जोमसोम—मुक्तिनाथ विकास समितिले चालु वर्ष १ करोड ७० लाख रकम संकलन हुने प्रक्षेपण गरेको छ । समितिले चालु आर्थिक वर्षभरीमा मुक्तिनाथ मन्दिरमा भेटी रकम र सरकारी तथा गैर सरकारी संस्थाबाट प्राप्त अनुदान जोडेर उक्त बजेट प्रक्षेपण हुने अनुमान गरेको हो ।
समितिले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा उक्त रकम कोषमा संकलन हुने आशाा गरेको हो । चालु वर्षको साउनदेखि असारसम्ममा भक्तजनले चढाएको दान—भेटीबाट ५० लाख, कर्मचारीले उठाएको चन्दा रसिद र क्यूआरकोर्ड बाट दान गरेको भेटीदान गरी १ करोड ,सरकारी अनुदान १० लाख र गैरसकारी अनुदानबाट १० लाख गरी मुक्तिनाथ विकास समितिको कोषमा १ करोड ७० लाख रकम संकलन अपेक्षा गरेको छ ।
यसैगरी चालु आर्थिक वर्ष २०८१—०८२ मा मुक्तिनाथ विकास समितिको कोषबाट २९ लाख ३० हजार रुपैया खर्च हुनेछ । समितिको प्रस्ताविक आर्थिक प्रतिवेदन अनुसार मुक्तिनाथ विकास समितिले खटाएको कर्मचारीको पारिश्रमिक तथा तलब भत्ता वापत १५ लाख, कर्मचारी पोषाक खर्च ५० हजार,पदाधिकारी तथा कर्मचारीको दैनिक भ्रमण भत्ता खर्च २ लाख,बिद्युत खर्च २ लाख,खानेपानी खर्च २० हजार,ईन्धन खर्च १० हजार, बैठक खर्च(यातायात,आवासमा २ लाख, मसलन्द कार्यालय सामाग्री खर्च १ लाख, अन्य ईन्धन २ लाख,सरसफाई खर्च १ लाख ५० हजार र विविध खर्च १ लाख गरी २७ लाख ३० हजार खर्च हुने अनुमान गरेको हो ।
यस्तै, मुक्तिनाथ विकास समितिले चालु आर्थिक वर्षमा पुँजिगत खर्च २ लाख गर्ने अनुमान गरेको छ । समितिले फर्निचर व्यवस्थापनमा १ लाख र मेशिनरीतर्फ १ लाख रकम खर्च गर्न सकिने जनाईएको छ ।