प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार बिहान मुक्तिनाथको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत सिधै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित पवित्र मुक्तिनाथ मन्दिर पुग्नु भएकी प्रधानमन्त्रीले कार्की आज बिहान ९ बजे मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको हो ।
नेपाली सेनाको हेलिकोप्टरबाट उत्रिएरपछि प्रधानमन्त्री कार्की सुरक्षाकर्मी र सहयोगीहरुसंगै करिव २०० मिटर उकालो उक्लिनु भएको हो । प्रधानमन्त्री कार्की मुक्तिनाथ मन्दिरको उकालो उक्लिने क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ ,सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारी, मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखिया लगायतले खाँदा लगाई दिएर प्रधानमन्त्री कार्कीको स्वागत गर्नुभएको थियो । पैदलयात्राका क्रममा प्रधानमन्त्री कार्कीले स्वदेशी तथा भारतीय दर्शनार्थी पर्यटकहरुसंग भलाकुसारी र सामुहिक फोटो खिचाउनु भएको थियो । प्रधामन्त्री कार्कीले मुक्तिनाथको दर्शन गर्नुअघि करिव १५ मिनेटको समय मुक्तिनाथ स्थित भीआईपी कक्षमा बिश्राम गर्नुभएको थियो । केहीबेरको बिश्रामपछि प्रधामन्त्री कार्की मुक्तिनाथ स्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा करिव ५ मिनेटको समय दर्शन गर्नमा खर्चिनुभयो । मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीले मुक्तिनाथको भीआईपी कक्षमा १५ मिनेट समय बिताउँनुभयो ।
प्रधानमन्त्री कार्कीको भीआईपी कक्षमा बिश्राम गरिरहेको अवस्थामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नाम्गेल गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री कार्की समक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनहरुमा परेका समस्याहरुको अवगत गराउनु भएको थियो ।
मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजीन नाम्गेल गुरुङले प्रधानमन्त्री कार्की समक्ष मुक्तिनाथ मन्दिरको पूर्वाधार निर्माण योजनाहरुको पुरातत्व विभागमा फाईल पेस भएको तर त्यसको स्वीकृतिका लागि विलम्व भईरहेको समस्या अवगत गराईएको जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरमा दर्शनार्थी मैत्री पूर्वाधारका लागि चेन्जिङ रुम,१०८ धारा पूननिर्माण,एन एक्स भवन,आनी आवास लगायतका ८ वटा योजनाहरु पुरातत्वमा फाईल पेस भएको र स्वीकृत हुन ढिलाई भएकाले त्यसतर्फ पहल गरिदिन प्रधानमन्त्री समक्ष मौखिक आग्रह गरिएको बताउँनुभयो ।
प्रधानमन्त्री कार्की समक्ष मुक्तिनाथको पूर्वाधार निर्माण सम्वन्धि समस्या जानकारी गराईपछि प्रधानमन्त्री कार्कीले पुरातत्व विभागका महानिर्देशकलाई प्रधानमन्त्री निवासमा बोलाएर त्यसबारे आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुुसालको भनाई छ । प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा करिव एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकोप्टर मार्फत जोमसोम स्थित नेपाल सेनाको ईन्द्रबक्स गणमा पुग्नुभएको थियो ।
निर्वाचन सफल पार्न प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशिला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,निश्पक्ष,स्वतन्त्र,भयरहित वातावरणमा सम्पन्न गर्र्न निर्देशन दिनुभएको छ । जोमसोम स्थित ईन्द्र बक्स गणमा आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तरेक्रियामा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीको भनाई उदृत गर्दै प्रजिअ शर्माले भन्नुभयो ’निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस, यहाँहरुले राम्रो काम गर्नुभएको छ , थप अझै राम्रो गर्नुहोला ।’
प्रधानमन्त्री कार्की समक्ष प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन लक्षित सुरक्षा योजनाका बारेमा ब्रिफिङ गर्नुभएको थियो । प्रजिअ शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न कुनै किसिमको बाधा अवरोध नरहेको प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभयो ।
यसैगरी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म भएका कार्यप्रगति लगायतका बिषयमा जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रधानमन्त्री समक्ष जानकारी दिनुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली