मुस्ताङ भन्सारको राजश्व तीन अर्व बढी नाघ्यो

नेपाल—चीन उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयले तीन अर्व एक करोड ४४ लाख ३६ हजार रुपैया राजश्व संकलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा संञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सारले मंगलबारसम्म उक्त राजश्व संकलन गर्न सफल भएको हो ।

चीनबाट आयात÷निर्यात गरिने बालवस्तु तथा विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालयले सम्वन्धि ब्यापारीहरुले घोषणा गरेको भन्सार एजेन्ट मार्फत मालवस्तुहरुको जाँचपास गर्ने गरिएको छ । हालसम्म  ६ सय ६४ वटा मालबाहक कन्टेनरहरुको जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म  ६ सय ५७ वटा चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालवस्तुबाहक कन्टेनरको जाँचपास भएको हो ।  नेपालतर्फबाट ७ वटा मालवस्तु कन्टेनर चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताउँनुभयो । 

 कोरलानाकाबाट चीनबाट पैठारी गरिएका मालवस्तुहरुमा दसैं—तिहार लक्षित रेडिमेड लत्ताकपडा,कस्मेटिक र ईलेक्ट्रोनिक सामानहरु रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामाग्री र नेपाली उत्पादनहरु निकासी भएको भन्सार प्रमुख खड्काको भनाई छ ।

यसैगरी हालसम्म कोरलानाका हुँदै चिनबाट पैठारी गरिएका एक हजार ४९८ वटा विद्युतीय कारहरुको भन्सार जाँचपास भई गन्तब्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । 

यहाँको नेपाल—चीन उत्तरी कोरलानाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक नाकाको रुपमा संञ्चालनमा ल्याएको थियो । यसैबिच भन्सार विभागले यहाँको कोरलानाकालाई पूर्ण रुपमा संञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाईन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ । विभागले नाकालाई पूर्ण रुपमा ब्यापारिक आयात÷निर्यातलाई सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो ।

 नाका पूर्ण रुपमा संञ्चालनमा आएपनि बाह्रै महिना यहाँको नाकाबाट आयात÷निर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौति हुने भन्सार प्रमुख खड्काले बताउँनुभयो । कोरलानाका ४६१० मिटरको अग्लो उचाईमा रहेकाले ढुवानीका साधनहरु चिसोले ईन्धन जमेर स्टार्ड नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाई छ ।

 कोरलानाकालाई बाह्रै महिना एकै नासले संञ्चालन गर्न सडकको अवस्थामा सुधार र कोरलानाकामा आवश्यक पूर्वाधारहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औल्याउँनुभयो ।

 यसअघि यहाँको कोरलानाका वि.स. २०८० कार्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुल्ला गरिएको थियो । त्यसबेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकहरुका लागि नाका बाह्रै महिना खुल्ला भएको सन्देश दिएको थियो । कोरलाबाट नेचुङ—लिजी सम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिकहरु चीन प्रवेश गर्न पाउँने व्यवस्था गरिएको हो ।


प्रतिक्रिया