तल्लो मुस्ताङका वन्यजन्तु पीडित १२ घरधुरीलाई राहत वितरण

यहाँ स्थित तल्लो मुस्ताङका वन्यजन्तु पीडित १२ घरधुरी पशुपालक किसानलाई शुक्रबार राहत वितरण गरिएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले चालु वर्ष वन्यजन्तुबाट भएको पशुधन क्षति वापतको राहत रकम सम्वन्धित पशुपालक किसानलाई हस्तान्तरण गरेको हो ।

एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोक थकालीका अनुसार चालु आ.व.को साउनदेखि बैँशाख १० गतेसम्म वन्यजन्तुबाट भएको पशुधन क्षति वापतको राहत रकम पाँच लाख २९ हजार रुपैया सम्वन्धित पीडित पशुपालक किसानहरुको बैंक खातामा जम्मा हुने गरी बैंक भौचर हस्तान्तरण गरिएको हो। चालु वर्षको नौ महिनाको अवधिमा एक्याप जोमसोम अन्तर्गत वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा गरी कुल १२ घरधुरीको ६६ वटा पशुधन वन्यजन्तुको आक्रमणबाट क्षति भएको वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक थकालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु वर्ष तल्लो मुस्ताङका तीन पालिकामा गरी चौरी ७ वटा,घोडा ३, याक १, २१ च्यांग्रा र ३४ भेडा वन्यजन्तुको आक्रमणबाट क्षति भएको छ ।

यसैगरी एक्याप जोमसोम कार्यालयका अनुसार आ.व. २०७९÷०८० मा  ३१ वटा ,आ.व. २०८०÷०८१ मा ५६ र आ.व. २०८१÷०८२ मा ८६ वटा पशुधन वन्यजन्तुको आक्रमणबाट क्षति भएको छ । एक्याप संरक्षित क्षेत्र अन्तर्गत तल्लो मुस्ताङमा वन्यजन्तुबाट क्षति भएका पशुधन वापतको राहत पीडित किसानलाई हस्तान्तरण भईसकेको जनाईएको छ । एक्याप जोमसोमले आ.व. २०७९ मा  पाँच लाख ५००, आ.व. २०८०÷०८१ मा छ लाख ८५ हजार  र आ.व. २०८१÷०८२ मा  आठ लाख छ हजार ५०० रुपैया पीडित पशुपालक किसानको खाँतामा राहत हस्तान्तरण गरेको जनाएको छ ।

एक्याप जोमसोम क्षेत्र अन्तर्गत कोवाङ,जोमसोम,ठिनी,मार्फा,मुक्तिनाथ,फल्याक,धार्काजुङ लगायतका स्थानहरुमा वन्यजन्तु आक्रमणबाट पशुचौपायाहरुको क्षति हुने गरेको पाईएको छ ।

यसैगरी मुस्ताङबाट वन्युजन्तुले पशुधनमा मात्रे होईन यहाँका किसानले उत्पादन गर्ने अन्नबालीमा समेत क्षति पु¥याउने गरेको छ । एक्याप कार्यालयका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार थासाङको घाँसा,छयो,ताक्लुङ,कुञ्जो,ठिटी,कोवाङ,नारिकोट, सौरु र सिरकुङ र घरपझोङको चिमाङ लगायतका गाउँहरुमा हिमाली कालो भालुको आतंकलले स्थानीय किसानको अन्नबाली क्षति पु¥याउने गरेको छ । एक्याप जोमसोमले थासाङ क्षेत्रका ८९ घरधुरी पीडित किसानलाई अन्नबाली क्षति भए वापत तीन लाख २९ हजार रुपैया प्रदान गरिने कार्यक्रम रहेको वरिष्ठ संरक्षण सहायक थकालीले बताउँनुभयो ।

जलवायु परिवर्तनका कारण पछिल्लो समय उच्चलेंक तथा खर्कहरुको चरनक्षेत्रमा पानीका स्रोत सुक्दै जाने,अनाधिकृत घाँस पलाउने, वन्य जटिबुटी तथा वन्यजन्तु आहारा कम हुने र वातावरणीय सन्तुलनमा समेत प्रतिकूल असर पर्दै गईरहेका कारण यसको प्रत्यक्ष असर पशुपालक किसानहरुमा पर्न गएको हो । दुर्लभ हिउँ चितुवा,चितुवाको आहारा नाउर आहारा पछ्याउदै वस्ती  नजिकै झर्न थालेपछि पशुपालन व्यवसाय असुरक्षित बन्दै गईरहेको हो ।

यसैगरी पशुपालक किसानले पशुचौपाया व्यवस्थापन गर्ने खोर र गोठ लगायत पूर्वाधारहरु मजबुद हुन नसक्दा पशु गोठ र खोरहरुमा राखिएका भेडाच्यांगा र याकचौरीमा वन्यजन्तुको जोखिम बढेको हो ।



प्रतिक्रिया