भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन


जोमसोम—नेपाल भ्रमण रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत मुस्ताङ आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथमा १०८ धारामा जलसेचन गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् ।

 भारतीय सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार बिहान ८ः४० बजे मुक्तिनाथ हेलिप्याण्डमा अवतरण गरेका थिए । सेनाध्यक्षको मुक्तिनाथ भ्रमण दलमा ४ जना महिला पनि समावेश थिए । 


भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मुस्ताङको जोमसोम स्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्चशिखर शिक्षालयका महासेनानी खेमराज शर्माले मुक्तिनाथमा स्वागत गरेका थिए । भारतीय स्थल सेनाध्यक्ष दिवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको शैनिक जनसम्पर्क निर्देशानालयले पुष्टि गरेके छ । निर्देशानालयले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताएको छ ।


भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले अरु सामान्य नागरिक जस्तै  मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् । मुक्तिनाथमा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले सहयोग पू¥याएका थिए ।


 मुक्तिनाथ मन्दिर स्थित १०८ धाराको जल शीरमा जलसेचन गरेका स्थल सेनाध्यक्ष द्विवेदीले चिसो महशुस गरेका थिए । हिउँदयाममा मुस्ताङको मौसम अत्यधिक चिसो हुन्छ । मुक्तिनाथमा चियापान गरी मुक्तिनाथको दर्शनका लागि भारतीय सेनाध्यक्ष द्विवेदीले १ घण्टा ५० मिनेट बिताएका थिए ।


काठमान्डौंबाट सैनिक हेलिकोप्टर मार्फत बिहान ८ः ४० बजे मुक्तिनाथ पुगेका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गरेर बिहान १० ः३० बजे मुक्तिनाथबाट हेलि मार्फत काठमान्डौं फर्किएका छन् ।्

 

तस्विर ः जिल्ला प्रहरी कार्यालय मुस्ताङ ।


प्रतिक्रिया