मुस्ताङमा हिउँदयामको चिसो घट्दै जाँदा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्न थालेको छ । मुस्ताङमा चिसो घट्दै जाँदा बेसीमा रहेका मतदाता मुस्ताङ उक्लिन थालेपछि जिल्लामा एकाएक राजनीतिक सरगर्मी ह्वात्तै बढ्न थालेको हो ।
हिउँदयामको अत्यधिक चिसो छल्न बेसीको पारिलो स्थानमा झरेका मुस्ताङका मतदाताहरु क्रमशः मुस्ताङ फर्किन थालेका हुन् । मतदाता जिल्ला फर्किन थालेसंगै जिल्लाका राजनीतिक दल र तिनका उम्मेदवारहरु पनि मुस्ताङ फर्किएका छन् । जाडो छल्न बेसी झरेका माथिल्लो मुस्ताङका केही मतदाताहरु जिल्ला फर्किसकेका छन् भने तल्लो मुस्ताङका बेसीमा रहेका धेरैजसो मतदाताहरु पनि जिल्ला फर्किसकेका छन् ।
मुस्ताङमा चिसो घटेको , मतदाता पनि जिल्ला फर्किन थालेको र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा पनि नजिकिएसंगै मुस्ताङमा उम्मेदवारी दर्ता गराएका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन प्रचार÷प्रसार अभियानले तीब्रता दिन थालेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिस्पर्धाका लागि आठ राजनीतिक पार्टीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका मध्ये पाँच वटा राजनीतिक पार्टीले निर्वाचन प्रचार÷प्रसार र मतदाता रिझाउन घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् । यहाँ एमाले,रास्वपा,उज्यालो नेपाल,राप्रपा, र नेपाली कम्युनिष्ट पार्टीले मुस्ताङमा निर्वाचन प्रसार÷प्रसार तीब्र पारेका हुन् ।
निर्वाचन प्रचारका लागि नेकपा(एमाले)ले शुक्रबारदेखि मुस्ताङमा निर्वाचन प्रचार÷प्रसार सुरु गरिसकेको ईन्द्रधारा ढाडु बिष्टले जानकारी दिनुभयो ।जाडो छल्न बेसी झरेका मतदाताहरुलाई भेटघाट कार्यक्रम सकेर मुस्ताङमा रहेका मतदाताहरुलाई भेट्न र प्रचार प्रसार गर्न जिल्ला फर्किएका उम्मेदवार बिष्टको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि बुधबारदेखि मुस्ताङमा निर्वाचन प्रचार÷प्रसार सुरु गरेको बताएको छ । सो पार्टीका उम्मेदवार ङुटुक गुरुङ टाईगरले मुस्ताङको तल्लो क्षेत्र हुँदै निर्वाचन प्रचार÷प्रसारका लागि नेपाल—चिन कोरलानाकासम्म पुगेको बताउँनुभयो । मुस्ताङका बेसीमा रहेका मतदाताहरुलाई बेसीमै भेटघाट गरी मतमाग्ने काम भएको र अब मुस्ताङमै बसेका मतदाताहरुको घरघरमा पुगेर निर्वाचन अभियान थालेको उम्मेदवार गुरुङको भनाई छ ।
यसगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. सुरेन्द्र शेरचनले पनि गतहप्तादेखि मुस्ताङमा निर्वाचन प्रचार÷प्रसार अघि बढाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बिहिबारदेखि मुस्ताङमा निर्वाचनको माहोल तताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीय चन्द्र थकाली पनि बेसीमा रहेका मतदाता भेटघाट गर्ने काम सकेर शुक्रबार मुस्ताङ फर्किएका छन् । उम्मेदवार थकालीले आईतबारदेखि मुस्ताङका मतदाताहरुले भेटघाट गर्ने प्रसार÷प्रसारको कामलाई अघि बढाउने बताउँनुभयो ।
तर, मुस्ताङमा उम्मेदवारी दिएका मध्ये नेपाली कांग्रेस, मंगोल नेशनल अर्गानाईजेसन र आम जनता पार्टीका उम्मेदवारले अझै मुस्ताङमा निर्वाचन प्रचार÷प्रसारको काम सुरु गरिसकेका छैनन् ।
मुस्ताङमा फागुन २१ गते हुने निर्वाचनका लागि बेसी झरेका मतदाताहरु निर्वाचन फर्किने मनस्थितीमा रहेका छन् । यहा कुल ३९ मतदान स्थलमा एघार हजार ३२८ जना मतदाता कायम छन् । यहाँ निर्वाचनका लागि २४० जना कर्मचारी खटाईदै छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता