मुस्ताङमा हिउँ चितुवाको बृहत सर्वे प्रारम्भ

जोमसोम ।

हिमालकी रानी दुर्लभ हिउँ चितुवाको एकिन तथ्यांक पहिल्याउन मुस्ताङमा पहिलो पटक हिउँ चितुवाको विस्तृत सर्वेक्षण प्रारम्भ गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँको पाँच स्थानीय तह मध्ये चार स्थानीय तहमा हिउँ चितुवाको एकिन सख्या पत्ता लगाउन शनिबारदेखि क्यामेरा ट्रयापिङ मार्फत फिल्ड सर्वे सुरु गरेको हो ।

मुस्ताङमा विभिन्न समयमा हिउँ चितुवाको अध्ययनका लागि संम्भावित हिउँ चितुवाको वासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला संघसंस्थाहरुले क्यामेरा ट्रयापिङ गर्ने गरिएको थियो । यसले हिउँ चितुवाको अध्ययनका लागि सघाउने भएपनि मुस्ताङमा हिउँ चितुवाको एकिन तथ्यांक पत्ता लगाउन पर्याप्त थिएन । आशिंक रुपमा यसअघि गरिएका क्यामेरा ट्रयापिङले हिउँ चितुवा सम्वन्धि जानकारी र सूचना उपलब्ध हुने भएपनि मुस्ताङमा कतिको सख्यामा हिउँ चितुवा रहेका भन्ने एकिन हुन सकिरहेको छैन । यसका खातिर यसपालि एक्याप कार्यालयले मुस्ताङमा हिउँ चितुवाका एकिन संख्या पहिल्याउन हिउँ चितुवाको बृहत सर्वे प्रारम्भ गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

एक्यापले यहाँ हिउँ चितुवाको गणना सर्वेका लागि तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ गरी ५÷५ किलोमिटरको दुरीमा  १६१ वटा क्यामेरा ट्रयापिङ ग्रीडको मापदण्ड निर्धारण गरेको छ । हिउँ चितुवााको वासस्थान र हिउँ चितुवाको गतिविधि हुने स्थान एकिन गरी एक्यापले क्यामेरा ट्रयापिङ ग्रीडको डिजाईन तयार गरेको हो । तर, हिउँ चितुवाको वासस्थान क्षेत्र र हिउँ चितुवाको गतिविधि हुनसक्ने स्थानको हिमालको छेउछाउ र उच्चलेंकमा सेताम्मे हिउँ र चिसोका कारण १६१ वटै ग्रीडमा क्यामेरा नराखिने एक्याप प्रमुख पौडेलको भनाई छ । हिउँदयामको मौसममा उच्चलेंकमा हिउँ बढी हुने भएकाले हिउँ चितुवाको आहारा प्र्रजाति तलतल झर्ने भएकाले हिउँ चितुवा पनि उच्चलेंकबाट केही तल झर्ने हुनाले उच्चलेंकमा क्यामेरा ट्रयापिङ गर्नुपर्ने आवश्यकता नरहेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाई छ ।

 मुस्ताङमा पहिलोपटक गरिन लागिएको हिउँ चितुवा सर्वेका लागि माथिल्लो मुस्ताङका दुई पालिकामा ९९ वटा क्यामेरा राखिने बताउँनुभयो । यसगरी केहीदिन अघि  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका आधा दर्जन बढी स्थानमा बायोकोस नेपाल र एक्यापले हिउँ चितुवाको अध्ययनका लागि १६ वटा क्यामेरा राखेको थियो । एक्याप लोमान्थाङ प्रमुख पौडेलले माथिल्लो मुस्ताङमा राखिने ९९ वटा क्यामेरा र तल्लो मुस्ताङमा राखिसकिएका १६ वटा क्यामेरा गरी एक सय ११ वटा क्यामेरा एकैसाथ प्रयोग गर्ने गरी मुस्ताङमा हिउँ चितुवाको एकिन संख्या निर्धारण गर्न विस्तृत सर्वे सुरु गरिएको बताउँनुभयो ।

