मुस्ताङमा ७ जनाले बुझाए हातहतियार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्ला स्थित सरोकारवालाहरुलाई हातहतियार बुझाउन अनुरोध गरिएपछि मुस्ताङमा ७ जना व्यक्तिले निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बुझाएका छन् ।
यहाँ स्थित जिल्लाका पाँच वटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि स्थानीय प्रशासनसंग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजाना बुझाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निश्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्लामा रहेका ईजाजत प्राप्त हातहतियार प्रहरी कार्यालय तथा नजिकैको प्रहरी ईकाईमा बुझाउन माघ १५ गतेसम्मको समय दिईएको थियो ।
निर्वाचन सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्ला भित्र ईजाजत पत्र प्राप्त निजी हतियार बुझाउन अनुरोध गरिएकोमा हालसम्म ७ जना व्यक्तिले निजी हातहतियार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बुझाएको  जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । बुझाईएका सबै हातहतियार परम्परागत रहेको उहाँले जानकारी दिनुभयो । ‘निर्वाचन सुरक्षा प्रयोजनका लागि हातहतियार बुझाउन भनेका थियौ, यहाँ बुझाईएका हातहतियार निर्वाचन अवधिभर रहन्छ, त्यसपछि सम्वन्धि हातहतियार धनीलाई हातहतियार बुझाएको निस्साको आधारमा फिर्ता हुन्छ,’— प्रहरी निरीक्षक बस्यालले भन्नुभयो ।
 यसैगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा २३५ जना प्रहरी परिचालित हुने जनाईएको छ । यहाँ स्थित प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार सुरुवाती चरणमा ३०० प्रहरी निर्वाचनमा परिचालन गर्ने भनिएकोमा प्रहरी संख्या अपुग हुने देखिएकाले २३५ जना कायम गरिएको बताउँनुभयो ।
  निर्वाचन अवधिभर जिल्लाभरी प्रहरीसंगै निर्वाचन प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिने बताउँनुभयो । यसका लागि यहाँका प्रहरीहरुको सरुवा,बढुवा लगायत प्रक्रिया भईरहने भएकाले थप ७० जना प्रहरी जनशक्ति केन्द्रमा माग गरिएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।
योसंगै निर्वाचनमा प्रहरी र निर्वाचन प्रहरी गरी ५०१ जना सुरक्षा जनशक्ति जिल्लाभरी परिचालन गरिने भएको छ । यहाँ निर्वाचन सुरक्षाका लागि १८ माघदेखि निर्वाचन प्रहरीको अनुशिक्षण तालिम अभ्यास भईरहेको र तालिम सकिए लगत्तै जिल्ला स्थित सबै प्रहरी युनिटहरुमा खटाईने प्रहरी निरीक्षक  बस्यालले बताउँनुभयो ।
मुस्ताङका पाँच स्थानीय तहमा प्रहरीको १९ वटा युनिट रहेको र त्यहाका प्रहरी युनिटमा आवश्यकता र औचित्यताका आधारमा प्रहरी व्यवस्थापन गरेर बाँकी सबैलाई जिल्लाभर निर्वाचन सुरक्षाका लागि परिचालित गरिने योजना रहेको छ । निर्वाचन सुरक्षाका लागि प्रहरी र खटाईएका निर्वाचन प्रहरीहरुको संयुक्त गस्ती,चेकजाँचका साथै मतदान स्थलको सुरक्षा,मतदान र मतगणना नसकिएसम्म संयुक्त रुपमा खटाईने छ ।


प्रतिक्रिया