- ई.किरण घिमिरे
नेपालको भौगोलिक संरचना अत्यन्तै विविधतायुक्त छ।उत्तरतर्फ हिमालय पर्वत श्रृंखला, मध्यभागमा पहाडी भू-भाग र दक्षिणतर्फ समथर तराई मैदान रहेका कारण नेपाल प्राकृतिक रूपमा भौगोलिक असमानताले भरिपूर्ण छ।यस्तो भूगोलले कृषि लगायत दैनिक जीवनका गतिविधिमा समेत यातायात प्रणालीले जटिलता थपेको छ।सडकलाई नै प्रमुख यातायात साधन मान्ने नेपालको परिवहन प्रणाली वर्षाको समयमा अत्यन्त संवेदनशील देखिने गरेको छ।विशेष गरी असारदेखि असोज महिनासम्मको मनसुनी वर्षा अवधिमा सडकहरूमा अवरोध, क्षति र पहिरो जस्ता समस्याहरू सामान्य तर गम्भीर चुनौतीका रूपमा देखा पर्छन्।
नेपालका पहाडी क्षेत्रमा वर्षाको प्रभाव विशेष गरी प्रष्ट देखिन्छ।मुसलधारे पानीले जमिनको सतह भिजाएर कमजोर बनाउँछ र परिणामस्वरूप जमिन चिप्लिने, सडक कटान हुने वा ठूलो ढुंगा र माटो सडकमा खस्ने अवस्था उत्पन्न हुन्छ।यसैगरी तराई क्षेत्रमा नदीको सतह अस्वाभाविक रूपमा बढ्दा बाढी आउँछ र सडक डुबानमा पर्छन्।यस्तो अवस्थामा मात्र यातायात प्रणाली अवरुद्ध हुँदैन तर खाद्य आपूर्ति, औषधि वितरण, विद्यालय जाने बालबालिका, आपतकालीन स्वास्थ्य सेवा,
पर्यटन गतिविधि र विपद् व्यवस्थापन कार्यहरूमा समेत बाधा हुन्छन्।
चाडपर्वको समयमा यो समस्या झन् जटिल हुन्छ।बिशेष गरी दशैँ जस्ता पर्वको लाखौं मानिसहरू रोजगारी, अध्ययन वा व्यक्तिगत कामका लागि काठमाडौँ वा अन्य शहरी केन्द्रतर्फ फर्कने क्रममा सडक अवरुद्ध हुँदा यात्रुहरू दिनौंसम्म बाटोमै अल्झिन्छन्।पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन समय लाग्दा हजारौं सवारी साधन लाम लाग्ने, यात्रुहरूलाई खाना पानी अभावमा दुःख झेल्नुपर्ने र आपतकालीन स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्था बारम्बार देखिने गरेको छ।यस्तो परिस्थितिले नेपालको यातायात प्रणालीको असुरक्षा मात्र नभई पूर्वाधार निर्माणको कमजोरीलाई पनि प्रस्ट पार्दछ।
नेपालमा सडक अवरोध समस्या प्राकृतिक कारणले मात्र नभई योजना बिनाको निर्माण, कमजोर संरचना र दीर्घकालीन दृष्टिकोणको कमीले गर्दा पनि हुने गरेको छ।सडक विस्तार प्रायः तत्कालीन आवश्यकताका आधारमा हुने तर दीर्घकालीन रुपमा भू-विज्ञान, माटोको बनावट, पानी निकास प्रणाली र वातावरणीय असरलाई ध्यान नदिँदा निर्माणपछि केही वर्षमै ती सडकहरूमा समस्या देखिन थाल्छन्। पानीको अस्वाभाविक प्रवाहले सडक सतह कटान गर्ने, संरचनामा चिरा पार्ने र पुल-काल्भर्ट जस्ता संरचनामा क्षति पुर्याउने गर्छ।
यस समस्याबाट बच्न नेपालले दीर्घकालीन रणनीतिहरू अवलम्बन गर्नु पर्ने जरुरी छ।सडक छेउमा सशक्त ढल प्रणाली, पानी सहजै बग्ने गरी जलनिकास संरचना र माटो थाम्ने अडान पर्खालहरू (retaining wall) आवश्यक हुन्छन्।यसका साथै जैविक प्रविधि (bioengineering) प्रयोग गरेर सडक छेउमा वृक्षारोपण, झाडी संरक्षण र हरियाली प्रवर्द्धन गर्नाले माटोको स्थायित्व बढ्छ र पहिरो नियन्त्रण गर्न सकिन्छ।
