मुस्ताङको तेताङ गाउँमा जलवायुको असर

जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ तेताङ गाउँमा जलवायु परिवर्तनको असर परेको छ। विश्वमा बढ्दै गईरहेको (हरितगृह ग्यांस ) कार्वन उत्सर्जनका कारण मुस्ताङको तेताङ गाउँमा जलवायु परिवर्तको असर परेको छ ।

 मुस्ताङमा जलवायु संकटका कारण वातावरणीय क्षेत्रमा परेको प्रभावले प्राकृतिक स्रोत साधन लगायत विभिन्न क्षेत्रमा प्रतिकुल असर परेको छ । एक दशक अघि मुस्ताङको लोमान्थाङ गाउँपालिकाको समजुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ध्ये गाउँ जलवायु परिवर्तनको असरकै कारण पुरै वस्ती विस्थापित भएको थियो । यी दुई गाउँ जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ तेताङमा पनि जलवायु परिवर्तनकै प्रभावले गर्दा एक  तिहाईले बस्ती छाडिसकेका छन् । 

 एक दशक अघि तेताङमा कुल ४६ घरधुरीको बसोबास थियो । तर, पछिल्लो समय तेताङमा जम्मा ३० घरधुरीको मात्रै बसोबास रहेको छ । तेताङका अधिकाँश स्थानीय नागरिकहरु खेतीपातीकै भरमा बाँचिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यावरणीय क्षेत्रमा परेको दुरगामी प्रभावले गर्दा त्यहाँको सिचाई गर्ने नदीका मुहान समेत सुक्दै जान थालेपछि त्यहाँका नागरिकहरुले अपनाउँदै आईरहेको कृषि कर्म समेत संकटमा पर्न थालेको हो ।

 तेताङ गाउँमा गुरुङ समुदायको बस्ती छ । भिरालो पहाडको खोंचमा खेती गर्ने जमिन छ । त्यही जमिन खोस्रिएर खेतीपाती गर्दै बर्षभरीको छाक टार्न पर्ने तेताङ गाउको बाध्यता छ । ३ दशक अघि गाउँ माथिको लेंकको मुहानबाट आउने पानीले  गाउँका सबै खेतीयोग्य जमिनलाई सिन्चित गर्न पुग्थ्यो ।तर, त्यसपछि भने लेंकको मुहानको पानीको स्रोत घट्दै जान थालेपछि तेताङमा पर्याप्त मात्रामा खेतीपाती गर्न सिचाईको अभाव हुन थालेको हो । वारागुङ—३ तेताङका वडासदस्य धवा गुरुङले जलवायु परिवर्तनको असरले बस्ती स्थान्तरण गर्ने क्रम सुरु हुन थालेको बताए । केहीवर्ष अघि हाम्रो गाउँमा ४६ भन्दा बढी घरधुरी थिए, अहिले ३० घरधुरी मात्रै छन् ,वडासदस्य गुरुङले भने, बाँकी रहेको ३० घरधुरी पनि घट्दै जान क्रममा छ , यस्तै भयो भने गाउँ पुरै विस्थापित हुने चिन्ता छ ।’ 

 ‘मुस्ताङको तेताङमा गाउँका सबै खेतीयोग्य जमिनमा सिचाईको पहुच थियो। सबैले खेतीपाती गरी रमाईरहेका हुन्थे, अचेल सिचाईको अभाव हुदै जाँदा गाउँ मुन्तिरको खेतहरु बाँझो रहन गएको छ ,’ वडासदस्य गुरुङले भने ।’

 तेताङमा गाउँ माथिको लेंकको मुहानको पानी सुक्दै गएपनि सिचाईको लागि मुहानको पानी संकलन गरी सिचाई गर्न थालेको स्थानीय थर्चेन गुरुङले जानकारी दिए । तेताङबासीले खेतमा सिचाई गर्न पानी संकलनका लागि पोखरी निर्माण गरेका छन् । रातभरी पोखरीमा मुहानको पानी संकलन गर्ने र दिनमा पालैपालो गरेर खेतमा सिचाई गर्ने गरिएको स्थानीय थर्चेनको भनाई छ । पोखरीमा संकलन गरिएको पानीले सबै खेतमा पू¥याउन मुश्किल हुने थर्चेनले बताए ।

 त्यसो त संघीयता अघि साविक जिल्ला विकास समितिबाट प्राप्त बजेटले नरसिंह खोलाबाट सिचाईका लागि खोलाको पानी ल्याईएको थियो । करिव ३ किमी दुरीबाट नरसिंह खोलाको पानीलाई फलामे  कुलो  निर्माण गरेर र सहज स्थानमा कुलो निर्माण गरी  तेताङ बस्तीको खेतखेतमा सिचाई पू¥याईएको थियो । तर केही वर्ष अघिको नरसिंह खोला बाढीले उक्त कुलोहरु पुरै क्षति बनाईदिएपछि सिंचाईको थप संकट परेको स्थानीय बताउछन् ।

 जोमसोम—कोरला राजमार्ग अन्तर्गत एउँटै वडाको छुसाङ गाउँदेखि पूर्वमा अवस्थित तेताङ गाउँमा अधिकाँश प्राचिन शैलीमा निर्माण गरिएको ढुंगा र माटोले निर्मित घरहरु छन् । सडक जोडिएपछि २ घरधुरीले भने एक तले क्रंकिट घर निर्माण गरेका छन् । कृषि र पशुपालन पेशामै निर्भर रहनु पर्ने बाध्यता रहेको तेताङका कतिपयले बैकल्पिक व्यवसायका लागि छुसाङ, कागबेनी,जोमसोम लगायतका स्थानमा सरेका छन् । बस्ती छाडेका घरधुरीले अन्यत्र खेतापाती अधिया कमाउने, होटल रेष्टुरेन्ट चलाउने देखि सामान्य ज्याला मजदुरी गर्ने गरेको पाईएको छ ।

संघीयतापछि  छुसाङदेखि तेताङसम्म कच्ची सडक बनेको छ । यस्तै, हालै गण्डकी प्रदेश सरकारले तेताङदेखि झाङ हुँदै मुक्तिनाथ जोड्ने सडक स्तरोन्नतिकार्य भईरहेको छ । उपल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटक तेताङको पर्यटक पदमार्ग प्रयोग गरेर  झोङ  हुँदै मुक्तिनाथ निस्किन्छन् । तेताङ गाउँबाट मुक्तिनाथ जोड्ने सडक निर्माणकार्य भईरहेकाले विदेशी पर्यटकले प्रयोग गर्ने बैकल्पिक पदमार्ग मासिने निश्चत भएको छ ।



प्रतिक्रिया