जोमसोम ।
यहाँ स्थित मुस्ताङ कारागार जोमसोममा थुनुवा कैदी बन्दी र सुरक्षाकर्मी एउँटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदी बन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । त्यहाँका एउँटै कारागार भवनमा थुनुवा कैदी बन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या र चुनौतिहरु देखा पर्ने गरेका छन् ।
आधा शताब्दी भन्दा धेरै पुरानो यहाँको कारागार भवन ढुंगा र माटोले बनेको छ । भवनको छतमा यहाँको सख्खर माटो बिच्छ्याएको छ । एउँटै भवनमा कैदी बन्दी र सुरक्षाकर्मीको आवास स्थान रहेकाले त्यहाँका सुरक्षाकर्मीलाई निकै समस्या पर्ने गरेको पाईएको छ । २०३७ सालमा स्थापना भएको मुस्ताङ कारागार भवनको आवश्यक भौतिक संरचना निर्माण नहुँदा त्यहाँ बस्ने कैदी बन्दी र सुरक्षाकर्मीले सास्ती भोग्न बाध्य छन् । हाल कारगार भवनमा पानी चुहिन थालेपछि जस्ताले छाईएको छ । त्यही कारागार भवनमा सुरक्षाकर्मी मात्रै होईन त्यहाँको प्रशासनिक कर्मचारी समेत बस्ने गरेका छन् । धेरै पहिला बनेको ढुंगा र माटोले निर्मित मुस्ताङ कारागारको जीर्ण भवन स्तरोन्नति नहुँदा कैदी बन्दी,सुरक्षाकर्मी र त्यहाँका काम गर्ने कर्मचारीहरुलाई समस्या पर्ने गरेको छ । पछिल्लो समय मुस्ताङमा समेत वर्षा हुने क्रम बढेकाले त्यहाँको कारागार भवन पछिल्लो समय असुरक्षित महशुस गरिएको छ ।
मुस्ताङ कारागारमा ८ जना कर्मचारीको दरबन्दी छ । यहाँ एक जना कारागार प्रशासक, एक जना सहलेखापाल,एक जना स्वास्थ्यकर्मी, एक जना खरिदार,एक जना सहायक कम्प्युटर अपरेटर र तीन जना कार्यालय सहयोगीको दरबन्दी छ । यहाँका कुल दरबन्दी मध्ये कारागार प्रशासक, स्वास्थ्यकर्मी, खरिदार र एक जना कार्यालय सहयोगीको पद रिक्त छ । यहाँ कार्यरत सहायक कम्प्युटर अपरेटको पनि सरुवा भईसकेकाले सो पद पनि रिक्त हुँदैछ । यहाँको कारागारमा कारागार व्यवस्थापन विभागले दरबन्दी अनुसार प्रशासनिक कर्मचारी पदपुर्ती गर्न नसक्दा कारागार व्यवस्थापनमा समस्या भईरहेको छ ।
यसैगरी यहाँका मुस्ताङ कारागारमा एक जना प्रहरी बरिष्ठ नायब निरीक्षकको कमाण्डमा ११ जना सुरक्षाकर्मी खटाईएको छ । यहाँको कारागारमा कुल कैदी बन्दीको क्षमता १५ जनाको रहेको छ । हाल यस कारागारमा २२ वर्षदेखि ६८ वर्ष उमेर समुहका १२ जना कैदी बन्दी रहेको कारागारका निमित्त प्रशासक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
कारागार निमित्त प्रमुख तिमिल्सिनाका अनुसार कारागारमा सुरक्षाकर्मीको बेग्लै आवास भवन नरहेको, कारागारमा चाहिने सवारी साधन नभएको, खानेपानीको समस्या रहेको, कारागारको पर्खालको (ब्राउन्ड्री) मजबुत नभएको , कारागारमा पानी चुहिने समस्या रहेको र कैदी बन्दीलाई स्वास्थ्य उपचार तथा अदालतमा म्याद थप गर्न लैजादा समस्या पर्ने गरेको छ ।
यहाँको कारागार भवन जीर्ण र साँघुरो नहुँदा कैदी बन्दीहरु निस्सासिएर बस्नु परेको त्यहाँका कैदी बन्दीहरुको दुःखेसो छ । साँघुरो कोठामा धेरै संख्यामा कैदी बस्नु पर्ने र दिउँसो साँघुरो हट रुपमा दिन कटाउनु पर्ने भएकाले कारागार व्यवस्थापन मापदण्ड अनुसार कैदी बन्दीको सामान्य मानव अधिकारलाई सम्वोधन गर्नुपर्ने त्यहाँका कैदी बन्दीको आवाज छ । त्यसो त त्यहाँका कैदी बन्दीले कारागार प्रशासनसंग सरुवा माग्दा समेत नपठाईदिएको गुनासो व्यक्त गरेका छन् ।
त्यहाँका कैदी बन्दीहरुले कारागारको भौतिक संरचना र भवन संरचनालाई बलियो बनाएर कारागारको कम्पाण्ड भित्र कैदी बन्दीले खुला आकाशको हावापानी अनुभव गर्ने वातावरण बनाईदिन अनुरोध गरेका छन् । त्यसो त यहाँ कारागारमा कैदी बन्दीलाई निगरानी गर्ने सुरक्षा पोस्ट (बुर्जा) समेत बनेको छ । कारागार भवन र पर्खाल ब्राउन्ड्री होचो भएकै कारण कैदी बन्दीलाई दिउँसो बाहिर कम्पाण्डमा ल्याउन सक्ने अवस्था नरहेको कारागारका निमित्त प्रशासक तिमिल्सिनाले उल्लेख गर्नुभयो ।
पछिल्लो समय यहाँको कारागार वरिपरी तारबारसहित ७ मिटर अग्लो पल्म कंक्रिट वाल लगाईएको छ । यहाँको कारागार मापदण्ड अनुसार १२ फिट उचाईको मजबुद आरसीसी पर्खाल निर्माण हुनुपर्ने हुन्छ ।
पछिल्लो समय यहाँका कैदी बन्दीलाई पर्यटन तथा उद्योग कार्यालय र घरपझोङ गाउँपालिकाको सहयोगमा सिलाई कटाई तालिम प्रदान गरिएको छ । तालिमले केही हदसम्म सीप सिकाईमा टेवा पुगेको निमित्त प्रशासक तिमिल्सिनाले बताउँनुभयो । यसैगरी कारागारका कैही कैदी बन्दीले मोडा बुनेर आयआर्जन गरिरहेको उहाँको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली