मुस्ताङको साङ्ता मतदान स्थल सार्न प्रस्ताव

जोमसोम ।

यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ अन्तर्गत पर्ने साङ्ता मतदान स्थल सार्न प्रस्ताव गरिएको । यहाँको स्थानीय तहको वडा कार्यालयले हिमपात र अत्यधिक चिसोको समस्या दर्शाउँदै उक्त स्थानको मतदान स्थल सार्न प्रस्ताव गरेको हो ।

जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ मुस्ताङ—डोल्पा सडक अन्तर्गत सिमानामा पर्ने यहाँको साङ्ता गाउँ मुस्ताङकै सबैभन्दा कान्छो गाउँ गाउँ हो । वि.स. २०२२ सालमा पत्ता लागेको साङ्ता गाउँमा १३ घरधुरीको बसोबास रहेको छ । वि.स. २०७९ को संघीय तथा प्रादेशिक निर्वाचनमा यहाँ ३४ मतदाता संख्या थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँको साङ्ता गाउँमा पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ३९ मतदाता कायम भएको छ ।

हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सिमानामा पर्ने यहाँको साङ्ता गाउँ स्थित हिमाली आधारभूत विद्यालयको मतदान स्थल सार्न सम्वन्धित निकायमा पत्रचार गरिएको त्यहाँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिनुभयो । हिमपात र अत्यधिक चिसोका कारण गाउँमा केही याकचौरी हेर्ने गोठाला बाहेक कोही नभएको र गाउँका सबै नागरिक हिमपात र चिसो छल्न फल्याक धाकार्रजुङ,कागबेनी र जोमसोम लगायतका स्थानमा आफन्तजनको घरमा बसेको वडासदस्य छिरिङ पाल्साङले उल्लेख गर्नुभयो । फागुन २१ गते हुने मतदानको दिन गाउँका नागरिकहरु हिमपात र चिसोको जोखिम हुने भएकाले मतदान स्थल सार्न लिखित अनुरोध गरिएको बताउँनुभयो ।

 मुस्ताङको पाक्लिङदेखि मुस्ताङ र डोल्पाको सिमानामा सडकको ट्याक खोलिएको भएपनि साङ्ता गाउँबाट याकखर्कसम्मको सडक चुनौतिपूर्ण र कष्ठकर छ । समून्द्री सतहको ४५०० सय मिटर माथिको उचाईबाट सडक विस्तार भएको साङ्ता गाउँ जाने मुस्ताङ—डोल्पा सडक एक महिना अघिदेखि हिमपातले अवरुद्ध अवस्थामा छ । त्यहाँ स्थित साङ्ता गाउँका नागरिकहरु हिमपात र अत्यधिक चिसोका कारण जोमसोम आसपासका क्षेत्रमा झरेकाहरु गर्मीयाम सुरु भएपछि चैत्र÷बैशाखमा मात्रै गाउँ फर्किने योजनामा छन् । यसैका कारण त्यहाँका मतदाताहरुको आग्रह अनुसार वडा कार्यालयले जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई मतदान स्थल सार्न प्रस्ताव पठाएको हो ।

 भिरालो सतहमा अवस्थित साङ्ता गाउँ समून्द्री सतहको करिव चार हजार मिटरको उचाईमा अवस्थित छ । कृषि र पशुपालन व्यवसायमा आश्रित साङ्ता गाउँका नागरिकहरु बर्खायाममा ७ महिना मात्रै गाउँमा बस्छन् । पहिले पहिले हिउँदयाममा जाडो छल्न गाउँ नजिककै पारिलो स्थान घोक भन्ने स्थानमा घुम्ती बासस्थान सार्ने गरेका भएपनि पछिल्लो केहीवर्ष यता साङ्ता गाउँका नागरिकहरुले त्यहाँको घोक भन्ने स्थान छाडेर जोमसोम आसपासका क्षेत्रमा बस्न थालेका हुन् । यतिबेला साङ्ता गाउँका केही मतदाताहरु भने पोखरा÷काठमान्डौंमा झरेका छन् । मतदानको समयमा त्यहाँका नागरिकहरु गाउँ फर्किन असम्भव देखिएका मतदान स्थल सार्न प्रस्ताव गरिएको बताईएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मुस्ताङको साङ्ता स्थित हिमाली आधारभूत विद्यालयको मतदान स्थल सार्न त्यहाँको वडा कार्यालयबाट प्रस्ताव आएको जानकारी दिनुभयो । ’हिमपात र चिसोका कारण साङ्ता गाउँको मतदान स्थल सार्न हामीलाई प्राप्त भएको छ, उक्त पत्रका सम्वन्ध तत्काल कुनै छलफल भएको छैन,प्रअिज शर्माले भन्नुभयो ,‘ हामी यहाँ बैठक बसेर उक्त प्रस्ताव बारे छलफल गरी निर्णय लिन्छौं, बैठकल प्रस्ताव उपयुक्त ठाने उक्त सिफारिस सहित हामीले निर्वाचन आयोगमा पठाउँछौं ।’

 निर्वाचनका लागि मतदान केन्द्र तथा मतदान स्थल हेरफेर, थपघट र स्थान्तरण गर्नका लागि आयोग मतदान स्थल तथा मतदान केन्द्र कार्यििवधि २०८१ अनुसार उ्पयुक्त ठहरिएमा प्रस्ताव अनुमोदनका लागि आयोगमा सिफारिस गर्ने प्रजिअ शर्माको भनाई छ । यहाँबाट प्रस्ताव सिफारिस भएको अवस्थामा त्यसलाई आयोगल पनि सिफारिस गरेको अवस्थााम सोही अनुसार हुने प्रजिअ शर्माको भनाई छ ।’ 


प्रतिक्रिया