मुस्ताङ : जहाँ ९० प्रतिशतले लगाउँदैनन् दसैं टिका

बडा दसैं पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहने नेपालीहरु दसैं पर्व मनाउँन घर फर्किन्छन् । नवरात्रपछिको दसैं पर्वको पूर्णिणामा तिथिसम्म दसै टिका लगाउने प्रचलन छ । असत्य माथि सत्य विजय प्रतिकको रुपमा मनाईने नेपालीहरुको महान पर्व बडा दसैं हर्षउल्लाषका साथ मनाईने गरिन्छ ।

तर,देशभरनै दशै पर्वको उत्साह छाईरहँदा हिमाली जिल्ला मुस्ताङलाई दशै पर्वको उल्लाषले छोएको छैन । अधिकाशँ बौद्धमार्गीहरुको बाहुल्यता रहेको मुस्ताङमा यहाँका आदीवासी समुदाय अन्तर्गतका गुरुङ, बिष्ट र थकाली समुदायहरुले दशै पर्वमा टिका लगाउदैनन् ।  यहाँ दसैंको नवरात्र अवधिमा कुनै घर र शक्तिपीठमा पशु बली दिने प्रचलन पनि छैन ।

मुस्ताङका आदीबासीहरुले आफ्नो जातीय समुदायहरुले मनाउने ऐतिहाँसिक ,धार्मिक तथा परम्परागत सांस्कृतिक पर्व यार्तुङ, धज्याङ, तेरमी र, त्युङ्ला र तोरन्ल हर्षउल्लाषका साथ मनाउने गरिएको भएपनि दसैं पर्वमा मान्यजनमा टिका र आर्शिवाद ग्रहण गर्ने प्रचलन नभएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो ।

 दसै पर्व नेपालीहरु सबैले मनाउने प्रचलन रहेको भएपनि मुस्ताङमा ८० प्रतिशत बढी जनताले दसै पर्वमा पशु बली दिने र दसै टिका लगाउने चलन नरहेको अध्यक्ष बिष्टको भनाई छ । ‘बौद्ध धर्म शास्त्रहरुमा कुनै पनि प्राणीहरुको बली दिनु चढाउनुलाई पाप हुने जनविश्वाश छ, दसैं पर्वमा मुस्ताङीले गुम्बाहरुमा गएर बत्ती बाल्ने , स्तुती गर्ने र विभिन्न तिर्थस्थलमा पुगेर धार्मिक कार्य गर्ने गरिएको छ,’—उहाँले भन्नुभयो ।’

नेपालीहरुको महान पर्व दसैं पर्वमा टिका लगाउने प्रचलन नभएपनि यहाँका नागरिकहरुले दसैं पर्वलाई आत्मियताको पर्वको रुपमा ग्रहण गर्ने गरिएको छ । दसैं पर्वमा टिका लगाउने र पशु बली दिने कार्यक्रम नभएपनि आफन्त,ईष्टमित्र, साथीभाईहरु एक आपसमा भेला भएर दसै पर्वको शुभ—कामना आदान÷प्रदान गर्ने र मिठो खाने र राम्रो लुगा लगाउने गरी दसै पर्वलाई भावनात्मक र आत्यिम पर्वको रुपमा मनाउने गरिएको छ ।

मुस्ताङका पाँच पालिका मध्ये लोमान्थाङ,लोघकेर र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अधिकाँश नागरिकहरुले दसैंमा टिका लगाउने गर्दैनन् । यहाँको तल्लो क्षेत्र घरपझोङ र थासाङ गाउँपालिकामा भने आशिंक नागरिकहरुले मात्रै दसै टिका लगाउने प्रचलन रहेको छ ।

मुस्ताङ घरपझोङ गाउँपालिकामा —५ ठिनी स्थित कोतघरमा त्यहाँका थकालीहरुले सामुहिक रुपमा कोतघरमा पुगेर ज्येष्ठ नागरिक र मान्यवरबाट दसै टिका लगाउने प्रचलन रहेको स्थानीय निरज थकालीले जानकारी दिनुभयो । ठिनी गाउँमा स्थानीयहरुले कोतघरमा सामुहिक दसै टिका लगाउने गरिएको थकालीको भनाई छ । 

यसैगरी यहाँका थासाङ गाउँपालिका—२ कोवाङ स्थित कोतघरमा सामुहिक दसै टिका लगाउने प्रचलन रहेको थासाङ स्थित १३ गाउँका मिरमुखिया जुहार भट्टचनले जानकारी दिनुभयो । यहाँ दसै पर्वमा टिका लगाउने चाहने सर्वसाधारणलाई मिरमुखियाको हातमा टिका लगाईदिने प्रचलन रहेको मिरमुखिया जुहार भट्टचनको भनाई छ ।

 त्यसो त मुस्ताङमा बसोबार गर्ने दलित समुदाय तथा अन्य जिल्लाबाट यहाँ आई अस्थायी बसोबास गरेका जिल्ला बाहिरका नागरिकहरुले भने दसै पर्वमा टिका र आर्शिवाद लिने गरिएको पाईन्छ । यहाँ बसोबास गरेका दलित तथा गैर मुस्ताङी नागरिकहरुले हिन्दु धर्म परम्परा अनुसार मान्यजनहरुबाट दसै पर्वमा टिका लगाउने प्रचलन रहेको थासाङका मिरमुखिया भट्टचनको भनाई छ ।

यसवर्ष पनि विगतका वर्षहरु झै घरपझोङ—५ ठिनी कोतघर र थासाङ—२ कोवाङ स्थित कोतघरमा दसैको टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

 मुस्ताङको पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैंको टिका लगाउने कार्यक्रम यथावत रहेको छ । त्यहाँका पुजारी कृष्णप्रसाद सुवेदीले दसैं पर्वमा टिका लगाउन नपाएका सर्वसाधारण नागरिकहरुले पुजारी सुवेदीले टिका र आर्शिवाद दिएका छन् । दसैं पर्वमा तिर्थ गर्न मुक्तिनाथ आएका भक्तजन तथा स्थानीय नागरिकहरुलाई मुक्तिनाथका पुजारी सुवेदीले टिका लगाईदिनु भएको हो । दसैं पर्वको घटस्थापनादेखि नवरात्र अवधिसम्म मुक्तिनाथ मन्दिरमा विशेष पुजापाठ हुने गरेको मुक्तिनाथ विकास समितिका प्रतिनिधि रविन सुवेदीले बताउँनुभयो ।


प्रतिक्रिया