मुस्ताङका किसानलाई रैथाने बाली थन्क्याउने चटारो

जोमसोम । मुस्ताङका किसान यतिखेर रैथानी बाली थन्क्याउन चटारो चलेको छ । तल्लो मुस्ताङका तीन पालिकामा मंसिर महिनामा रैथाने बाली जौ छरेर जेठको दोस्रो हप्ताबाट तेस्रो हप्तासम्म रैथाने बाली जौ थन्क्याउने प्रचलन छ ।

जौ बाली उवा जस्तै एउँटै प्रजातीको रैथानेबाली हो । समून्द्री सतहको दुई हजार मिटरको अग्लो उचाईदेखि चार हजार मिटरसम्मको उचाईमा उवा जस्तै जौ खेती गर्ने गरिएको छ । जौ र उवा  हिमाली क्षेत्रको दुर्लभ रैथाने खाद्यबालीको रुपमा लिने गरिन्छ । हेर्दा दुरुस्तै देखिने उवा र जौ बालीको उचाई समान हुन्छ । सामान्यतया उवा भन्दा जौ बालीको बालाको झुप्पोमा केही काडेदार प्रकृतिको बढी हुन्छ । सामान्यतया उवा र जौ बालीको औसत लम्बाई १२० से.मी सम्म हुन्छ । जौ र उवा बालीको डाँढ सुरुसुरुमा हरियो हुने रंग हुने र बाली पाक्दै जान थालेपछि हल्का पहेलो रंगको हुने गर्छ ।

मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका किसानले रैथाने बाली जौ खेती अपनाउँदै आईरहेका छन् । यहाँका किसानले उवा र जौ खेती व्यवसायिक प्रयोजनका लागि नभई परम्परागत रुपमा घरायसी प्रयोजन र विभिन्न चाडपर्वमा उपयोग गर्न जौ तथा उवा खेती गर्दैआईरहेको पाईन्छ ।

मुस्ताङका किसानहरु प्रविधिको पहुँचमा जोडिन नसक्दा परम्परागत रुपमा अपनाउँदै आईरहेको रैथानी बाली उवा र जौ खेती निकै खर्चिलो र झन्झटिलो बनेको छ । किसानले जौ र उवा बाली धन्क्याउने विधि र प्रक्रिया समान एउँटै हुन्छ । मुस्ताङका कतिपय किसानले जौ र उवा खेतमै घरेलु उपकरण हसियाले काटेर बालासंगै खेतमा तीनदिनसम्म सुकाउने गर्छन । कतिपयले खेतबारीमै काटेर जौ र उवाको बाला फलामको काडेदार घरेलु उपकरण (सोबाङ) मा कोरेर छुट्याउँछन् ।

 जौ र उवाको पराल पशुचौपायाका लागि घाँसको रुपमा खुवाउन प्रयोग गरिन्छ । उवा र जौ को केस्रालाई घाममा सुनाएर घरमा लगेर थन्क्याउने प्रचलन छ । मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमका किसान राजेन्द्र शेरचनले जौ बाली कार्तिक÷ मंसिरमा छरेर जेठमा थन्क्याउने प्रचलन रहेको बताउँनुभयो । ‘जौ र उवा बाली हेर्दा उस्तै उस्तै खालको हो, यहाँ जौ छरे लगत्तै उवा छर्ने गरिन्छ’, किसान शेरचनले भन्नुभयो,‘ जेठको दोस्रो हप्ता जौ बाली र असारको पहिलो हप्ता उवा बाली थन्क्याउने प्रचलन छ ।

हिउँदेबालीको रुपमा रहेको मुस्ताङको रैथानेबाली उवा र जौ पाकेर थन्क्याएपछि बर्खेबालीको रुपमा मकै,फापर र सिमीबोडी लगाउने प्रचलन रहेको किसान शेरचनको भनाई छ । उपल्लो मुस्ताङमा बर्सेनि एक बाली हुने भएपनि तल्लो मुस्ताङमा दुईबाली खेती गर्ने प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो ।

मुस्ताङमा अपनाउँदै आईरहेको रैथानेबाली जोगाउन समस्या परेको स्थानीय किसान अजित थकालीले बताउँनुभयो । परम्परागत रुपमा उवा र जौ खेती गर्दा बढी झन्झटिलो र खर्चिलो भएकाले यहाँका किसानले परम्परा धान्नका लागि मात्रै उवा र जौ खेती गर्ने गरेको किसान थकालीको भनाई छ । यहाँको सदिंयौ वर्ष पुरानो रैथाने खाद्यबाली उवा  र जौ खेतीको संरक्षण गर्न सरकारले प्रविधिमा जोड्नुपर्ने बताउँनुभयो ।‘ यहाँका आशिंक किसानले मात्रै कृषि यान्त्रिकीकरण उपरकण अनुदानमा पाएका छन्, यो सबैको पहुँचमा छैन’, कृषक थकालीले भन्नुभयो, किसानलाई उवा , जौ काट्ने रिफर र केस्रा छुट्याउने थे्रसर मेशिन अनुदान सहुलियतमा उपलब्ध गराईनुपर्छ ।’

मुस्ताङको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले यहाँको रैथाने बाली जोगाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताउँनुभयो । रैथाने बाली जोगाउन किसानलाई प्रोत्साहन गर्ने,अनुदान र तालिमहरुको व्यवस्था गर्ने गरिएको कृषि शाखा अधिकृत थकालीको भनाई छ । मुस्ताङमा पर्यटनका साथै स्याउ र आलु खेतीबाट मनग्ये आम्दानी हुने भएकाले यहाँका किसानले उवा र जौ खतीमा कम ध्यान दिने गरेको उल्लेख गर्नुभयो ।

 मुस्ताङमा उत्पादन हुने रैथाने बाली उवा र जौ पाषिलो,स्वादिलो र धार्मिक रुपमा प्रयोग हुने गरेको पाईएको छ । यहाँ किसानले उत्पादन गर्ने जौ र उवाको घरेलु मदिरा उत्पादनदेखि उवा र जौ भुटेर सातु बनाएर खाने प्रचलन छ । पछिल्लो समय यहाँ उत्पादन हुने जौ र उवाको पिठो बेकरी उद्योगमा समेत प्रयोग हुन थालेको किसानहरु बताउँछन् ।


प्रतिक्रिया