संरक्षणको पखाईमा मुस्ताङको सेकुङ ताल

जोमसोम—  मुस्ताङको थासाङ गाउँपालिकामा अवस्थित सेकुङ ताल संरक्षणको पर्खाईमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिदा मुस्ताङको थासाङ गाउँपालिका—२ स्थित सेकुङ तालको सौन्दर्यतामा प्रतिकुल असर पुगेको छ । समून्द्री सतहको करिव ७ सय मिटरको अग्लो उचाईमा अवस्थित सेकुङ ताल एक हिमताल अन्तर्गत पर्दछ ।

 धौलागिरि हिमालको आईसफलबाट रसान हुने पानीको स्रोतले सेकुङ ताल बनेको हो । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्गबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार÷प्रसार नहुँदा पर्यटकीय दृष्ट्रिकोणले ओझेलमा पर्न थालेको छ । गोलाकार आकारको तालको क्षेत्रफल करिव १ सय ५० मिटर दुरीमा फैलिएको छ । यतिबेला थासाङ गाउँपालिकाको सेकुङ तालको पानीको सतह निकै कम छ । पानीको आशिंक श्रोत रहेपनि तालमा पानी जम्मा नहुँदा तालमा पानीको सतह घटेको हो ।

 थासाङ गाउँपालिका—२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाईएको दावी गरे । तर, हाल ताल स्तरोन्नतिका लागि स्थानीय स्तरमा कुनै काम भएको देखिदैन । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वद्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि थासाङ गाउँपालिकाले त्यसतर्फ ध्यान दिन नसकेको कतिपयको बुझाई छ । केही वर्षअघि सेकुङ तालमा पानी सतह आवश्यकता अनुसार भण्डारण गरिएको भएपनि यतिबेला तालमा पानीको सतह आधा मात्रै देख्न सकिन्छ । तालमा पानीको जम्मा नभएकै कारण सेकुङ ताल अवलोकन गर्न जाने कतिपय पर्यटक खिन्न हुने गरेको पाईएको छ ।

सेकुङ तालसम्म जोड्ने गरी बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएको भएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा त्यहाँ सम्म पुग्न सवारी साधनलाई निकैनै सास्ती हुने गरेको छ । संघीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति नहुँदा सवारी साधन माथि उक्लिन समस्या पर्ने गरेको छ ।

 थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाध निर्माण गरेको थियो । तर, एक्यापले बाध निर्माण गरेपनि तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुंगा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माण गरेको जानकारी दिनुभयो ।

 मुस्ताङको प्राकृतिक सौन्दर्यताले भरिएको स्थानमा अवस्थित सेकुङ तालमा निलगिरि हिमालको प्रतिबिम्व देख्न सकिन्छ । धौलागिरि हिमालको काखैमा अवस्थित सेकुङ ताल राष्ट्रिय राजमार्ग नजिकै भएर पनि पर्यटकीय हिसाबले ओझेलमा परेको हो । सेकुङ ताल पर्यटकीय हिसाबले मात्रै होईन धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण स्थान रहेको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनको भनाई छ । तालमा सदिंयौ वर्षदेखि स्थानीयले प्रकृति पुजा गर्दैआईरहेको जानकारी दिनुभयो । बर्सेनि सेकुङ तालमा हिमपहिरोको जोखिम हुने,बाढी पहिरो र सुख्खा खडेरी हुँदा सेकुङ तालमा धार्मिक पुजा गर्ने प्रचलन विद्यमान रहेको वडाध्यक्ष गौतम शेरचनको भनाई छ ।

 अग्ला अग्ला सल्ला र धुपीका बुट्यान रहेको सेकुङ ताल आसपासका क्षेत्र प्राकृतिक तथा जैविक विविधताले महत्वपूर्ण स्थान रहेको वडाध्यक्ष शेरचनले उल्लेख गर्नुभयो । सेकुङ ताल क्षेत्रबाट वन्यजन्तु र विभिन्न पंक्षिहरुको क्रिडा स्थल पनि हो । त्यस क्षेत्रमा हिमचितुवा,चितुवा,मृग ,कस्तुरी,घोरल,थार,स्याल,बनबिरालो घोरल लगायतका वन्यजन्तुको बासस्थान रहेको वडाध्यक्ष शेरचनले जनाउँनुभयो । यसैगरी सेकुङ ताल आसपासमा  डाँफे,मुनाल,कस्तुरी,कालिज,च्याखुरा र ठिकुरी लगायतका पंक्षिहरुको बासस्थान रहेको वडाध्यक्ष शेरचनको भनाई छ ।

 प्राकृतिक खाद्य पदार्थको खानी समेत रहेको सेकुङ ताल माथिको लेंकमा वन्य जटिबुटी यार्सा गुम्बा, निरमसी,जटामसी,पाँच औले पाईने गर्छ । यसैगरी त्यसक्षेत्रमा  प्राकृतिक खाद्य पदार्थ बन टुसा,च्याउ,बन लसुन र साग लगायतका वनस्पती पाईने वडाध्यक्ष शेरचनले जानकारी दिनुभयो ।

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ र कोरलानाका पुगेर फर्किने पर्यटक यसस्थानमा केही मिनेटमै सजिलै पुग्न सक्छन् । तर, प्राकृतिक सौन्दर्यताले भरिएको सेकुङ खर्कमा अवस्थित यस तालको बिषयमा मुस्ताङ भ्रमण गर्न आउने पर्यटक अनविज्ञ छन् ।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिह लालचनले सेकुङ ताल पर्यटकीय तथा प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने सुझाए ।  अध्यक्ष लालचनले सेकुङ तालमा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको स्थान भएको यसको सरक्षण, सम्वद्धन र प्रचार÷प्रसारमा ध्यान दिनसकेमा पर्यटकको संख्या वृद्धि हुने दावी गर्नुभयो ।


प्रतिक्रिया