माथिल्लोे मुस्ताङ घुम्ने विदेशी पर्यटक घट्यो

सन् २०२४ को तुलनामा सन् २०२५ मा यहाँ स्थित माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या घट्न पुगेको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार सन् २०२५ मा माथिल्लो मुस्ताङमा  २२१ जना अर्थात (५.३९) प्रतिशतले विदेशी पर्यटकको संख्या घटेको जनाएको छ ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ जना विदेशी नागरिकले भ्रमण गरेका छन् । जसमध्ये फ्रान्सका ३६५ जना विदेशी नागरिकले माथिल्लो मुस्ताङको भ्रमण गरेका एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । योसंख्या माथिल्लो मुस्ताङ भ्रमण गरेका मध्ये (९.४०) प्रतिशत रहेको प्रमुख पौडेलको भनाई छ ।

यसअघि सन् २०२० मा ६२ जना, सन् २०२१ मा ३३७ जना, सन् २०२२ मा तीन हजार ११२ जना, सन् २०२३ मा तीन हजार ४८४ जना र सन् २०२४ मा चार हजार ९३ जना विदेशी नागरिकले माथिल्लो मुस्ताङको भ्रमण गरेको एक्यापको वार्षिक तथ्यांकमा उल्लेख छ ।

 एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलका अनुसार सन् २०२५ मा मुस्ताङ जिल्लामा भित्रिएका कुल विदेशी पर्यटक संख्याको अनुपातमा (२.२४) प्रतिशतले मात्रै माथिल्लो मुस्ताङको भ्रमण गरेका छन् । मुस्ताङमा अघिल्लो वर्षको तुलना गर्दा सन् २०२५ मा  २५ हजार ४०३ जना अर्थात (१८.७१) प्रतिशतले पर्यटक संख्या वृद्धि हुँदै गर्दा सन् २०२५ मा माथिल्लो मुस्ताङमा पर्यटकको संख्या घट्न पुगेको हो ।

मुस्ताङमा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिदा माथिल्लो मुस्ताङमा जम्मा  तीन हजार ८७२ जनाले मात्रै माथिल्लो मुस्ताङको भ्रमण गरेका एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाई छ ।

नेपाल—चिन उत्तरी सीमाक्षेत्रसंग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदकुण्ड गाउँपालिका समून्द्री सतहको करिव चार हजार मिटरको उचाईमा अवस्थित छ । यसवर्ष मुस्ताङमा गत भदौ २३ र जेनजी आन्दोलनको प्रभाव र मौसम प्रतिकूलताका कारण माथिल्लो मुस्ताङमा सन् २०२५ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म विदेशी पर्यटकको संख्या न्यून हुन पुगेको प्रमुख पौडेलले स्पष्ट पार्नुभयो ।

यसवर्षको पर्यटकीय याममा बेमौसमी वर्षाका कारण जोमसोम—कोरला राष्ट्रिय राजमार्ग सडक बाढी÷पहिरोका कारण दर्जनौं स्थानमा सडक अवरुद्ध भएको थियो । यसैगरी गत कार्तिक १० गतेको बेमौसमी हिमपात कारण पर्वतीय पदमार्गमा पर्यटकहरुलाई पदयात्रा गर्न समस्या र चुनौति भएका कारण स्थानीय प्रशासनले उच्चस्थानको क्षेत्रमा पदयात्रा नर्गन अनुरोध गरेको थियो । यसैका कारण माथिल्लो मुस्ताङमा सन् २०२५ को पछिल्लो ४ महिना पर्यटकहरुको उपस्थित निकै भएको उहाँको भनाई छ ।

उत्तरी कोरलानाकासंग जोडिएको माथिल्लो मुस्ताङको दुई पालिका र वारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि माथिल्लो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र भएका कारण मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये ९७ प्रतिशत विदेशी पर्यटक कागबेनी र मुक्तिनाथबाट फर्किने गर्छन । नेपाल सरकार अध्यागमन विभागले माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकहरुलाई प्रतिव्यक्ति रु. ५००अमेरिकी डलर प्रवेशआज्ञा शुल्क लिएर १० दिनका लागि अनुमति दिने गरेको थियो । यसैका कारण चर्को पर्यटन शुल्कका कारण माथिल्लो मुस्ताङमा न्यून संख्यामा मात्रै विदेशी पर्यटकहरु माथि उक्लिने गर्दथे ।

 यस कारण माथिल्लो मुस्ताङमा विदेशी पर्यटकहरुलाई चर्को रोयल्टी उठाउने नियम खारेज गर्न माथिल्लो मुस्ताङका पर्यटन व्यवसायी र जनप्रतिनिधिहरुले विरोध जनाउँदै सरकारको ध्यानाकर्ष गराउँदै आईरहेका थिए । हालै जेनजी आन्दोलनपछिको सरकारले माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकहरुलाई १० दिने प्रवेशआज्ञा शुल्क ५०० डलरलाई समायोजन गरी प्रतिव्यक्ति÷प्रतिदिन ५० डलर शुल्क उठाउने निर्णय गरेको थियो ।  सरकारको यस निर्णयप्रति माथिल्लो मुस्ताङका पर्यटन व्यवसायी र जनप्रतिनिधिहरु सन्तुष्ट नरहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।


प्रतिक्रिया