाथ विकास समितिको पहलमा २०८० साउन १९ गते बसेको बैठकले मुक्तिनाथ धर्मशालालाई सञ्चालनमा ल्याउने निर्णय ग¥यो । मुस्ताङका संघीय तथा प्रदेश सांसद,स्थानीय जनप्रतिनिधि ,मुक्तिनाथ विकास समिति र विभिन्न सरोकारवाला निकायको संयुक्त बैठकले मुक्तिनाथ भारतीय धर्मशालाको संञ्चालन तथा व्यवस्थापनको जिम्मा वारागुङ मुक्तिनाथ विकास समितिलाई दिने गरी लिखित निर्णय गरिएको थियो । मुक्तिनाथ विकास समिति तथा बहुसरोकारवाला निकायले जिम्मा दिएपनि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ भारतीय धर्मशाला सञ्चालन तथा व्यवस्थापनमा कुनै चाँसो दिएन ।
लामो समयदेखि निस्क्रिय अवस्थामा रहेको मुक्तिनाथ विकास समिति १७ वर्षपछि मंसिर १६ गते समिति पूनर्गठन भएको छ । समितिको अध्यक्षमा साविक जस्तै सिडियो अध्यक्ष रहने गरी ३१ सदस्यीय मुक्तिनाथ विकास समिति पुनर्गठन गरिएको हो । समितिमा सरकारी कार्यालयका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरुलाई समावेश गरी समिति निर्माण गरिएको हो । मुक्तिनाथ विकासको नयाँ समितिले भारतीय मुक्तिनाथ धर्मशालालाई पूनः सञ्चालन तथा व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुक्तिनाथमा रहेको भारतीय धर्मशालालाई सञ्चालन तथा व्यवस्थापन गर्ने योजना रहेको जनाए । प्रजिअ भुसालले मुक्तिनाथ विकास समिति पुनर्गठन भईसकेको र अब समिति मार्फत धर्मशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेर प्रयोगमा ल्याउने आफ्नो योजना रहेको सुनाए ।‘समितिको बैठक बसेको छैन, धर्मशाला सञ्चालन गर्ने एजेण्डा पनि छ, प्रजिअ भुसालले भने, ‘ अहिल्यै यो हुन्न भन्न मिल्दैन, तर समिति धर्मशाला सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’ प्रजिअ भुसालले स्थानीय पालिका र मुक्तिनाथको होटल व्यवसायीहरुको सहयोगमा भारतीय धर्मशालालाई सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए ।
मुस्ताङमा भारत,अमेरिका र चीनको अनुदान सहयोगमा शिक्षा,स्वास्थ्य, पुरातात्विक सम्पदा लगायत विभिन्न क्षेत्रमा आर्थिक सहयोग प्राप्त हुने गरेको छ । भारतले मुस्ताङमा सडक पुल ,विद्यालय भवन र सांस्कृतिक सम्पदा सरक्षणमा योगदान दिएको छ ।
फोटो क्याप्सन ः मुस्ताङको मुक्तिनाथ रानीपौवामा भारतीय राजदुतावासले सन् २०१० मा निर्माण सम्पन्न गरेको सुविधा सम्पन्न आधुनिक धर्मशाला खण्डहर बन्दै । तस्विर ःसुन्दरकुमार थकाली
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता