उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत निर्माणधिन (खन्ती—जोमसोम) सडक निर्माणमा चरण ढिलासुस्ती भएको भन्दै थासाङ—१ टुकुचेका स्थानीय आन्दोेलित भएका छन् ।
आयोजना सुरु भएर ठेक्का सम्झौता भएको ८ वर्ष बितिसक्दा समेत (खन्ती—जोमसोम)सडक निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण निर्माणकार्य ढिलाई भईरहेको छ । सुरुआती चरणमा सडक मापदण्ड र सडक बाटो बिस्तारमा टकुचे गाउँका स्थानीय र आयोजनाबिच विवाद सृजना भएको थियो । सडक विस्तारका क्रममा स्थानीय प्रशासन र आयोजनाले सडक मापदण्ड छोड्न स्थानीयलाई अल्टिमेटम दिएपछि टुकुचे गाउँबासीले तीन वर्षअघि सडक विभागको मापदण्ड मान्न तयार भएका थिए । यहाँको थासाङ स्थित टुकुचे गाउँका स्थानीय घरधुरीले कोरला सडक विस्तारका लागि गाउँ भित्रको सडक मापदण्डको मुआब्जा लिएर सडक निर्माणको काममा सहज पारिदिएका थिए ।
तर, आयोजना अन्तर्गत उक्त सडकको निर्माण कम्पनी गौरी पार्वतीले मापदण्ड छोडेको टुकुचे गाउँ भित्रको सडक अलपत्र पारेको स्थानीयले बताएका छन् । निर्माण कम्पनीले सडक निर्माण काममा स्थानीयलाई काम गरेको जस्तो बाहाना गरेर सडक विस्तारको काम अलपत्र पारेको स्थानीयको भनाई छ ।
बुधबार यहाँको जिल्ला प्रशासन कार्यालय मुस्ताङमा थासाङ स्थित टुकुचे गाउँका करिव दुई दर्जन स्थानीयले धर्ना र डेलिगेशन मार्फत स्थानीय प्रशासनको ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका छन् । थासाङ स्थित टुकुचे गाउँ सुधार समितिको आयोजनामा स्थानीयबासीले तीन दिन भित्र अलपत्र सडकको काम सुचारु नगरेमा बेनी—जोमसोम सडक अवरोध गर्ने चेतावनी दिएका छन् । गाउँ सुधार समितिका अध्यक्ष दिनेश थकालीको नेतृत्वमा गएको डेलिगेशन टोलीले मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियार समक्ष ज्ञापन पत्र बुझाएका छन् । समितिका अध्यक्ष थकालीले खन्ती—जोमसोम निर्माण कम्पनीका ठेकेदारले ११ मिटरको सडक मापदण्ड छोडेको भएपनि गाउँ भित्रको सडकको काम अलपत्र पारेकाले प्रशासनमा डेलिगेशन आउनु परेको बताउँनुभयो । ‘हामीले आयोजना कार्यालय र प्रशासनमा डेलिगेशन मार्फत सडकलाई तीब्रता दिन ध्यानार्कषण गराईसकेका छौं, तीनदिन काम सुरु हुन्छ भन्ने आश्वासन पाईएको छ,’ समिति अध्यक्ष थकालीले भने,‘ अब छलछाम र बहानाबाजीले चल्दैन, निर्माण कम्पनी काममा नफर्किए सडक पुरै ठप्प पाछौं ।

टुकुचे गाउँ सुधार समितिले गाउँ भित्र सडक मापदण्ड छोडेको वर्षौवर्ष बितिसक्दा समेत सडकको काम अलपत्र पारेका कारण स्थानीयले धुवा,धुलो अन्य समस्याहरु भोग्नु परेको बताएको छ । बहुचर्चित कोरलानाका जोड्ने रणनीतिक महत्वको सडक निर्माण अलपत्र हुँदा स्थानीयका साथै पर्यटक तथा सर्वसाधारणलाई असहज तुल्याएको समितिले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
स्थानीयको ज्ञापनपत्र बुझ्दै मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले आयोजना,निर्माण कम्पनी र स्थानीयबासीसंग छलफल गरी सडक निर्माणमा सहजीकरण गरिने बताउँनुभयो ।
उत्तर÷दक्षिण जोड्ने कोरला सडक अन्तर्गत (बेनी—जोमसोम) चार खण्ड मध्येको चौथो खण्ड २०७३÷०७४ सालबाट ठेक्का सम्झौता भएको थियो । अस्फाल्ट कालोपत्रसहित ११ मिटर चौडा खन्ती—जोमसोम १७ किमी सडकको ठेक्का लागत ७० करोड छ । यहाँको उत्तर सडकको भौतिक प्रगती ९० प्रतिशत रहँदा सडक निर्माणको काम ठप्प परेको हो । आयोजनाले यहाँको निर्माण कम्पनीलाई कुल लागतको दैनिक हर्जाना शुन्य दशमलव शुन्य पाँच प्रतिशत जरिवाना तोकिसकेको छ ।
आयोजनाका अनुसार यहाँको खन्ती—जोमसोम सडक खण्ड अन्तर्गत थासाङ स्थित टुकुचे खण्डमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसीसी प्रविधिको सडक विस्तार गर्नुपर्नेछ । यसैगरी स्याङ —मार्फा सडकमा २०० मिटर कालोपत्र र जोमसोम स्थित नेपाली सेनाको क्याम्प अगाडीको सडकमा ५०० मिटर सडक स्टक्चर तथा कालोपत्र गर्नुपर्ने काम बाँकी छ । यहाँको सडक खण्डमा कालोपत्र विस्तार भएमा मुस्ताङ खण्डको घाँसादेखि मुक्तिनाथ र कागबेनी सडक कालोपत्र सडक संञ्जालले जोडिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता