जोमसोम— सोह्र श्राद्ध तिथिको १५ दिनमा कुल २० हजार ४४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सोह्र श्राद्ध तिथि अन्तर्गत असोज २ गतेदेखि असोज १६ गते साँझसम्ममा बेनी—जोमसोम सडकमार्ग हुँदै आन्तरिक तथा बाह्य गरी उक्त संंख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
बर्सेनि चैते दशै औसी र बडादशै औशी तिथिमा हजारौ श्रद्धालु भक्तजन पितृ उद्दारका लागि श्राद्ध,तपर्ण र पिण्डदान गर्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आउने गर्छन् । मुस्ताङको कागबेनी दिवंगत पितृ उद्दार गर्नका लागि निकै महत्वपूर्ण धार्मिक स्थलको रुपमा लिने गरिन्छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग अन्तर्गत प्रहरी चौकी घाँसाले संकलन गरेको पर्यटक तथ्यांक अनुसार सोह्रश्राद्ध तिथिको १५ दिनको अवधिमा आन्तरिक तथा बाह्य गरी कुल २० हजार ४४६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । सोह्र श्राद्ध तिथिको १५ दिनको फेरोमा आन्तरिक पर्यटक १४ हजार ८५० र सार्क तथा अन्य राष्ट्रको ५ हजार ५९६ जना पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक सुवेदीले बताए । उनका अनुसार सोह्र श्राद्ध तिथि सुरु भएदेखि औसी तिथिसम्म आन्तरिक पर्यटक ९ हजार २६५ पुरुष र ५ हजार ५८५ जना महिला पर्यटक मुस्ताङ भित्रिएका हुन् । यस्तै, सार्क राष्ट्रका ५ हजार २सय ३६ जना र अन्य राष्ट्रका २ सय ७० जनाले सोह्र श्राद्ध अवधिमा मुस्ताङको भ्रमण गरे ।
विगतको चैते दशै र बडा दशैको सोह्र श्राद्ध तिथि अवधिभर करिव १० हजार भन्दा बेसी सवारी साधन मुस्ताङ भित्रिने गथ्र्ये । यसवर्ष अविरल वर्षाले सडक अवरुद्ध हुने र सवारी यात्रा गर्दा जोखिम हुने सम्भावना रहेका न्यून संख्यामा सवारी साधन मुस्ताङ भित्रिएका हुन् । चालु वर्षको बडा दशै सोह्र श्राद्ध तिथिको १५ दिनको फेरोमा कुल ४ हजार ४४ सवारी साधन मुस्ताङ भित्रिएको प्रहरी चौकी घाँसाको ईन्ट्रीमा उल्लेख छ ।
यसवर्ष बर्खे दशै तथा सोह्र श्राद्ध तिथि परेकाले विगतको तुलनामा आशिंक रुपमा कम पर्यटक मुस्ताङ भित्रिएको अनुमान गरिएको छ । सोह्र श्राद्ध अन्तर्गत औशी तिति नजिकिंदै गर्दा अविरल वर्षाका कारण बाढी पहिरो र नदी कटानले ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा यसवर्ष कम पर्यटक मुस्ताङ भित्रिएका हुन् । वर्र्षाले देशका कतिपय स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले पनि यसवर्ष विगतको भन्दा कम धार्मिक पर्यटक मुस्ताङ भित्रिएको होटल मेजस्टीका प्रोपाईटर निसान तुलाचनले उल्लेख गरे । बडादशै अघिको सोह्र श्राद्ध तिथिमा मुस्ताङमा पर्यटक थेगिनसक्नु हुन्थ्यो, होटलहरु सबै भरिभराउ हुन्थ्ये, प्रोपाईटर तुलाचनले भने,‘ यसवर्ष बर्खे दशै प¥यो ,जताततै निरन्तरको वर्षाले सडक अवरुद्ध हुँदा पर्यटक केही कम आएको हाम्रो बुझाई छ ।’
यसवर्ष औसीको अघिल्लोदिन मंगलबार ४ हजार ७२० जना पर्यटक मुस्ताङ भित्रिएकोमा औसी तिथिको दिन बुधबार घटेर ८ सय ४९ जनामा सीमित भएको प्रहरीको तथ्यांकले देखाउँछ । मंगलबार र बुधबार बिहान कागबेनी तिर्थ गर्न आउने श्रद्धालु भक्तजनको घुईचो रहेको थियो । त्यहा तिर्थालु सवार सवारी साधनको पार्किङले कागबेनी कागबेनी खेलमैदान ढाँकिएको थियो ।
परापूर्वकालमा काग भुसेण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको हिन्दू शास्त्रमा उल्लेख छ।
परापूर्व कालमा कागबेनी धाम आसपास ठुलो सरोवर थियो। त्यही सरोवरमा एकदिन दुईवटा कागहरू कुण्डमा खसेर मरे। कुण्डमा खसेर मरेका दुई वटा कागहरू तत्काल चमत्कारिक रूपमा हंसको रूपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंस तिर्थ समेत भन्ने गरिएको हो।
भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको पर्वतकी भक्तजन यशोदा आचार्यले बताइन्।
ठुला नदीको संगम स्थललाई बेनी भनिन्छ। कागबाट हंस रूप धारण गरेकाले यस स्थानलाई कागबेनी भनिएको हो। कागबेनीमा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्धार हुने हिन्दु शास्त्रहरूमा उल्लेख छ। कागबेनी धाममा श्राद्ध गर्न आउने तिर्थालुहरू यहाँ पितृ उद्धारका विभिन्न कर्म गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन्।