बाढीपहिरोले जोमसोम—कोरला सडक पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ,४, साउन ।

अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने (जोमसोम—कोरला) सडकमार्ग आईतबार बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको छ । आईतबार बिहान परेको अविरल वर्षाले जोमसोम—कोरला सडकखण्ड अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित ताङ्वे खोला र छुसाङ स्थित मुस्ताङ गेट नजिकको सडक माथिबाट आएको पहिरो र लेदोसहितको बाढीले दुई स्थानमा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 वर्षासंगै सडक माथिबाट लेदो र गेग्रानसहितको पहिरो खसेपछि वारागुङ—३ छुसाङ स्थित मुस्ताङ गेट नजिकैको करिव एक सय ५० मिटर सडक र वारागुङ—३ छुसाङ स्थित ताङ्वे नजिकको खोलामा लेदोसहितको बाढीले करिव ३० मिटर सडक पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

 वर्षाका कारण आएको ताङ्वे गाउँको नजिकको शाखा नदीमा लेदो र गेग्रानसहितको बाढीले जोमसोम—कोरला सडक अन्तर्गत त्यहाँको करिव तीस मिटर राजमार्ग सडक पूर्ण रुपमा ध्वंस्त बनेको त्यहाँ डिउटीमा खटिएका ईलाका प्रहरी कार्यालय छुसाङका प्रहरी सहायक निरीक्षक झलकबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी त्यहाँको मुस्ताङ गेट नजिकको सडकमा शाखा नदीबाट लेदो र र गेग्रानसहितको बाढी पहिरोले कोरला राजमार्ग सडकको क्षति भएको प्रहरी सहायक निरीक्षक थापाले उल्लेख गर्नुभयो ।

 जोमसोम—कोरला सडक अवरुद्ध भएसंगै उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारी साधन अलपत्र परेको बताईएको छ । त्यहाँको अवरुद्ध सडक सूचारु गर्न समय लाग्ने बताईएको छ ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङले बाढी पहिरोले अवरुद्ध जोमसोम—कोरला सडकमार्ग खुलाउन समन्वयको प्रयास भईरहेको जनाएको । प्रहरीका अनुसार बाढी र पहिरोले पु¥याएको अन्य क्षति थप विवरण उपलब्ध हुने क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया