माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेसींमा स्थान्तरण

उत्तरी चिनसंग सीमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा बिद्यालयहरुलाई बेसींमा स्थान्तरण गरिएको हो ।

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा बिद्यालयहरु संञ्चालनमा छन् । गाउँपालिकाका सामुदायिक र गुम्बा बिद्यालय सबै जाडो छल्न बेसीमा स्थान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु आधारभुत विद्यालय जाडो छल्न दशै अगावै बेसी झरेको र राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय छोसेर तिहार लगत्तै जाडो छल्न बेसी झरेको प्रशासन प्रमुख केशीको भनाई छ । 

लोमान्थाङको छोन्हुप झिन्जु आधारभुतमा  ५० जना, राष्ट्रिय आधारभुतमा  २० जना र दिव्यदीप माध्यमिक विद्यालयका ६२ जना विद्यार्थीहरुलाई घुम्ती कक्षा चलाउन बेसीका विभिन्न स्थानमा स्थान्तरण गरिएको प्रशासन प्रमुख केशीको भनाई छ । लोमान्थाङको दिव्य दीप माध्यमिक विद्यालयलाई पोखरा स्थित बिजयपुरमा रहेको निजी विद्यालय भवनमा स्थान्तरण गरिएको छ । छोन्हुप झिन्जु आधारभुतको पनि पोखरा हेम्जामा रहेको आफ्नै निजी भवनमा घुम्ती कक्षा चलाउन झारिएको हो । यसैगरी लोमान्थाङको राष्ट्रिय आधारभुतका २० जना विद्यार्थीहरुलाई पोखरा लेखनाथ स्थित तालचोक किमबेसीमा भाडाको भवनमा स्थान्तरण गरिएको प्रशासन प्रमुख केशीले बताउँनुभयो । 

यसैगरी लोमान्थाङ गाउँपालिका अन्तर्गतका मञ्जुश्री,निफुक नाम्डोल,पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि आफ्नै खर्चमा घुम्ती कक्षा चलाउन पोखराका विभिन्न स्थानमा रहेको प्रशासन प्रमुख केशीको भनाई छ ।

हिउँदयामको जाडो मौसममा साविक स्थानमा शैक्षिक पठन÷पाठनलाई निरन्तरता दिन कठिनाई हुने भएकाले माथिल्लो मुस्ताङका विद्यालयलाई घुम्ती कक्षा चलाउन बर्सेनि यसप्रकारको परम्परा र संस्कृति रहँदै आईरहेको छ ।

संघीय सरकारले घुम्ती विद्यालय संञ्चालन तथा व्यवस्थापन शिर्षकमा लोमान्थाङका तीन सामुदायिक विद्यालयलाई बर्सेनि शसर्त अनुदान स्वरुप प्रति विद्यालय तीन लाख पचास हजार रुपैया उपलब्ध गराउने गरेको छ । यसका अतिरिक्त साविक स्थानमा रहेको संञ्चालन गर्दा उपलब्ध हुने संघीय सशर्त वापतको हिमाली आवासीय छात्रावास  अनुदान कार्यक्रम अन्तर्गत कक्षा ४ देखि माथिका विद्यार्थीहरुलाई जनही पाँच हजार रुपैया उपलब्ध हुने सुविधा रहेको प्रशासन प्रमुख केशीले बताउँनुभयो । लोमान्थाङको राष्ट्रिय आधारभुत, झिन्जु आधारभुत र दिव्य दीप माध्यमिक विद्यालयका तल्ला कक्षाहरुलाई गाउँपालिकाले प्रति विद्यार्थी मासिक चार हजार रुपैया अनुदान दिने गरेको उहाँको भनाई छ ।

माथिल्लो मुस्ताङको लोमान्थाङ जस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत तीन सामुदायिक र दुई गुम्बा विद्यालय जाडो छल्न कार्तिक १० गते बेसीमा झरेको त्यहाँका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिनुभयो । अधिकृत न्यौपानेका अनुसार लोघेकर दामोदरकुण्डको चराङ आधारभुत चराङका १६ जना,घमी आधारभुत घमीका ५६ जना र जनज्योति आधारभुत घीलिङका ८४ जना विद्यालयलाई शिक्षण सिकाईमा निरन्तरता दिनका लागि पोखराका विभिन्न स्थानमा झारिएको हो । 

चराङ आधारभुतको पोखरा हेम्जामा ,घमी आधारभुतको पोखरा विजयपुरमा र जनज्योति आधारभुतको तनहुको शुक्लागण्डकी दुलेगौडामा स्थान्तरण गरिएको जनाईएको छ । यहाँको चराङ र जनज्योति आधारभुत विद्यालयलाई घुम्ती विद्यालय संञ्चालन तथा व्यवस्थापन कार्यक्रम शिषर्कमा प्रति विद्यालय तीन लाख ५० हजार रुपैया प्राप्त हुने शिक्षा शाखा अधिकृत न्यौपानेले बताउँनुभयो ।

यसैगरी संघीय सरकारले दिने अनुदान हिउँदको चार महिना बेसीमा घुम्ती कक्षा चलाउन बजेट अभाव हुने भएकाले सामुदायिक विद्यालयका लागि एकमुष्ट २५ लाख रुपैया बजेट गाउँपालिकाले विनियोजन गरेको अधिकृत न्यौपानेको भनाई छ ।यसैगरी लोघेकरमा तीन सामुदायिकसंगै चराङका दुई गुम्बा विद्यालय पनि जाडो छल्न बेसी झरिसकेको अधिकृत न्यौपानेले उल्लेख गर्नुभयो ।

यहाँको वारागुङ मुक्तिक्षेत्रको छुसाङ स्थित जननर्मल माध्यमिक विद्यालय गतवर्षसम्म जाडो छल्न बेसी झर्ने गरेकोमा चालु शैक्षिक सत्रमा घुम्ती कक्षाका लागि बेसी नझर्ने निर्णय भएको त्यहाँका शिक्षा शाखा अधिकृत रेखा पन्तले जानकारी दिनुभयो । तर, यहाँको कागबेनी स्थित कागछोदे गुम्बा विद्यालय भने घुम्ती कक्षा चलाउन बेसीमा स्थान्तरण भएको अधिकृत पन्तको भनाई छ ।

वार्षिक परीक्षामा एक रुपता ल्याउन घम्ती कक्षाले असहज हुने,लगातार हिउँदमा कक्षा चलाउँदा शिक्षकहरुले पाउनु पर्ने बिदा कटौती गर्न गारो हुने र संघीय सरकारले उपलब्ध गराउने अनुदान तीन लाख ५० हजारले घुम्ती खर्च धान्न नसक्ने अवस्था रहेकाले गाउँपालिकाबाटै घुम्ती कक्षा नचलाउने निर्णय भएको अधिकृत पन्तको भनाई छ ।

माथिल्लो मुस्ताङका सरकारी तथा धार्मिक गुम्बा विद्यालयहरु घुम्ती कक्षाका रुपमा निरन्तर शैक्षिक पठन÷पाठन चलिरहने छ । साविक स्थानमा कक्षा संञ्चालन गर्दा विद्याथीहरुलाई चिसोका कारण रुघाखोकी र निमोनियाले बिरामी पर्ने हुन्छ भने हिउँदमा साविक स्थानमा कक्षा चलाउँदा हिमपातको जोखिम हुने हुन्छ । त्यसो त माथिल्लो मुस्ताङमा विद्यालयका अधिकाँश अभिावकहरु जाडो छल्न र घुम्ती ब्यापारमा बेसी झर्ने परम्परा रहेकाले पनि माथिल्ला पालिकाहरुले आफ्ना विद्यालयहरुलाई बेसीमा झार्ने गरिएको हो । यसरी जाडो छल्न झरेका घुम्ती विद्यालयहरु चालु शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्र साविककै स्थानमा संञ्चालन गर्न बैशाख महिनामा माथि उक्लिने गर्छन ।

 माथिल्लो दुई गाउँपालिकाका विद्यालय घुम्तीमा झरेपनि वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरु भने हिउँदको पुस र माघ महिना हिउँदे जाडो बिदा दिने गरिएको छ । यसरी हिउँदमा बिदा भएका विद्यालयहरु फागुनको पहिलो साता संञ्चालन हुने गर्छन । यहाँका तल्ला तीन पालिकामा शिक्षकहरुलाई ४५ दिने हिउँदे बिदा र १५ दिन सट्टा बिदा गरी दुई महिना शैक्षिक क्रियाकलाप स्थगित गर्ने गरिएको छ ।


प्रतिक्रिया