स्याउ बगैचामा अन्तरबाली, कृषकलाई मनग्ये आम्दानी



जोमसोम—  मुस्ताङका किसानले स्याउ खेती मात्रै होईन स्याउ बगैँचा भित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन् । मुस्ताङका किसानले स्याउ बगैचा भित्र विभिन्न खाद्यान्न तथा तरकारी बाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ । 

मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैँचा भित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने गरेको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । मुस्ताङका किसानले स्याउ बगैँचा भित्र उवा, जौ, मकै, फापर, आलु, सिमी, बोडी, बन्दा, काउली, गोलभेडा, खुर्सानी  लगायतका हरियो सागसब्जी उत्पादन गर्ने प्रचलन रहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो । 

मुस्ताङमा उत्पादन हुने स्याउ पतझड फलफूल हो । असोज÷कार्तिकमा बगैँचाबाट स्याउ टिपिसकेपछि पात झरेर फागुन महिनासम्म स्याउको बोट उजाड हुने केन्द्र प्रमुख आत्रेयको भनाई छ । यसप्रकारका स्याउ बोटमा पात झर्ने भएकाले स्याउ बगैँचामा अन्तरबाली खेती उपयुक्त रहेको केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो । स्थानीय जातका स्याउ बगैचामा स्याउ बगैचामा अन्तरबाली लगाउन मिल्ने भएपनि उच्चघनत्वको हाईब्रिड स्याउ बगैँचामा भने अन्तरबाली लगाउन उपयुक्त नहुने केन्द्र प्रमुख आत्रेयले जनाउँनुभयो । 

मुस्ताङमा स्थानीय जातका स्याउ बगैचामा अन्तरबाली लगाउने प्रचलन सदिंयौंदेखि चल्दैआईरहेको छ । पुरानो स्थानीय जातको स्याउ बगैचामा स्याउ बोटको दुरी ५×६ मिटरको फरकमा हुने भएकाले त्यसको फरकमा विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गर्दा राम्रो हुने र यसले किसानलाई पनि दोहोरो फाईदा पुग्ने केन्द्रका कार्यालय प्रमुख आत्रेयले उल्लेख गर्नुभयो । 

मुस्ताङका किसानको मुख्य कृषि आम्दानीको स्रोत भनेको नै व्यवसायिक तथा परम्परागत स्याउ खेतीनै हो । यद्यपी मुस्ताङका किसान स्याउ खेतीमा मात्रै सीमिति छैनन् । यहाँका किसानले स्याउ बगैँचाको खाली ठाउँमा अन्य कृषि खेती अपनाएर वैकल्पिक आम्दानी लिने गरेको पाईन्छ । उपयुक्त ढंगले योजनावद्ध रुपमा स्याउ बगैचामा अन्तरबाली खेती गर्न सकेमा स्याउको भन्दा दोब्बर तेब्वर आम्दानी गर्न सकिने शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख आत्रेयले दावी गर्नुभयो । 

स्याउ बगैचा भित्र अन्तरबालीको रुपमा उवा,मकै,जौ लगाउँनु त्यही राम्रो नमानिने केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो । स्याउ बगैँचा भित्र अन्तरबाली लगाउँदा सबैभन्दा उत्तम तरकारी खेती र त्यसमा पनि कोसेबाली लगाउँदा उपयुक्त हुन्छ । कोसेबालीमा वातावरणको नाईट्रोजन माटो भित्र खिचेर राख्ने क्षमता भएको हुनाले माटोको उर्बरपन पनि बढ्छ । स्याउ बगैचमा भित्र अन्तरबाली लगाउँदा स्याउको जरा फैलिने ठाउँमा लगाउन नहुने केन्द्र प्रमुख आत्रेयको भनाई छ । स्याउको जरालाई असर पर्ने गरी अन्तरबाली लगाउँदा स्याउ बोटलाई क्षति पुर्याउन सक्ने केन्द्र प्रमुख आत्रेयको भनाई छ । स्याउ बगैँचा भित्र अन्तरबाली लगाउँदा थप मलखादको व्यवस्था र पर्याप्त सिंचाईको सुविधा हुन आवश्यक छ।यसका साथसाथै नियमित रुपमा बगैँचा निरिक्षण गरी रोग कीराहरुको ब्यवस्थापनमा पनि विशेष ध्यान दिनु पर्दछ । 

मुस्ताङको घरपझोङ गाउँपालिका ४ का किसान अजित थकालीले स्याउ बगैचा भित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोर आम्दानी लिने गरेको बताउँनुभयो । जिल्लामा खेतीयोग्य जमिन एकदमै न्युन छ, कृषकहरुले चाहेर पनि कृषि प्रणाली बृहत बनाउन सक्ने अवस्था छैन,’किसान थकालीले भने,‘ आफुसंगै भएका जग्गा उपयोग गरी स्याउ उत्पादनसंगै विभिन्न रैथाने खाद्यबाली र तरकारी लगाउन प्रचलन छ ।


प्रतिक्रिया