कोरलानाकासहित सोह्र सीमा स्तम्भको नालीबेली

जोमसोम ः

उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग जोडिएका सोह्र वटा सीमा स्तम्भ पर्दछन् । जसको दुरी एक सय ३६ किलोमिटर छ । नेपाल—चिन उत्तरी सीमा क्षेत्र अन्तर्गत उपल्लो मुस्ताङसंग सोह्र वटा सीमा स्तम्भ अवस्थित रहेको छ ।

मुस्ताङको उत्तरी कोरलानाका अन्तर्गत रहेका स्रोह वटा सीमा स्तम्भ मध्ये साना स्तम्भ ९ वटा र मझौला सीमा स्तम्भ ७ वटा रहेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म अन्तर्गत सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट(बीओपी) नेचुङले जनाएको छ । नेपाल—चिन उत्तरी सीमाक्षेत्र अन्तर्गत उपल्लो मुस्ताङसंग सीमाना जोडिएका मध्ये  १८,१९,२०,२५,२६,२८,२९, ३१ र ३३ नं. साना खालका सीमास्तम्भ रहेको छ ।

 यसैगरी  २१, २२,२३,२४,२७,३० र ३२ नं. मझौला सीमा स्तम्भ अवस्थित रहेको सशस्त्र प्रहरी बोर्ड आउट पोस्ट (बीओपी) नेचुङका ईञ्चार्ज प्रहरी निरीक्षक विष्णुहरी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङसंग सीमाना जोडिएका सीमा स्तम्भ मध्ये १८ नं. देखि २३ नंं सम्म डोल्पातर्फ पर्छ भने २५ नं. सीमा स्तम्भदेखि ३३ नंं सीमा स्तम्भसम्म मनाङतर्फ अवस्थित रहेको बीओपी ईञ्चार्ज थापाले उल्लेख गर्नुभयो ।

 मुस्ताङसंग सीमाना जोडिएको नेपाल—चिन २४ नंं मझौला सीमास्तम्भ त्यहाँको ट्रान्जिट प्वाईन्ट रहेको सशस्त्र प्रहरी निरीक्षक थापाले जनाउँनुभयो । २४ नंं सीमा स्तम्भ नेपाल—चिन प्रवेश बिन्दु भएकाले चिनले आफ्नो भूमीमा भन्सार अध्यागमन लगायतका भव्य भौतिक संरचना निर्माण गरेको छ । नेपालतर्फ सुरक्षा निकाय र अध्यागमन कार्यालयका लागि प्रिफाईप कन्टेनर भवन स्थापना गरिएको छ । यहाको २४ नंं सीमाक्षेत्रको दशगजा हुँदै नेपालतर्फ उपल्लो मुस्ताङीले चिनको भूमी लिग्चेमा पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गर्ने गर्छन ।

 मुस्ताङसंग सीमा स्तम्भ जोडिएका कुल सोह्र वटा सीमा स्तम्भ मध्ये पाँच वटा सीमा स्तम्भको उचाई पाँच हजार मिटर भन्दा माथि रहेको जनाईएको छ । यहाँको सीमा स्तम्भ मध्ये डोल्पातर्फ  १८ र १९  मनाङतर्फ ३१,३२ र ३३ नंं सीमास्तम्भको उचाई पाँच हजार भन्दा माथि रहेको बीओपी नेचुङका ईञ्चार्ज थापाले उल्लेख गर्नुभयो । नेपाल—चिन मुस्ताङ जिल्लासंग जोडिएका सोह्र वटा सीमास्तम्भ मध्ये सबैभन्दा बढी १८ नंं सीमास्तम्भको उचाई पाँच हजार १८० मिटर अग्लो स्थानमा पर्छ । यसैगरी सबै भन्दा कम उचाईको सीमा स्तम्भ कोरलानाकाको दशगजा क्षेत्रको २४ नंं सीमा स्तम्भ हो । जसको उचाई चार हजार ६१० मिटर छ ।

डोल्पातर्फ १८,१९ र २० साना र २१,२२ र २३ मझौला गरी ६ वटा सीमा स्तम्भ रहेको छ । यसैगरी मनाङतर्फ २५,२६,२८,२९,३१ र ३३ नं. साना सीमा स्तम्भ रहेको छ भने  २७,३० र ३२ नं सीमा स्तम्भ गरी ९ वटा सीमा स्तम्भ रहेका छन् । नेपाल —चिन मुस्ताङ जिल्लासंग जोडिएका सबै सीमास्तम्भको दुरी पाँचदेखि दश किलोमिटरको दुरीमा रहेको छ ।

नेपाल—चिन सीमाक्षेत्र अन्तर्गत यहाँको कुल सोह्र वटा सीमास्तम्भ मध्ये सात वटा सीमास्तम्भमा सडकको पहुँच स्थापित भईसकेको छ । नेपाल—चिन डोल्पातर्फ २१,२२,२३ र  मनाङतर्फ २६,२७,२८ र २९ नंं सीमा स्तम्भसम्म सडकको पहुँच पुगेको बीओपी नेचुङले बताएको छ । बाकी नौ वटा सीमा स्तम्भको सडक पहुँच नरहेको जनाईएको छ । सडकको पहुँच नपुगेका सीमा स्तम्भमा पैदलमार्गबाट सीमा गस्ती तथा अनुगमन गर्नुपर्ने बाध्यता रहेको छ । मुस्ताङसंग सीमाना जोडिएका सीमा स्तम्भ मध्ये ३२ र ३३ नं. सीमा स्तम्भ भौगोलिक विकट स्थानमा रहेको जनाईएको छ ।

 नेपाल—चिन उत्तरी कोरलानाका अन्तर्गत पर्ने सबै सीमा स्तम्भहरुको संयुक्त अनुगमन तथा सीमा गस्ती नेपाल —चिन आपसी समन्वय र समझदारीमा हुँदैआइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले यसप्रकारको संयुक्त गस्ती तथा अनुगमन आपसी समझदारीमा तोकिएका सीमा स्तम्भ हुँने गरेको बताउँनुभयो ।

यसैगरी उत्तरी कोरलानाका स्थित सशस्त्र प्रहरी बोर्ड आउट पोस्ट (बीओपी)का सुरक्षाकर्मीले हप्तैपिच्छे प्रत्येक सीमा स्तम्भहरुको आलोपालो सीमा गस्ती गर्ने गरेको जनाएको छ । यसका अलवा आन्तरिक सीमा सुरक्षा गस्तीमा नेपाल प्रहरी र एक्याप समेतको समन्वयमा सीमा गस्ती हुँने गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ । यसैगरी प्रमुख जिल्ला अधिकारीको अगुवाईमा नेपाल—चिन आपसी हित र द्धिपक्षिय सम्वन्धका बिषयमा अन्तरदेशीय बैठक समेत हुने गरेको प्रजिअ भुसालको भनाई छ ।

 नेपाल—चिन उत्तरी कोरलानाका स्थित मुस्ताङतर्फ रहेका  र सबै सीमा स्तम्भहरुको भौतिक अवस्था,सीमा सुरक्षा, सीमा स्तम्भहरुको यकिन गर्ने, सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अवान्छित गतिविधि, मानव तस्करी,चोरी शिकारी,सीमा अपराध नियन्त्रण लगायतका बिषयमा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)ले कार्यसम्पादन गर्दैआईरहेको छ ।

यसका अतिरिक्त नाकामा रहेको बीओपी सुरक्षाकर्मीले भन्सार कार्यालय र अध्यागमन कार्यालयसंग समन्वय गरी राजश्व चुहावट नियन्त्रण लगायतका बिषयमा काम गरिहेको प्रजिअ भुसालले जनाउँनुभयो ।


प्रतिक्रिया