हिउँ चितुवाको प्रभावकारी सर्वेक्षणका लागि एक्याप लोमान्थाङले क्यामेरा ट्रयापिङ गर्न तीन ब्लकमा जनशक्ति विभाजन गरेको छ । एक्यापका प्राविधिक र स्थानीय जनशक्तिहरुको सहयोगमा क्यामेरा ट्रयापिङका लागि करिव एक दर्जन भन्दा बढी जनशक्ति फिल्डमा खटिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार माथिल्लो मुस्ताङमा हिउँ चितुवाको क्यामेरा ट्रयापिङका लागि लोमान्थाङ, थुर्लुङ फाँट र घमी क्षेत्रमा एक एक ब्लक एक समुह, लोघेकर दामोदरकुण्ड—५ को सुर्खाङमा एक ब्लक एक अर्को समुह  बनाएर क्यामेरा ट्रयापिङमा जनशक्ति परिचालन भईरहेका छन् । यसैगरी लोघेकर दामोदरकुण्ड—२ को घमी भन्दा तल्लो क्षेत्रमा अर्को ब्लकमा थप अर्को समुह गरी तीन ब्लकमा क्यामेरा ट्रयापिङमा तीन समुह खटिएका प्रमुख पौडेलले बताउँनुभयो ।

यहाँ एक्यापको डिजाईन अनुसार तयार पारिएका १६१ ग्रीड मध्ये १११ वटामा क्यामेरा ट्रयापिङ गरी सर्वे गरिने छ । एक्याप प्रमुख पौडेलले तल्लो मुस्ताङमा यसअधिनै क्यामेरा ट्रयापिङ भईरहेकाले यहाँका दुईपालिकामा क्यामेरा ट्रयापिङ गर्न दुई साता भन्दा बढी समय लाग्ने बताउँनुभयो । हिउँदयामको चिसो मौसमका कारण सर्वेमा खटिएका कर्मचारीहरुलाई समस्या र चुनौति सृजना भएको बताउँनुभयो ।

मुस्ताङमा हालसम्म दुर्लभ हिउँ चितुवाको एकिन तथ्यांक छैन । सोही प्रयोजनका लागि एक्यापले अधिकतम् ६ महिनासम्म फिल्डमै क्यामेरा राख्ने जनाएपनि बैशाख महिना भित्र हिउँ चितुवाको ट्रयापिङ क्यामेरा उठाईने जनाईने छ । एक्यापका अनुसार यहाँ सुरु गरिएको हिउँ चितुवा सर्वेका क्रममा हिउँ चितुवाको आहारा प्रजातिको अवस्था थाहा पाउन समेत यसको अध्ययन गरिने बताएको छ ।

यहाँ फिल्डमा राखिएका ट्रयापिङ क्यामेरा संकलन गरिएपछि आगामी आर्थिक वर्षको सुरुआती चरणमै मुस्ताङमा हिउँ चितुवाको विस्तृत एकिन संख्या पत्ता लाग्ने एक्याप प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

 पछिल्लो समय हिउँ चितुवा र मानवबिचको द्धन्द बढ्दै गईरहेको छ । जलवायु परिवर्तनका कारण उच्चेलेंकमा घाँसको अभाव हुन थालेपछि हिउँ चितुवाको आहारा प्रजाति तल झर्न थालेका छन् । सोही क्रममा आहारा प्रजाति पछ्याउँदै हिउँ चितुवाले स्थानीय पशुपालकहरुको गोठमा पसेर पशुचौपायाको क्षति बनाउने घटनाहरु दोहोरिरहेका छन् । हिउँ चितुवा र मावनबिचको सहअस्तित्व निर्माण गर्न समेत चुनौति देखिएको छ ।

पारिस्थितीक प्रणाली (ईको) सिस्टम)मा महत्वपूर्ण योगदान पु¥याउने हिउँ चितुवा संरक्षण गर्न  तथा स्थानीयको पशुधनको रक्षा गर्न समेत वैकल्पिक प्रविधि र अनुकुलनका उपायहरु अवलम्वन गर्न सरोकारवालाहरु चाँसो दिन आवश्यक देखिएको छ । पछिल्लो समय हिउँ चितुवाको आक्रमण बढ्दै गर्दा यहाँको पशुपालन व्यवसायनै संकटमा पर्न थालेको छ ।


प्रतिक्रिया