झोलुङे पुल जोखिममा तिब्बती शरणार्थीलाई समस्या


जोमसोम—  मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा १ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्े पुल जोखिममा परेको छ । मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याँपतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङे पुल जोखिममा परेको हो ।

 मुस्ताङको घरपझोङ गाउँपालिका—१ स्थित छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको छैरो तिब्बती क्याम्प जाने झोलुङे पुल वाल निर्माणका क्रममा जमिन चर्किन पुग्दा झोलुङ पुल जोखिममा परेको हो ।

छैरो तिब्बती क्याम्पस जाने कालिगण्डकी नदीमा निर्माण भएको पुरानो झोलुङे पुल जीर्ण हुँदा त्यस स्थानमा अर्को झोलुङे पुलको निर्माण भएको थियो । उक्त पुल पनि क्याम्पतर्फ क्षेत्रमा जमिन चर्किन पुग्दा तिब्बती क्याम्प जाने झोलुङे पुल धरापमा परेको क्याम्पका मुखिया टसी ढिन्डुकले जानकारी दिनुभयो ।

‘क्याम्पको क्याम्पतर्फको भागमा झोलुङे पुलको बिम र पुलको डिपिसी धुजाधुजा भएको छ , पुल कुनै पनि बेला झनै ठुलो क्षति हुने खतरा बढेको छ’, मुखिया टसी ढिन्डुकले भने,‘ पुलमा मान्छे हिड्न पनि जोखिम छ, यसैले पुलमा मान्छे हिड्न बन्द गरेका छौं ।’

 मुखिया टसी ढिन्डुकले तिब्बती क्याम्प जाने झोलुङे पुल जोखिममा पर्दा  क्याम्पका करिव ६० घरधुरीलाई राजमार्ग सडकमा आउजाउ गर्न समस्या परेको बताउँनुभयो । क्याम्प जाने झोलुङे पुल जोखिममा परेकाले त्यसको मर्मत सुधार वा पूननिर्माणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा निवेदन पेश गरेको मुखिया ढिन्डुकले उल्लेख गर्नुभयो ।‘ पुल जोखिममा परेकाले मर्मत सुधार गरिदिने पहलका लागि प्रशासनलाई निवेदन दिएका छौं’, उहाँले भन्नुभयो, कसले बनाईदिने हो कुन्नी ,छिटो बनाईदिए हुन्थ्यो ।’

 यता शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले तिब्बती क्याम्प जाने जोखिममा रहेको झोलुङे पुल मर्मत सुधारका लागि कार्यालयले पहल गर्ने प्रतिवद्धता जनाउँनुभयो । ‘हाम्रो कन्ट्रक्सनको कामले झोलुङे पुलमा  असर परेको छ’ कार्यालय प्रमुख आत्रेयले भने,‘ हामी जतीसक्दो छिटो झोलुङे पुललाई यथाशिघ्र मर्मत गर्नेछौं ।’

 मुस्ताङको छैरो क्याम्प जाने पुल जमिन च्यातिएर जोखिममा परेसंगै क्याम्पमा बस्ने शरणार्थीहरुलाई दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या परेको छ । अहिले पुल जोखिममा परेपछि क्याम्पका शरणार्थीहरुले छैरो गाउँ नजिकको अर्को झोलुङे पुल तरेर करिव आधा घण्टा खर्चिएर राष्ट्रिय राजमार्ग आउनु पर्ने बाध्यता रहेको छ ।


प्रतिक्रिया