मुस्ताङमा अन्तराष्ट्रिय प्रथम पर्वतीय चित्रकला महोत्सव हुने

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा अन्तराष्ट्रिय पर्वतीय चित्र कला महोत्सव हुने भएको छ ।मुस्ताङको प्राकृतिक सौन्दर्यता, ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक रितिरिवाज तथा परम्परा र यहाँको जैविक विविधतालाई चित्र कलाको  माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न उद्देश्यले यही अक्टोबर १८ देखि अक्टोबर २४ सम्म एक साता प्रथम अन्तराष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना गर्ने तयारी गरिएको हो ।

 पर्वतीय पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले नेपालका केही पर्यटन व्यवसायीहरुको सक्रियतामा मुस्ताङमा प्रथम पर्वतीय कला महोत्सव आयोजना गर्ने तयारी गरिएको आयोजक समितिका संयोजक त्रिपल गुरुङले जानकारी दिए । मुस्ताङमा पहिलो पटक आयोजना हुन लागेको पर्वतीय चित्र कला महोत्सवमा आउटडोर चित्रकला कार्यशालासंगै फोसिल हन्ट एन्ड स्टोन आर्ट ,साउन्ड हिलिङ लगायत विभिन्न सांस्कृतिक तथा सांगितिक कार्यक्रम गरिने महोत्सव आयोजक समितिका संयोजक गुरुङले उल्लेख गरे । 

यस्तै, पर्वतीय कला महोत्सवमा‘ट्राभलिङ किम्फ’ रहेको उनले बताए । महोत्सव अवधिभर हरेक साँझ २ घण्टा अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले स्थानीय स्तरमा हिमाली क्षेत्रका नामी अन्तराष्ट्रिय चलचित्रहरु प्रर्दशन गरिने बताईएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको जनजिवनमा पारेको प्रत्यक्ष प्रभाव लगायतका बिषयमा मुस्ताङमा छायांकन भएका अन्तराष्ट्रिय सट चलचित्रहरु देखाईने योजना रहेको संयोजक गुरुङको भनाई छ ।

संयोजक गुरुङसहितको पर्यटनप्रेमी व्यवसायीहरुले स्वदेशी कलाकारहरुलाई सहभागी गराई यसप्रकारको कार्यक्रम ३ पटक सम्पन्न गरिसकेको छ । यसपटक अन्तराष्ट्रिय स्तरमा नाम चलेका विदेशी चित्रकारहरु सहभागी गराई मुस्ताङमा पर्वतीय कला महोत्सव संञ्चालन गर्ने तयारी गरिएको हो । हस्तकलाको माध्यमबाट मुस्ताङका पर्यटकीय गन्तब्यहरुको प्रचार÷प्रसार तथा अन्तराष्ट्रिय चित्रकारहरुलाई स्पेश दिएर मुस्ताङको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यसको परिकल्पना गरिएको आयोजक समितिका संयोजक गुरुङको भनाई छ ।

 धार्मिक कलासंस्कृति,रितिरिवाज र यहाँको मौलिकता संरक्षण तथा सम्वद्धन गर्दै यहाको पर्यटनसंग जोडिने वस्तुगत यतार्थताहरुलाई चित्रकारिताको माध्यमबाट अन्तराष्ट्रिय जगतमा मुस्ताङको ब्यापक प्रसार÷प्रसार गर्ने सोचका साथ पर्वतीय कला महोत्सवको भव्य तयारी सुरु गरिएको छ । महोत्सवमा  विद्यार्थीहरुलाई फोसिल हन्ट एन्ड स्टोन आर्ट लगायत स्थानीय स्तरमा पाईने सामाग्रीहरुलाई सृजनशीलताका माध्यमबाट चित्रण गर्ने कार्यक्रमको लक्ष्य रहेको जनाईएको छ ।

मुस्ताङमा आयोजना हुने प्रथम पर्वतीय कला महोत्सवमा विभिन्न मुलुकका अन्तराष्ट्रिय ७ देशका चर्चित चित्रकारहरुलाई मुस्ताङ भित्र्याईने छ । यस्तै, विभिन्न विधामा दक्षता हासिल गरेका ९ जना स्वदेशी चित्रकारहरुले पनि महोत्सवमा सहभागिता जनाउने छन् । पर्वतीय कला महोत्सवमा अन्तराष्ट्रिय स्तरबाट कुल ३० जना भन्दा बढीले आवेदन दिएकोमा प्राथमिकताका आधारमा  अन्तिम ७ जना विदेशी चित्रकार छनौटमा परेको संयोजक गुरुङको भनाई छ । जसमध्ये थाईल्याण्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी,पोल्याण्डबाट ईवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामफेल छेदा,ईन्डोनेसियाबाट एमी गो र ताईवानबाट छेङ हान वेन लगायत छन् ।

यस्तै, नेपालका चित्रकारहरुमा सिर्जन राजभण्डारी,एरिना ताम्राकार,,हरेराम जोजु, एनबी गुरुङ,वाङ लामा,,ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो, र आकाश गुरुङले पनि पर्वतीय कला महोत्सवमा सहभागीता जनाउने छन् । नेपाल पर्यटन बोर्ड प्रर्वद्धन साझेदारी रहेको महोत्सवको प्रायोजन ओम्स होम, रेड हाउस र ठमेल भिल्ला होटलले गरेको संयोजक गुरुङले जानकारी दिए । पर्वतीय महोत्सव आयोजनाका लागि सहयोगीको रुपमा युरोपियन युनियन,स्वीस सरकार विकास सहयोग(एसडीसी) ,दलाई ला ,यति एयरलाईन्स, शेर्पा बु्रअरी ,हाम्र्रोनिक लिबरेसन र होटल मस््रयाङ्दीले साथ दिएका छन् ।

अक्टोबर १८ देखि आयोजना हुने पर्वतीय कला महोत्सव अन्तर्गत मुस्ताङको मार्फा,ठिनी,जोमसोम र कागबेनी लगायतका स्थानमा पर्वतीय कला महोत्सवका कार्यक्रम संञ्चालन हुने आयोजकले जनाएको छ । पर्वतीयक कलासंस्कृति र मौलिकता, हिमालको सौन्दर्यता र बढ्दो अनाधिकृत भौतिक विकासले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई चित्रकारिताको माध्यमबाट उजागर गरिने जनाईएको छ । अनाधिकृत भौतिक विकासले पर्यटकको पदयात्रा खुम्चिदै गईरहेकाले पर्यटकको बसाई लम्ब्याउने र पर्यटन संम्भावनाहरुको खोजी गर्न पर्वतीयक कला महोत्सव प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

 हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धनमा योगदान दिने उद्देश्यले आयोजना गर्न लागिएको प्रथम पर्वतीय कला महोत्सव परीक्षणको रुपमा आफुहरुले लिएको संयोजक गुरुङको भनाई छ। यसपटक निकट पर्यटनकर्मीहरुको पहलमा पर्वतीय महोत्सवको तयारी गरिएको र यसको प्रतिफल अपेक्षा गरेअनुरुप सफल भएमा बर्सेनि यसप्रकारको कार्यक्रम निरन्तर अघि बढाउँदै लैजाने संयोजक  गुरुङको भनाई छ ।


प्रतिक्रिया