सडक अवरोध रोक्न प्रविधिको प्रयोग आजको युगमा अपरिहार्य बनेको छ।भू-सूचनात्मक प्रणाली (Geographic Information System -
GIS), टाढाबाट तथ्य संकलन गर्ने प्रविधि (Remote Sensing) र मोबाइल अनुप्रयोगहरूले पहिरो वा बाढीको जोखिम पहिचान गर्न र प्रारम्भिक सूचना उपलब्ध गराउन महत्त्वपूर्ण योगदान दिन सक्छन्।पहिरो सम्भावना भएका स्थानहरूमा सेन्सर जडान गरेर जमिनको चाप,
वर्षाको मात्रा र जमिनको टासिने गुण (adhesiveness) बारे समयमै जानकारी पाउन सकिन्छ। यसले स्थानीय समुदायलाई सतर्क बनाउँछ र आपतकालीन तयारीलाई समेत मजबुत पार्छ।तर प्रविधिमात्रै पर्याप्त हुँदैन, स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ।स्थानीय तहमा स्वयंसेवक टोली गठन,
जनचेतनामूलक अभियान सञ्चालन र जोखिमयुक्त स्थानको निरन्तर निगरानीले मात्र दीर्घकालीन सुरक्षा सम्भव हुन्छ।
नीति र व्यवस्थापनको दृष्टिले पनि नेपाललाई सुधार गर्नुपर्ने खाँचो छ।सीमित बजेट, विभिन्न मन्त्रालय र निकायबीचको कमजोर समन्वय तथा स्थानीय तहमा जनचेतना र प्राविधिक क्षमता कमीले गर्दा प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन।धेरैजसो अवस्थामा सडक निर्माण बजेट वर्षेनी छोटो अवधिमा खर्च गर्नुपर्ने बाध्यता हुन्छ जसले दीर्घकालीन गुणस्तर र प्राविधिक अध्ययनलाई प्राथमिकतामा ल्याउन सक्दैन।त्यसैले योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शी समन्वय आवश्यक छ।
अर्को महत्त्वपूर्ण पक्ष शिक्षा र जनचेतना हो।विद्यालय स्तरमै विपद् व्यवस्थापनबारे सचेतना कार्यक्रम सुरु गर्नुपर्छ ताकि नयाँ पुस्ताले विपद् सामना गर्ने क्षमता सिक्न सकुन्।स्थानीय बासिन्दालाई सडक र पूर्वाधारलाई आफ्नै सम्पत्ति ठानेर संरक्षण गर्न प्रेरित गर्नुपर्छ।"जनताको लागि सडक"जस्ता अभियान संचालन गरी नागरिकलाई सक्रिय सहभागितामा ल्याउने, जिम्मेवारीबोध गराउने र साझा स्वामित्वको भावना जगाउने भूमिका खेल्नु पर्दछ।
नेपालको जटिल भूगोलका कारण सडक अवरोध समस्या हरेक
वर्ष दोहोरिन्छ।प्राकृतिक कारणहरू जस्तै वर्षा, पहिरो र बाढी यसका प्रमुख कारण भए पनि संरचनागत
कमजोरी,योजना बिनाको निर्माण र कमजोर नीति कार्यान्वयनले समस्या झनै गहिरो बनाएको
छ।यसले यातायात प्रणाली मात्र नभई खाद्य आपूर्ति, स्वास्थ्य सेवा, शिक्षा, पर्यटन र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ।
दीर्घकालीन समाधानका लागि संरचनागत सुदृढीकरण,जैविक प्रविधि, प्रविधिको प्रयोग र
सामुदायिक सहभागितालाई समान महत्व दिनुपर्छ।साथै सरकार, स्थानीय तह, नागरिक समाज र
अन्तर्राष्ट्रिय साझेदारबीच समन्वयपूर्ण सहकार्य अनिवार्य छ।प्रविधि-मैत्री
पूर्वाधार,शिक्षा,जनचेतना र सहभागी नेतृत्वमार्फत मात्र नेपालले वर्षा प्रतिरोधी र दिगो यातायात
प्रणाली निर्माण गर्न सक्छ। यस्तो एकीकृत रणनीतिले मात्र नागरिकको सुरक्षित आवागमन, आपूर्ति सन्तुलन र
राष्ट्रिय समृद्धि सुनिश्चित गर्नेछ।
१९ असोज २०८२, सोमबार ११:१५ मा प्रकाशित
1823
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता