अस्पताल जाने सिधा सडक खोलिंदै

मुस्ताङ,२८, साउन ।

 हिमाली जिल्ला मुस्ताङको एक मात्रै २५ शैयाको प्रदेश अस्पताल जोमसोम जाने अवरुद्ध सिधा सडक तीन वर्षपछि खोलिंदै छ । घरपझोङ गाउँपालिका,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय, अस्पताल प्रशासन लगायत विभिन्न सरोकारवाला निकायहरुको संयुक्त  पहलमा कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले बिहिबारदेखि जोमसोम स्थित प्रदेश अस्पताल जाने  अवरुद्ध सडक सहज बनाउन थालेको हो ।

 कोरला मुख्य सडकमार्गदेखि प्रदेश अस्पताल जाने साविक सडक सडक स्तरोन्नतिका कारण ग्रेड डाउन भएसंगै विगत तीन वर्षदेखि अस्पताल जाने सिधा सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । अस्पताल जाने मुल सडक अवरुद्ध भएसंगै उक्त सडकको करिव ५० मिटर माथिबाट वैकल्पिक सडक प्रयोगमा ल्याएको थियो । तर, अस्पताल जाने वैकल्पिक सडक साँघुरो र टर्निङ भएका कारण अस्पतालमा बिरामी लिएर जाने एम्बुलेन्स,अस्पताल व्यवस्थापन र सेवाग्राहीहरुलाई निकै असहज भएको थियो ।

 कोरलानाका जोड्ने खन्ती—जोमसोम निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द भएको र निर्माण कम्पनीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन खारेज गरेकाले प्रदेश अस्पताल जाने सडक निर्माण गर्न सहज भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । आयोजनाले नयाँ ठेक्का मार्फत पुथाङ एयरपोर्ट देखिनै ग्रेड मिलान गरी अस्पताल जाने सडकलाई थप स्तरीय तुल्याउने योजना रहेको प्रमुख शर्माको भनाई छ ।

‘तत्कालका लागि लामो प्रयासपछि सहमति जुट्यो, हाललाई काम चलाउको रुपमा अस्पताल जाने सडक बनाउँछौं, प्रमुख शर्माले भन्नुभयो, नयाँ ठेक्का लगाउँदा अस्पतालको बाटोलाई पनि समेट्ने छौं ।’ हाललाई मुल सडकबाट दुईतर्फी वाल लगाएर सवबेश निर्माण गरी अस्पतालको बाटो सहज बनाईने उहाँले जानकारी दिनुभयो ।

 आयोजनाका अनुसार जोमसोम—कागबेनी सडकमा काम गरिरहेको निर्माण कम्पनी मार्फत तीनदिन भित्र सक्ने गरी अस्पताल जाने सडक खोल्न लागिएको हो । योसंगै लामो समयदेखि मुस्ताङको प्रदेश अस्पताल जाने सडक पहुँचको समस्या समाधान हुने भएको छ ।

प्रतिक्रिया