जोमसोममा भाँसिएको अवरुद्ध सडक ५ घण्टापछि खुल्यो



जोमसोम— उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडक अन्तर्गत जोमसोममा भाँसिएको अवरुद्ध सडक ५ घण्टापछि साँझ खुलेको छ । सडक आईबार बिहान भाँसिएको थियो ।

 जोमसोमको मुख्य राजमार्ग सडकको एकसय मिटर दुरी जमिन तल भासिएको थियो । सडक भासिदा जोमसोम—मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सयौं सवारी साधन जोमसोममा अलपत्र परेका थिए । 

गौरवको सडक अन्तर्गत बेनी—जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको दुरीमा पर्ने घरपझोङ—४ जोमसोमको मुस्ताङ अस्पताल नजिकको सडक यसअघि पनि भाँसिने गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,प्रहरी,जनप्रतिनिधि र निर्माण व्यवसायीको पहलमा अवरुद्ध जोमसोम सडक खुलाईएको हो । प्रजिअ पन्तका अनुसार जोमसोममा भाँसिएर अवरुद्ध भएको सडक ५ बजेपछि संञ्चालनमा ल्याइएको बताए । उनले अवरुद्ध सडक तत्कालका लागि माटो फिलिङ गरी एकतर्फी रुपमा कामचलाउ गरिएको र पर्यटक तथा सवारी साधनको चाँप घटेपछि निर्माण व्यवसायीलाई दीर्घकालिन हुने गरी सडक स्तरोन्नति गर्न निर्देशन दिएको जानकारी दिए ।

 बेनी—जोमसोम—कोरला सडक आयोजनासंग २०७४ सालमा ठेक्का सम्झौता भएको खन्ती—जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिना अघि करिव १ सय मिटर सडक भाँसिएको थियो । त्यहाँ कालिगण्डकी नदी देखि करिव ५० मिटरतलबाटै सडक भाँसिएको थियो । भाँसिएको स्थानमा एकतर्फी रुपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाईएकोमा त्यहा फेरी पून ः सडक भाँसिन पुगेको थियो ।  

चैते दशै औसी तिथिमा दिवंगत पितृको नाममा श्राद्ध गर्ने,तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौं तिर्थयात्री सडक अवरुद्ध हुँदा जोमसोममा अलपत्र परेका थिए । सडक भाँसिएको सडक मर्मतपछि सवारी साधन गन्तब्य पुगेका छन् । 

बेनी—जोमसोम चौथो खण्डमा निर्माण कम्पनीको चरम लापारवाही र ढिलासुस्ती भएको छ । जोमसोममा निर्माण कम्पनीले पर्यटकीय सिजनका बेला सडक बनाउन थालेपछि त्यसको भाईब्रेसनको असरले सडक जोखिममा परेको छ ।  त्यहाँ रहेका केही घरहरु समेत जोखिममा परेका छन् ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकको चौथो खण्ड पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।



प्रतिक्रिया