जोमसोम ।
यहाँ स्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ वटा प्रहरी ईकाई कार्यालय छन् । जसमध्ये दश वटा प्रहरी ईकाई कार्यालयहरुको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँ स्थित प्रहरी ईकाईहरु हालसम्म पनि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको भवनमा आश्रय लिईरहेका छन् ।
यहाँ स्थित जिल्ला मुस्ताङ प्रहरी कार्यालय मातहतको प्रहरी ईकाईहरुको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौतिहरु भोग्नुपर्ने बाध्यता रहिआएको छ । भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बावजुद मुस्ताङका प्रहरी ईकाईहरुले वर्षौवर्ष पुरानो परम्परागत ढुंगा र माटोले बनेको कच्ची भवनमा आश्रय लिएर कार्यसम्पादन गर्नुपर्ने अवस्था रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांक अनुसार मुस्ताङ प्रहरीका १९ वटा प्रहरी ईकाई मध्ये चार वटा प्रहरी ईकाई कार्यालय विभिन्न व्यक्तिहरुको घरमा भाडामा बस्दैआईरहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) छिरिङ किप्पा लामाका अनुसार यहाँको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित प्रहरी चौकी कागबेनी, थासाङ—२ कोवाङ स्थित प्रहरी चौकी कोवाङ, घरपझोङ—४ जोमसोम स्थित पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ—३ एक्लेभट्टी स्थित जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिहरुको घर भाडामा लिएर बसेका छन् । यहाँका भाडाको भवनमा बसेका यी प्रहरी ईकाईको कार्यालयको खर्च लागि जिल्ला प्रहरी कार्यालय मार्फत भुक्तानी गर्ने गरिएको छ ।
यसैगरी मुस्ताङ प्रहरीका १९ वटा प्रहरी ईकाई मध्ये ६ वटा प्रहरी ईकाई विभिन्न संघसंस्थाको स्वामित्वमा रहेको भवनमा बस्दैआईरहेका छन् । यहाँ स्थित माथिल्लो मुस्ताङको नेपाल—चिन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ—२ छोसेर न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दैआईरहेको छ । । सिमानाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षौवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो । यद्यपी त्यहाँ स्थित प्रहरी ईकाईका लागि नेपाल सरकारबाट १३ रोपनि जग्गा प्राप्ति भईसकेको लामो समय बितिसक्दा समेत प्रहरी ईकाईको आफ्नै भवन संरचना बन्न नसकेको हो ।
माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित छोन्हुप प्रहरी चौकी पनि संघीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीय नागरिकहरुको शान्ति सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी ईकाईका सुरक्षाकर्मीहरुलाई जीर्ण भवनमा बसेर काम गर्नु पर्दाको समस्या र चुनौति बेग्लै छ ।
माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका —५ स्थित सुर्खाङ प्रहरी चौकी त्यहाँको ढी प्रथमिक विद्यालयको भवनमा बस्दै आईरहेको छ । सोही पालिकाको लोघेकर—२ स्थित घमी प्रहरी चौकी त्यहाँको एक्यापको भवनमा बस्दैआईरहेको छ भने लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ प्रहरी चौकी सकारी विद्यालयको भवनमा बस्दैआईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित ईलाका प्रहरी कार्यालय छुसाङ आमा समुहको भवनमा बस्दैआईरहेको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी ईकाई मध्ये चार वटा प्रहरी ईकाई मध्ये ईलाका प्रहरी कार्यालय छुसाङ मात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन ईलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भईरहेको प्रहरी नायव उपरीक्षक लामाको भनाई छ ।
यहाँ स्थित मुस्ताङ प्रहरीका १९ वटा ईकाई मध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, ईलाका प्रहरी कार्यालय लोमान्थाङ, ईलाका प्रहरी कार्यालय मुक्तिनाथ र ईलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भईरहेको छ । प्रहरी ईकाई मध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
संघीयता अघि मुस्ताङका अधिकाँश प्रहरी ईकाईहरु संघसंस्थाको भवन र भाडाको घरमा बस्दैआईरहेका थिए । संघीयतापछि पछिल्लो ५ वर्षको अवधिमा ईलाका प्रहरी कार्यालय लोमान्थाङ, ईलाका प्रहरी कार्यालय मुक्तिनाथ, प्रहरी चौकी घाँसाको जग्गा प्राप्त गरी आफ्नै भवन संरचना बनेको हो ।
संघीयता अघि जिल्ला प्रहरी कार्यालय मुस्ताङको भवन पनि परम्परागत शैलीमा बनेको पुरानो भवनबाट कार्यसम्पादन हुने गरेको थियो । यहाँ जिल्ला प्रहरी कार्यालयको भवन २०७४ पछि संघीय र प्रादेशिक सरकारको सहयोगमा पक्की भवन बनेको हो ।
मुस्ताङ प्रहरी अन्तर्गत चार वटा प्रहरी ईकाईहरु पनि संम्वन्धित कार्यालयको भवनमा बस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यहाँ स्थित जिल्ला अदालत, जोमसोम विमानस्थल, कारागार ँशाखा र प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका प्रहरी ईकाई सोही स्थानमा बस्ने गरेका हुन् ।
मुस्ताङमा प्रहरीको ३१३ जनाको दरबन्दी रहेको छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २१४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले जानकारी दिनुभयो । भौगोलिक रुपले विकट मुस्ताङका दुरदराजका प्रहरी ईकाईका सुरक्षाकर्मीहरुलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ । हिउँदयाममा यहाँका अधिकाँश स्थानीय नागरिकहरु जाडो छल्न बेसी झर्ने प्रचलनले गर्दा त्यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीहरुले मानवविहीन रित्ता घरहरुको सुरक्षा गरी बस्नुपर्ने बाध्यता छ । प्रतिकूल मौसम र हिमपातको जोखिम हुने भएपनि विषम अवस्थामा समेत त्यहाँका प्रहरी सुरक्षाकर्मीले कष्ठकर रुपमा गाउँको सुरक्षामा खटिनु पर्ने अवस्था छ ।
मुस्ताङमा जिल्ला प्रहरी कार्यालयलाई चारपाङ्ग्रे सवारी साधन उपलब्ध भएपनि यहाँका अधिकाँश प्रहरी ईकाई कार्यालयलाई दुई पाङ्ग्रे सवारी साधनमा सीमित रहँदा एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्दा हावाहुरी,धुलो र चिसोले स्वास्थ्य समस्या निम्त्याउने गरेको पाईएको छ । यहाँको अतिनै विकट लोघेकर —५ स्थित सुर्खाङ प्रहरी चौकीमा एक थान मोटरसाईकल पनि नहुँदा त्यहाँका प्रहरी सुरक्षाकर्मीहरु घण्टौ पैदल हिडेर नागरिकको सेवामा खटिनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँ स्थित दुर्गम स्थानमा कार्यरत प्रहरी सुरक्षाकर्मीहरुलाई उपलब्ध सीमित राशनबाट जिवन चलाउन समेत मुश्किल पर्ने गरेको बताईएको छ । जाडो याममा प्रहरी ईकाईहरुलाई जाडो थेग्ने पर्यापत उपकरणको व्यवस्था नहुँदा कठाङ्ग्रिएर डिउटी गर्नुपर्ने हुन्छ । प्रहरीसंघ स्थानीय नागरिक सामिप्यतामा आउन नखोज्ने र मुखियाप्रथा लगायतका कारण प्रहरीलाई कानुन कार्यान्वयन गर्नमा चुनौति हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली