मुस्ताङका विभिन्न स्थानमा ६८ थान सीसी टिभि जडान



जोमसोम— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ६८ थान सीसी टिभि जडान गरिएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय आमनागरिकहरुको शान्ति सुरक्षा र अवैध गतिविधि रोकथाम तथा नियन्त्रणका लागि मुस्ताङका विभिन्न स्थानमा उक्त संख्यामा सीसी टिभि जडान भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोम र पुथाङ एअरपोर्टमा गरी १३ थान सीसी टिभि जडान गरेको छ ।  गाउँपालिकाले आफ्नै आन्तरिक श्रोतको रकम खर्चिएर सदरमुकामको शान्ति सुरक्षाका लागि सीसी टिभि जडान गरेको हो । 

मुस्ताङको थासाङ गाउँपालिकाले पनि बेनी—जोमसोम सडकमार्ग अन्र्तगत पर्ने मुख्य राजमार्ग सडकको सुरक्षाका लागि म्याग्दी र मुस्ताङको सीमाना स्थित प्रहरी चौकी घाँसा ,र थासाङ—३ स्थित ईलाका प्रहरी कार्यालय लेते र थासाङ—२ स्थित प्रहरी चौकी कोवाङमा गरी  २२ थान सीसी टिभि जडान गरेको छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ अवस्थित वारागुङ मुक्तिक्षेत्र—१ को वडा कार्यालयले  रानीपौवा,खिङ्गा,झारकोट र लुप्रा गाउँमा १३ थान सीसी टिभि जडान गरेको छ ।

 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पनि लोमान्थाङ बजार क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न  ८ थान सीसी टिभि जडान गरिसकेको छ । यस्तै, मुस्ताङ कारागारको सुरक्षाका लागि कारागार कार्यालयले ३ थान सीसी टिभि जडान गरेको छ ।

 यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय एक्याप जोमसोम अन्र्तगत जोमसोम र घाँसा एक्याप चेक पोष्टमा ४ थान सीसी टिभि जडान गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले कार्यालयको सुरक्षाका लागि ५ थान सीसी जडान गरेको छ । 

मुस्ताङको समग्र शान्ति सुरक्षा तथा अवान्छित गतिविधि हुन नदिन र सम्भावित घटनाको तत्काल खोज अनुसन्धानका लागि सहयोग पुग्ने उद्देश्यले विभिन्न कार्यालयहरुबाट जडान गरिएका सीसी टिभिको निगरानी सम्वन्धित स्थानका सुरक्षाकर्मीले गर्ने व्यवस्था भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । गतवर्ष मुक्तिनाथको एक होटलमा पर्यटकबाट भएकोे चोरीको घटना सीसी टिभि फुटेजबाटै पत्ता लागेको प्रहरी नायव उपरीक्षक पाण्डेयले खुलाए । 

राष्ट्रिय गौरवको निर्माणधिन बेनी—जोमसोम—कोरला सडकमार्ग बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटक आवागमन अप्रत्याशित वृद्धि भईरहेको छ । मुस्ताङका अन्य स्थानमा पनि आवश्यकता र औचित्यताका आधारमा सम्वन्धित निकायको समन्वयमा सीसी टिभिको संख्या थपिदै लैजाने प्रहरी नायव उपरीक्षक पाण्डेयको भनाई छ ।



प्रतिक्रिया